२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
प्रस्तावित निर्वाचन आचारसंहिता

एउटा पार्टीबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ । 

एउटा पार्टीबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने

निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने आचरण अन्तर्गत कसले हेलिकोप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरेको छ ।

आचारसंहितामा भनिएको छ, 'राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने ।' त्यस्ता प्रचारकमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ । 'तर, कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको रुपमा अनुमति दिइने छैन ।'

निर्वाचन प्रचारका क्रममा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सुवारी साधान र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा उल्लेख छ । निर्वाचनमा प्रचारप्रसारका क्रममा 'विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन' भनिएको छ ।

त्यस्तै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न नहुने भनिएको छ । उम्मेदवारले लिएको सवारी साधनमा मतदाता ओसारपसार गर्न पनि बन्देज लगाइएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?