समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं : पुन 

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् । विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए ।

समाजवादीसँग एकता गर्छौं, बाबुराम र वामदेवलाई पनि सँगै लैजान्छौं : पुन 

यस्तै एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको उनको भनाइ थियो ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं,’ मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइहरको छ ।’

यस्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए । मुलुकको परराष्ट्र नीति, तथा सुशासन र विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे । राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरुको साझा चुनावी एजेन्डा भएको उल्लेख गरे ।

प्रकाशित : भाद्र ७, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?