२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

गठबन्धन देशको आवश्यकता हो, ५ दलसँग छलफल भइरहेको छ : लोसपा

अवधेशकुमार झा

राजविराज — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले गठबन्धन देशको आवश्यकता भएको बताएका छन् । उनीहरूले अन्य दलहरूले गठबन्धनका लागि प्रस्ताव राखेको भए पनि पाँचदलीय गठबन्धनका घटक दलहरूसित छलफल भइरहेको बताए ।

गठबन्धन देशको आवश्यकता हो, ५ दलसँग छलफल भइरहेको छ : लोसपा

सप्तरीको राजविराजमा सोमबार लोसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेलका लागि गठबन्धनको कुराकानी भइरहेको बताए । ‘गठबन्धन हुन नसके लोसपा एक्लै चुनावमा जान्छ,’ महतोले भने,‘तर पाँचदलीय गठबन्धनका दलहरूसित चुनावी तालमेलका लागि गठबन्धनको कुराकानी भइरहेको छ ।’ उनले माग मुद्दा मिल्ने अन्य दलसित पनि चुनावी गठबन्धन गर्ने बताए ।

नेता महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोमा आपत्ति जनाएका थिए । ‘दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको नश्लीय र एकल जातीय सोचबाट ग्रसित भएको मानसिकता हो,’ महतोले भने । अधिकार प्राप्ती नहुँदा जनतामा निराशा छाएको भन्दै महतोले सुशासन नहुँदा देश कंगाल अवस्थामा पुगेको बताए ।

लोसपाका अर्का नेता शरतसिंह भण्डारीले गठबन्धन अहिले देशको आवश्यकता भएको बताए । ‘वर्तमान चुनावी प्रणालीले कुनै एक दलले स्थीर सरकार दिनसक्ने अवस्था छैन । त्यसकारण गठबन्धन अहिले देशको आवश्यकता भइसकेको छ,’ नेता भण्डारीले भने ।

अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीहरूलाई नेपाली जनताले बहुमत दिए पनि स्थिर भएर सरकार चलाउन नसकेकाले लोकतान्त्रिक शक्तीहरूबीच गठबन्धन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा नेता भण्डारीले पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले राष्ट्रपति सबैको साझा बन्न सक्नुपर्ने भन्दै उनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।

यस्तै कार्यक्रममा लोसपाका नेताहरू अनिलकुमार झा, जितेन्द्र सोनल, जयप्रकास ठाकुर, दिनेश यादव लगायतका नेताले सम्बोधन गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादव नेकपा माओवादी केन्द्र परित्याग गरी लोसपामा प्रवेश गरे । अघिल्लो स्थानीय तहको निर्वाचनमा तात्कालीन राजपाबाट राजविराजको नगरप्रमुखमा जितेका यादव राजपा र तात्कालीन समाजवादी पार्टी मिलेर बनेको जसपामा थिए ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा जसपाले उनलाई नगरप्रमुखमा टिकट नदिएपछि उनी मनोनयनको अघिल्लो दिन माओवादी प्रवेश गरी उम्मेदवार भएका थिए । निवर्तमान नगरप्रमुख यादवसँगै निवर्तमान वडाध्यक्षहरू मागीलाल नाई, सुदर्शन सिंह, शम्भुप्रसाद यादव लाली र शोभालाल मण्डलसमेत लोसपाको सदस्यता लिइ पार्टी प्रवेश गरेका छन् ।

प्रकाशित : भाद्र ६, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?