देशलाई संविधान विरोधी तत्त्वबाट बचाउन चुनावी गठबन्धन : मन्त्री चौधरी- समाचार - कान्तिपुर समाचार

देशलाई संविधान विरोधी तत्त्वबाट बचाउन चुनावी गठबन्धन : मन्त्री चौधरी

अमृता अनमोल

बुटवल — सहरी विकासमन्त्री मेटमणि चौधरीले देशलाई संविधान विरोधी तत्वबाट बचाउन मंसिरमा हुने चुनावमा गठबन्धन गरिएको बताएका छन् । चुनावपछि मुलुक स्थायीत्वतर्फ जाने पनि उनले बताए । दलहरु गठबन्धन गरेर चुनाव लडेर जित्ने र मुलकलाई दीगो विकास र स्थायी शान्तिको नयाँ कोर्समा लैजाने उनले बताए ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरुको जित हुनुपर्ने बताएका हुन् ।

‘संविधान विरोधी तत्त्वहरुबाट देश बचाउन, स्थायी शान्ति र संघीयताका लागि हामी गठबन्धन गरेर चुनावमा जान लागेका हौं,’ उनले भने,‘मंसिरको चुनावपछि मुलुक समृद्धिको बाटोमा लाग्ने छ ।’ नेकपा एसका पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलहरुसँग गठबन्धन गरेको तर्क गरे ।

सहरी विकासमन्त्री चौधरीले सहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै नागरिकलाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोडेर अगाडि लैजाने सरकारको नीति रहेको बताए ।

प्रकाशित : भाद्र ११, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीमा फेरि चितुवा आक्रमण

तृप्ति शाही

बैतडी — बैतडीमा केही समययता चितुवा मानवबस्तीमा पस्न थालेपछि स्थानीयमा चितुवाको त्रास बढेको छ । यसै साता मंगलबार जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा विद्यालय गइरहेका १३ वर्षीय पारस धनाडीमाथि चितुवाले आक्रमण गर्‍यो ।

बिहानै साढे ५ बजेतिर विद्यालय जान लागेका उनलाई चितुवाले आक्रमण गर्दा शरीरका विभिन्न भागमा चोट लागेको थियो । मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारपछि घर फर्किएका छन् । अहिले पनि उनी नियमित औषधि सेवन गरिरहेका छन् ।

यस्तै, सोमबार राति ९ बजेतिर सोही ठाउँका ६८ वर्षका बहादुर दमाईलाई चितुवाले आक्रमण गरेर घाइते बनायो । शौलाचय जान लागेका बेला उनलाई चितुवाले आक्रमण गरेको हो । यसरी चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास छाएको छ । चितुवाको डरले गाउँघरमा हिँडडुल गर्न पनि समस्या भएको स्थानीय सीता पार्कीले सुनाइन् ।

‘स्कुल जाने बालकलाई चितुवाले झम्टेको छ । शौलाचय जाँदा पनि छोडेको छैन,’ उनले भनिन्, ‘डरको कुरै नगरौं । हामीलाई धेरै गाह्रो भएको छ । घर बाहिर निस्कनै मुस्किल छ ।’ उनले बाध्यताले घर बाहिर मात्र होइन जंगल पनि जानै पर्ने भएकाले चितुवाले कतिबेला आक्रमण गर्छ भन्ने पीर बोकेर गाउँवासी ठूलो त्रासमा रहेको बताइन् ।

चितुवाको डरले गाउँका स्थानीय निकै त्रसित बनेको बैतडीको शिवनाथ गाउँपालिका–६ का वडाअध्यक्ष भरतराम पार्कीले बताए । ‘आजभोलि गाउँमै चितुवा देखिन थालेको छ,’ उनले भने, ‘घर नजिकैको मकैबारीमा पनि चितुवा देखिन्छ । ज्यानै जोगाउन मुस्किल छ ।’

बैतडीको तल्लोस्वराड क्षेत्र चितुवा प्रभावित क्षेत्र हो । त्यहाँका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका अधिकांश बस्ती चितुवाबाट प्रभावित छन् । २०६८ साल यता एक दशकको अवधिमा यो क्षेत्रका २५ जनाको चितुवाको आक्रमणमा परी ज्यान गएको छ । जिल्लाभर आलसम्म चितुवाको आक्रमणबाट ३२ जना घाइते भएका छन् ।

चितुवाले जनजीवन कष्टकर बनाएको शिवनाथ–६ का स्थानीय विक्रम धनाडीले दुखेसो पोखे । ‘बर्सेनि चितुवाले मान्छेहरूलाई आक्रमण गर्दै आएको छ,’ उनले भने, ‘केही वर्षअघि मेरो आमालाई पनि आक्रमण गरेको थियो । अहिले गाउँका मान्छेहरू डरले समूहमा मात्र हिँड्ने गरेका छन् । कतिन्जेल यसरी सम्भव होला ? एक्लै हिँड्ने अवस्थै छैन गाउँतिर ।’

रोकथामका लागि कसैले केही पहल पनि नगरेका उनले गुनासो गरे । पछिल्लो समय चितुवा मानवबस्तीमा पसेर समस्या आएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए ।

प्रकाशित : भाद्र ११, २०७९ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×