रौतहट — कोरोनाकालमा बन्द गरिएको नेपाल–भारत सीमा क्षेत्रमा चल्ने अटो रिक्सा पुनः सञ्चालन नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । किनमेलदेखि उपचारका लागि एकअर्काको देशमा जाने सर्वसाधारणले अहिले सास्ती भोग्नुपरेको हो ।
कोरोना संक्रमण सुरु भएपछि २०७६ चैतको पहिलो सातादेखि भारतीय प्रशासनले सिमाक्षेत्रमा टेम्पो, इ–रिक्सा, निजी सवारीसाधन आवतजावतमा रोक लगाएको थियो । भारतस्थित बैरगनियाको स्थानीय प्रशासनले सीमा क्षेत्रमा दुवै देशका सिटी रिक्सा चलाउन रोकेको थियो । पछि निजी सवारीसाधनलाई चल्न दिइए पनि तीनपांग्रे सवारीलाई खुला गरिएको छैन । अहिले पारीबाट सीमा क्षेत्रको बैरगनिया हुँदै गौर आउने यात्रु र सामान किनमेल गर्न जानेहरू काँधमा सामान बोकर ल्याउँछन् । बिरामीले समेत पैदलै सीमा पार गर्नुपर्छ । भारतीय बैरगनिया बजारबाट यात्रुलाई सीमा क्षेत्रभन्दा केही वर नै ल्याएर भारतीय इ–रिक्सा, टेम्पोले छाड्दिन्छन् । त्यहाँबाट झन्डै आधा किलोमिटरसम्म यात्रु पैदलै हिँड्न बाध्य छन् । वारि गौर भन्सार गेटभन्दा एक सय मिटरवरै तीनपांग्रे सवारीसाधन रोकिन्छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भारतीय पक्षले कोभिडकै बेला तीनपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाए पनि अहिलेसम्म खुला नगरेको बताए । ‘यसले दुवै देशका नागरिकलाई समस्या परेको छ । हामीले अब सञ्चालन गर्न दिनुस् भनेर अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘भारतको सीमा क्षेत्रका स्थानीय प्रशासनले माथिको आदेश कुरेर बसेका छौं भनेर जवाफ दिन्छन् । अब केही दिनभित्रमा खुल्छ होला ।’
नेपाल–भारत सीमा क्षेत्रको बैरगनिया–गौर बजारमा दैनिक हजारौंको सख्यामा मानिस ओहोरदोहार गर्छन् । भारतीय गौर बजारमा किनमेल गर्न आउँछन् । नेपालीहरू भारतीय बैरगनिया बजारमा जान्छन् । गौर–बैरगनिया नाका हुँदै सार्वजनिक सवारीसाधन पुनः सुरु गर्न गौरका नगर प्रमुख शम्भु साहले पहल थालेको बताए । यसका लागि भारतीय समकक्षीसँग टेम्पु चालकलाई सहमतिमा ल्याउन विभिन्न विकल्पबारे छलफल गरेको उनले जानकारी दिए । ‘बैरगनियाका सरोकारवालासित छलफल गरेका छौं,’ उनले भने, ‘छिट्टै तीनपांग्रे सवारीसाधन सञ्चालनमा आउने विश्वास छ ।’ नेपाल–भारत सीमा क्षेत्रमा तीनपांग्रे सवारी चल्तीमा छन् । गौर बजारमा मात्र एक सयभन्दा बढी इ–रिक्सा, अटो सञ्चालनमा छन् । पारि भारतको बैरगनिया बजारमा नेपाल आउने एक सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् ।
प्रकाशित : भाद्र ८, २०७९ ०९:३३