एमालेको पक्षमा जनमत ल्याउन कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताएका थिए ।
‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भूमिका खेल्नुपर्दछ । यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दबाब । र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्छ । र बेठीक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्छ । जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्वन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ,’ अध्यक्ष ओलीले भने ।
केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची रहेको बताइएको छ ।
प्रकाशित : भाद्र १०, २०७९ १३:५३