कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'अग्निपथ'मा भर्ती हुन आएका धमाधम फर्किँदै

भारतीय क्याम्पले आन्तरिक सूचनामार्फत स्थगित भएको जानकारी, भर्ती आह्वान भएको अस्वीकार
घनश्याम गौतम

रूपन्देही — भारतीय सेनाको ‘अग्निपथ’ योजनामा भर्ती हुन देशभरबाट बुधबारसम्म बुटवल आइपुगेका सयौं युवा भर्ती स्थगित भएको सूचनापछि घर फर्कन थालेका छन् । भर्ती हुने आशा बोकेर नेपालका पूर्वदेखि पश्चिमसम्मका दर्जनौं जिल्लाबाट आएका युवाले बुटवलका अधिकांश होटल भरिएका थिए ।

'अग्निपथ'मा भर्ती हुन आएका धमाधम फर्किँदै

भारत सरकारले सेनाको चार वर्षे अवधिको अग्निपथ सेवाका लागि बुटवलस्थित भारतीय सेनाको क्याम्पमा बिहीबार भर्ती छनोट गर्ने सूचना यसअघि जारी गरेको थियो । तर अन्तिम समयमा आएर बुधबार छनोट हुने कार्यक्रम तत्कालका लागि स्थगित भएको ‘आन्तरिक सूचना’ जारी गरेपछि भर्ती हुन आएकाहरु धमाधम फर्किन थालेका छन् ।

प्रत्यक्ष सम्पर्कमा रहेका युवालाई बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पबाटै र सम्पर्कमा नरहेका युवाहरुलाई पूर्व भारतीय सैनिकका परिवारमार्फत बुधबार बिहानैदेखि छनोट प्रक्रिया तत्कालका लागि स्थगित भएको सूचना प्रवाह गरिएको थियो । तर, बुटवलस्थित भारतीय पेन्सन क्याम्पले भने यो कुरा अस्वीकार गरेको छ । बुटवलमा भारतीय सेनामा भर्ती छनोटका लागि बिहीबारदेखि भर्ती खुलेको सूचना पाएपछि बुटवलमा देशभरका विभिन्न जिल्लाबाट सयौं युवाहरु आएका थिए ।

पूर्वको धनकुटा, तेहथुम, खोटाङ, झापादेखि पश्चिमको रुकुम, रोल्पा, दार्चुला, बैतडी लगायतका बुटवलमा आएका थिए । झापाको दमक नगरपालिका–१० का आयुष धिमाल अग्निपथमा भर्ती हुनकै लागि भदौ १ गते बुटवल आइपुगेका थिए । बुधबार दिउँसो अचानक भर्ती स्थगितको सूचना पाएपछि उनी घर फर्किने तयारीमा थिए । ‘बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पले अहिलेको अग्निपथ भर्ती स्थगित भएको र अर्को सूचना आएपछि आउन भनेका छन्,’ उनले भने, ‘त्यसैले फेरि आउने गरी घर फर्किन थालेका छौं ।’

भारतीय सैनिकमा भर्नाका लागि यसअघि भारतीय अधिकारीहरुले बुटवलस्थित प्रहरी तालिम केन्द्रको खुला मैदान प्रयोग गर्ने गरेका थिए । तर, बिहीबारदेखि छनोट भन्ने सूचना प्रवाह गरेपनि तालिम केन्द्रलाई त्यस्तो कुनै जानकारी नभएकाले प्रहरीले बिहीबार तालिम केन्द्रमा तालिम लिइरहेका नेपाल प्रहरीका जवानहरुको ‘पास आउट’कार्यक्रम राखेको एक प्रहरी अधिकृतले बताए ।

बुटवलस्थित भारतीय पेन्सन क्याम्पका सेक्रेटरी हुमबहादुर दगामीले पनि पेन्सन क्याम्प वा भारतीय दुताबास मार्फत भर्ना र छनोटका लागि कुनै सूचना जारी नभएको उनले बताए । उनले भारतीय सेनामा भर्ती गर्ने नाममा खुलेका तालिम सेन्टरहरुले हल्ला फैलाउने र त्यसकै आधारमा बुटवलमा युवाहरु आएको हुन सक्ने दाबी गरे । उनले भने, ‘हामीलाई अहिलेसम्म भर्ना र छनोटका लागि तयारी गर्न भनेर कुनै निर्देशन भएको छैन ।’

प्रकाशित : भाद्र ९, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?