कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

मतदान गर्दै कैदीबन्दी

प्रतिनिधिसभा र प्रदेशसभाका सांसद चुन्दै २६ हजारभन्दा बढी कैदीबन्दी, कारागारमै मतदान केन्द्र 
मातृका दाहाल

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी कुल २६ हजार १ सय २९ कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।

मतदान गर्दै कैदीबन्दी

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे ।

२०७९ मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ । त्यसका लागि गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति निर्वाचन सुरक्षा योजना निर्माणका क्रममा छ । यसका लागि आयोगले ७१ वटा कारागारलाई मतदान स्थल तोकेर मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी खटाइने बताए ।

प्रमुख आयुक्त थपलियाले कान्तिपुरसँग भने, ‘अरू ठाउँमा जसरी मतदान हुन्छ, यस पटक ७१ वटा कारागार कार्यालयलाई पनि मतदान स्थल तोकेर त्यसैगरी मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी खटाइन्छ, त्यसका लागि आयोगले आवश्यक तयारी गरिरहेको छ ।’

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार मतदान प्रक्रियामा १ हजार ६ सय ५४ महिला र २४ हजार ४ सय ७५ पुरुष कैदीबन्दीले भाग लिन पाउनेछन् । हरेक दिनजसो कैदीहरू सजाय भुक्तान गरेर तथा थुनुवा अदालतबाट सफाइ पाएर कारागारमुक्त हुने हुँदा निर्वाचनका दिनसम्म कैदीबन्दीको संख्या केही तलमाथि भने पर्न सक्ने उनले बताए ।

नेपाल प्रहरीले देशभरका ७१ कारागारलाई ‘कारागार निर्वाचन मतदान स्थल’ बनाएर प्रत्येक कारागारमा निर्वाचन प्रयोजनका लागि ३ प्रहरी र ५ म्यादी प्रहरी खटाउन सकिने प्रस्ताव अघि सारेको छ । निर्वाचन आयोगले ७१ वटा कारागारलाई मतदान स्थल बनाउने गरी खाका बनाइसकेको छ । प्रतिनिधिसभातर्फ १ सय ६५ प्रत्यक्ष, १ सय १० समानुपातिक तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक ३ सय ३० सिटका लागि मतदान हुनेछ ।

आयोगले आगामी निर्वाचनमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको भन्दा करिब ५ लाख मतदाता थपिने अनुमान गरेको छ । सोहीअनुसार मतदान स्थल र मतदान केन्द्र हेरफेर हुनेछ । स्थानीय तहको गत निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र (मतपेटिका) थिए । यस पटक कैदीबन्दी पनि समानुपातिक मतदान प्रक्रियामा भाग लिने भएका कारण ७१ कारागार कार्यालयलाई मतदान स्थल र ७९ मतदान केन्द्रका रूपमा थपिँदै छ । कारागारमा थपिएकासहित अहिलेसम्म १० हजार ८ सय २७ मतदान स्थल र २२ हजार ५ सय ३४ मतदान केन्द्र रहन सक्ने सुरक्षा कार्ययोजनाको मस्यौदामा उल्लेख छ । थपिएका मतदाताको संख्याका आधारमा मतदान केन्द्र निर्धारण हुने निर्वाचन आयोगले जनाएको छ । प्रहरी प्रधान कार्यालयले ६१ हजारभन्दा बढी प्रहरी र १ लाख २० हजार म्यादी प्रहरी निर्वाचनमा खटाउनुपर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : भाद्र ८, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?