१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

'काला चस्मा'मा 'हुक स्टेप': महिला नृत्यमा पुरुषहरूको पहरेदारी

महिलाहरूले गरेको नृत्यमा छुद्र टिप्पणी गर्नेहरुमा आफूलाई नैतिकताको संरक्षक ठान्ने अधिकांश पुरुषहरू छन् । उनीहरूले चरित्र हत्या मात्र गरेका छैनन् आगामी वर्षहरूमा हिन्दू चाड 'तीज' नै रद्द गर्ने सार्वजनिक धम्कीसमेत दिएका छन् ।
आकृति घिमिरे

काठमाडौँ — गत मंगलबार, एक टिकटक प्रयोगकर्ता, प्रियंका ओलीले निजामती कर्मचारीको पोसाकमा रहेका ६ जना युवतीहरूको समूहले नाचेको भिडियो क्लिप अपलोड गरिन् । नाच थियो- चर्चित बलिउड फिल्म 'बार बार देखो' को चर्चित गीत 'काला चस्मा' माथि । जुन गीतमा २०१६ मा कट्रिना कैफले पनि नृत्य गरेकी थिइन् । 

'काला चस्मा'मा 'हुक स्टेप': महिला नृत्यमा पुरुषहरूको पहरेदारी

यो भिडियो सामान्य टिकटक क्लिपमा मात्र सीमित रहेन । यो क्लिपमा जुन डान्स स्टेप देखाइएको थियो, धेरैलाई त्यो उत्तेजक लाग्यो । चाँडै भाइरल भयो र इन्टरनेटमा केही नेपालीहरूको चाहिँ होसहवास उड्यो ।

टिकटकमा पोस्ट गरिएको भिडियो छिट्टै अन्य सोसल मिडिया प्लेटफर्महरूमा पनि भाइरल बन्यो । फेसबुकमा शनिबार साँझसम्म मात्र यो भिडियो ८५३,००० भन्दा बढी पटक हेरिएको छ।

भिडियोमा नीलो आकाशे कुर्ता, बैजनी सुरुवाल र सल लगाएका ६ जना महिला छन् । नृत्य गर्दा उनीमध्ये एकजनाले कालो चस्मा लगाएकी छन् । भिडियोमा एकजना महिला मर्किँदै नाचेको देख्न सकिन्छ- आफ्नो कम्मर माथि र तल गरेर ।

तर यो भिडियोमा अनेकै नराम्रा कमेन्टहरु आए । जुन कमेन्टले उनीहरूलाई विक्षिप्त बनायो । दुई दिनपछि दाङको बबई गाउँपालिकामा कार्यरत यी स्वास्थ्यकर्मी महिलाहरू भिडियो हटाउन बाध्य भए । टिकटक प्रयोगकर्ता ओलीले सुरुको भिडियो मेटाइन् र अर्को भिडियो अपलोड गरिन् । जुन भिडियोमा 'समाजले तोकेको रेखा र आफ्नो मर्यादामा रहने खालको प्रतिज्ञा' गर्दै दर्शकहरूसँग माफी मागेकी छन् ।

यी स्वास्थ्यकर्मीहरूले आफ्नो हृदयदेखि माफी मागेका होइनन् । माफी नै माग्नुपर्ने अपराध उनीहरुले केही गरेका पनि थिएनन् । तर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जुन प्रकारको चरित्र हत्या र दुर्व्यवहार भयो त्यसकारण उनी माफी माग्न बाध्य भए ।

भिडियोमा रहेकीमध्ये एकले धेरै अपमानजनक टिप्पणीहरू आफूहरूलाई आएको बताइन् । धेरैजसो टिप्पणीहरू 'उनीहरूलाई कामबाट हटाउनुपर्छ' भन्ने खालका थिए । 'यस्ता महिलाले कसरी सेवा दिन्छन् ? माफी माग्नुपर्छ,' एक जनाले नाम नबताउने सर्तमा काठमाण्डु पोस्टसँग भनिन्,'हामीले गल्तीहरू महसुस गरेका छौं भनेर देखाउन हामीलाई माफी माग्न भनियो।'

दाङका स्वास्थ्यकर्मीको समूहजस्तै धेरै नेपाली महिलाले अहिले त्यही 'काला चस्मा' गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

'समाजिक मूल्य मान्यता र संस्कारका स्वघोषित मसिहा'हरु समेत यो विषयमा छुद्र टिप्पणी गर्नेमा अछुतो नरहेको लैंगिक विशेषज्ञहरूले पोस्टसँग बताएका छन् ।

महिलाहरूले गरेको नृत्यमा छुद्र टिप्पणी गर्नेहरुमा आफूलाई नैतिकताको संरक्षक ठान्ने अधिकांश पुरुषहरू छन् । उनीहरूले चरित्र हत्या मात्र गरेका छैनन् आगामी वर्षहरूमा हिन्दू चाड 'तीज' नै रद्द गर्ने सार्वजनिक धम्कीसमेत दिएका छन् ।

विज्ञहरुका अनुसार महिलाका नृत्यहरूप्रतिको पछिल्लो आपत्ति 'महिला स्वतन्त्रता नियन्त्रण' गर्न जारी प्रयास मध्येको एक हिस्सा हो।

'जब महिलाहरू आफ्नै शैलीमा तीज मनाउने प्रयास गर्छन्, पुरुषहरूले महिलाहरूलाई नियन्त्रण गर्न चाहन्छन्,' एक स्वतन्त्र अनुसन्धानकर्ता र नारीवादी पल्लवी पायलले भनिन्,' महिलाहरूले आफ्नो स्वतन्त्रताको प्रयोग गर्न सक्छन् । तर समाजचाहिँ महिलाले स्वतन्त्रता कसरी प्रयोग गर्ने भन्ने सीमा निर्धारण गर्न खोज्छ । महिलाहरु के बनुन् भन्ने चाहन्छन् ? कठपुतली ?'

धेरै आलोचकहरुले भने यस्ता नृत्य स्टेप्सले समाजमा अराजकता फैलाउने र भावी पुस्तामा गलत सन्देश जाने दाबी गरेका छन् । धेरै नेपाली सोशल मिडिया प्रयोगकर्ताहरूले नक्कल गरेको यो कोरियोग्राफी पहिलो पटक नर्वेजियन हीप-हप/सहरी नृत्य टोली 'द क्विकस्टाइल'द्वारा अनलाइन अपलोड गरिएको थियो ।

'काला चस्मामा तिनीहरूका भिडियोहरूले युट्युब, टिकटक, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा लाखौं भ्यूहरू पाएका थिए । सोसल मिडिया प्रयोगकर्ता र विशेषज्ञहरुका अनुसार महिलाहरूले 'द क्विकस्टाइल'कोरियोग्राफीमा आफ्ना नृत्यहरू अपलोड गरेका छन् । धेरैले डान्सस्टेपहरूलाई 'बार'का लागि उपयुक्त र राष्ट्रविरोधी भनेर लेबल लगाएका छन् ।

इन्टरनेटमा 'नैतिक पहरेदारी' द्वारा लगातार ट्रोल हुने स्वास्थ्यकर्मीहरू मात्र होइनन् । 'तीजस्पेसल' ह्यासट्यागमा कोरियोग्राफी गर्दै उनको भिडियो अपलोड गरेपछि लोकप्रिय मोडल तथा अभिनेत्री एलिजा गौतम पनि अनलाइन ट्रोल भइन् ।

'द क्विकस्टाइल' को कोरियोग्राफी नक्कल गर्ने गौतमका भिडियोहरू, उनको खाताहरूमा अनलाइन उपलब्ध भए पनि उनका अन्य पोस्टहरूमा जस्तो यो पोस्टमा सार्वजनिक रूपमा टिप्पणी गर्नका लागि अब उपलब्ध छैन ।

अनलाइनमा महिलाहरूलाई कसरी खबरदारी गरिन्छ यो एक उदाहरण हो ।

तीजको अवसरमा महिलाले गर्ने विभिन्न नाचको भिडियो अपलोड गर्दै एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्,- 'कुनै पनि काम कुरा सही समयमा, सही तरिकाले, सही ठाउँमा भएन भने त्यसको परिणाम गलत आउँछ र गलत सन्देश जान्छ। झन् चाडपर्व, संस्कृतिको कुरा गर्नु पर्दा आउने पिंढीमा नराम्रो असर पर्छ र गलत कुराले निरन्तरता पाउने छ। कृपया समाजमा विकृति फैलाउने काम नगर्नुहोस्। केही वर्षदेखिको गतिविधि हेर्दा अब आउने केही वर्षमा यो तीज भन्ने पर्व मनाउन रोक लगाउनु पर्ने अवस्था आउन सक्छ।'

तर, लैङ्गिक विज्ञहरूका अनुसार यो महिलामाथि आफ्नो नियन्त्रण सुनिश्चित गर्न आफूलाई सामाजिक व्यवस्थाको अग्रगामी भनाउनेहरूले बनाएको बहाना हो।

'चाडपर्वहरूमा नैतिक खबरदारी अझ बढाइन्छ, जब महिलाहरूलाई उनीहरूले कसरी मनाउने भनेर बताइन्छ र उनीहरू अनुरूप नहुँदा आलोचना गरिन्छ,' विज्ञहरु भन्छन् । पायलले भनिन्, ‘महिलाको नाचमा उनीहरुलाई आपत्ति छ र हुक स्टेपमा समस्या छ । यदि दु:खी, उदासी खालको तीज गीतमा पुरुषहरूको प्रशंसा भएको भए, उनीहरूलाई यसमा कुनै समस्या हुने थिएन ।महिलाको नृत्यले पुरुषको भावनामा चोट पुर्‍याएको छ । यी मानिसहरूलाई के सामाजिक रूपमा स्वीकार्य छ र के छैन भनेर निर्धारण गर्ने अधिकार कसले दियो ?'

लैङ्गिक विज्ञहरू मात्र होइन, स्वास्थ्यकर्मीहरू पनि यस नृत्यप्रति समाजको दृष्टिकोणलाई पाखण्डी ठान्छन् । कोभिड महामारी चरम रहेको समयमा स्वास्थ्यकर्मीहरुले विरामीको मनोबल बढाउनका लागि आफूले जोखिम मोलेर काम गरेका थिए । बिरामीको मनोबल उकास्न उनीहरुले नाचगान गरेका थिए । त्यसबेला उनीहरुले गरेको उक्त कार्यलाई प्रशंसा गरिएको थियो । उनीहरुले गरेको नृत्यकै कारण पनि धेरैले सेवा दिन दक्ष छन् भनेर तारिफ गरेका थिए । तर अहिले आफ्नो खुसीका लागि नृत्य गर्दा समाजले अहिले स्वास्थ्यकर्मी ती महिलाहरूको दक्षतामाथि प्रश्न उठाएको छ ।

'जब हामी कोभिडको समयमा नाच्यौं, हामीलाई प्रोत्साहन दिइयो । वा ! बिरामीहरूको राम्रो हेरचाह गरेका छन् हेर्नुहोस् समेत भनियो,' एक स्वास्थ्यकर्मीको प्रश्न छ,'अहिले हामी रमाइलो गर्दैछौं, उनीहरू हाम्रो काम गर्ने क्षमतामा प्रश्न उठाउँदैछन् । मर्यादित नाच के हो र के होइन भन्ने कुनै आधिकारिक नियम छ ? '

प्रकाशित : भाद्र १२, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?