कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले जोडिएला टिप्ताला ?

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको ओलाङचुङगोला नाकाको टिप्ताला भन्ज्याङ जोड्ने सडक गत वर्षदेखि अघि बढ्न सकेको छैन । सुकेपानी फक्ताङलुङ गाउँपालिका–६ लेलेपको अन्तिम बिन्दु हो । यहाँबाट वडा ७ ओलाङचुङगोलाको प्रस्थान बिन्दु नजिकै पर्छ । सडकको ट्र्याक ओलाङचुङगोलाबाट पनि ल्याइएको छ । बाँकी सडक खुल्नासाथ नेपाल–चीन सिमानासम्म गाडी चल्छ । 

कहिले जोडिएला टिप्ताला ?

टिप्ताला भन्ज्याङ जोड्ने सडकको ट्र्याक खोल्न सुकेपानीमा डेढ किलोमिटर मात्रै बाँकी छ । गत चैत अन्तिम सातादेखि भने यहाँको काम रोकिएको हो । सडक आयोजना र ठेकेदार कम्पनीले विस्फोट गर्न सबै उपकरण कार्यस्थलमा पुर्‍याए पनि कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत ३१ हेक्टर जमिनको रूख हटाउनुपर्ने र क्षतिपूर्तिको विषयले बाँकी काम रोकिएको हो ।

उत्तर–दक्षिण लोकमार्ग ओलाङचुङगोला सडक कार्यालय प्रमुख अमिन्द्र खड्काले उक्त क्षेत्रको रूख हटाउन र जमिनको क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ सुनिश्चित गरेको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त रकम लिएर निर्माण अनुमति दिए तत्काल काम अघि बढाउन सकिने उनको भनाइ छ । ‘मन्त्रिपरिषद्ले नै रकम लिनु भन्ने निर्णय गरिदिए पनि समस्या समाधान हुन्छ, निर्णय भएको तीन महिनाभित्र ट्र्याक खुलिसक्नेछ,’ खड्काले भने ।

यो निर्णय नभए सडक कार्यालयले क्षतिपूर्तिका लागि ३१ हेक्टर जमिन खोज्नुपर्छ । जमिन खरिद गरेर विभागको नाममा रजिस्ट्रेसन पास गरिदिनुपर्छ । सबै कानुनी प्रक्रिया पूरा गर्न लामो समयसम्म लाग्छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको रकमले नपुग्न सक्ने, सरकारी मापदण्डअनुसारको जमिन पाउन कठिन हुने र प्रक्रियाका लागि लामो समय लाग्ने भएकाले रकम बुझेर निर्माणको बाटो खुलाइदिए हुने भन्ने चाहनामा सडक कार्यालय छ । त्यसका लागि विभागसँग अनुरोध गरे पनि विभागले मञ्जुरी दिएको छैन ।

गत वैशाख १४ को मन्त्रिपरिषद् बैठकले रूख कटानको निर्णय गरेको थियो । ‘स्रोत भर्नाबापतको रकम नै बुझी निर्माणको बाटो खोलिदिनु वा राष्ट्रिय महत्त्वको सडक भएकाले बिनाअवरोध निर्माण गर्नु भन्ने निर्णय मन्त्रिपरिषद्बाट भइदिए काम गर्न सकिने थियो,’ सडक कार्यालयका एक अधिकारीले भने ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू पनि आफूहरू चाँडो निर्णयको पर्खाइमा रहेको बताउँछन् । ‘यसअघि मन्त्रिपरिषद्ले नियमअनुसार गर्नु भन्ने निर्णय गरेको सुनेको छु,’ उनले भने, ‘परिषद्मा त त्यो निर्णय पनि आएको छैन ।’ फेम्बूका अनुसार ३१ हेक्टर जमिनका ६ सय २७ रूख हटाउनुपर्छ ।

टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोलाको बस्ती हुँदै सुकेपानी छेउसम्मको २४ किलोमिटर ट्र्याक खोलिइसकेको छ । यसका लागि चीनको डिङजे काउन्टीबाट भाडामा मेसिन ल्याइएको थियो । गोलाको बस्तीदेखि सदरमुकामतर्फको सुकेपानी छेउसम्मको सडक ३२ किलोमिटर रहेको सडक कार्यालय प्रमुख खड्काले बताए ।

टिप्ताला भन्ज्याङ ।

कोरोना महामारीयता चीनले नाका बन्द गरेपछि पन्साउने मेसिन ल्याउन नसकेका कारण सिमानातर्फको सडक ठाउँ–ठाउँमा भत्किएको छ । फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा ट्र्याक खोलेपछि त्यही कम्पनीको मेसिनले पन्छाउन धेरै समय नलाग्ने बताउँछन् । ‘हाम्रो ठेक्काको समयावधि पनि सकियो,’ निर्माण कम्पनीका पेम्बा शेर्पाले भने, ‘बिनाकाम मेसिन थन्क्याएर राख्नुपर्दा ठूलै समस्या र क्षति भएको छ ।’

यहाँ काठमाडौंको एसबीए एलाइट जेभी कम्पनीले ४२ करोडमा लागतमा ठेक्का लिएको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर राजीव लामिछानेका अनुसार काम रोकिँदा ४५ जनाको जनशक्तिका साथै एक्स्काभेटरलगायतका मेसिन र उपकरण थन्किएका छन् । ठेक्काको समयावधि जेठमा सकिएको छ । यसअघि पनि जग्गा विवादका कारण लेलेपमा तीन महिना काम रोकिएको थियो । यो सडक सम्पन्न हुँदा टिप्ताला भन्ज्याङदेखि विराटनगर रानी भन्सारसम्मको दूरी ३ सय ४० किलोमिटर हुन्छ ।

प्रकाशित : भाद्र ११, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?