कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध

चिनियाँ अधिकारीको तजबिजमा नाका खुल्छ, अचानक बन्द हुन्छ, करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्छन्
साना र मझौला व्यापारी पेसाबाटै पलायन, सीमित व्यवसायीले समुद्र हुँदै भारतको बाटो सामान ल्याउँदा उपभोक्ता मूल्य चर्को
ऋषिराम पौड्याल

काठमाडौँ — भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ । 

साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध

भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ ।

नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पुर्‍यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभाग पुगेर आफ्ना सामान ल्याउनसमेत दिएन । त्यस्तै नेपालले २०७२ असोजमा संविधान जारी गरेपछि भारतले दक्षिणी नाकाबाट हुने व्यापारमा अघोषित नाकाबन्दी लगाउँदा पनि चीनले नाकाबाट सामान आयातनिर्यात सहज बनाएन । अप्ठेरोमा परेको नेपालले तातोपानी नाका सञ्चालन गर्न अनुरोध गर्दा पनि चीनले सुनेन ।

बाढीपहिरो र कोभिड बहानामा प्रायः बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनियाँ अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन् । दिनमा ५–७ कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ । यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारी मर्कामा छन् । व्यवसायीले करोडौं लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटकपटक बन्द गरिन्छ, अहिले पनि बन्द छ ।

सीमानाका आपसी समझदारीमा खुल्ने र बन्द हुनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारी व्यापारी मात्र होइन, नेपाली अधिकारीलाई पनि हुँदैन । तातोपानी भन्सार प्रमुख नारद गौतमले नाका बन्द हुने र खुल्ने औपचारिक सूचना आफूहरूलाई नहुने बताउँछन् । भन्छन्, ‘व्यवसायीले बन्द भयो भनेका छन् । स्याउ, लसुन, प्याज, नास्पातीजस्ता वस्तु कुहिन लागेको गुनासो गरेका छन्, कहिले खुल्छ वा खुल्दैन हामी भन्न सक्दैनौं ।’

रसुवागढी भन्सार प्रमुख राम मैनाली पनि नाका खुल्ने, बन्द हुनेबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘बन्द हुने र खुल्ने अनिश्चितताले व्यापारीलाई नाकाप्रतिको अविश्वास भने बढाएको छ,’ उनी भन्छन् ।

यस पटक पनि दसैंका सामान चीनको सडकमा आइपुगेपछि नाका बन्द गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर (राजकुमार) बस्नेतका अनुसार नाका ठप्प भएपछि बाटोमा अलपत्र सामानलाई फेरि उतै पठाएर सामुद्रिक बाटोमार्फत ल्याउने तयारी व्यवसायीले गरेका छन् । ‘कम्तीमा खरिद गरेका र बाटोमा अलपत्र सामान मात्र भित्र्याउन दिने हो भने पनि व्यवसायीलाई केही सहज हुने थियो,’ बस्नेत भन्छन् । त्यसैले सरकारले सार्थक कूटनीतिक पहल नगरे व्यापारी डुब्ने र उपभोक्ता मर्कामा पर्ने उनको भनाइ छ ।

भौगोलिक अवस्थाका कारण चीनसँग जोडिएको नाकामा नेपाल पूरै निर्भर हुन भने व्यावहारिक कठिनाइ हुने परराष्ट्रविद् दिनेश भट्टराईको भनाइ छ । ‘तर, मुलुकले विकल्प सोचेको नाकाबाट अप्ठेरोमा पनि सहयोग प्राप्त गर्न किन सकिएन ?’ उनी प्रश्न गर्छन्, ‘सुरक्षाको विषयमा चीन निकै संवेदनशील छ, त्यस्तो हो भने पनि नेपालसँग खुलेर कुरा गर्नुपर्छ ।’

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की भने नाकामा हुने अवरोध कोभिडबाहेकका अन्य कारणले होला भनेर अनुमान गर्न नसकिने बताउँछन् । ‘चीनको चासो नेपालको भूमि प्रयोग गरेर आफ्नाविरुद्ध कसैले चलखेल नगरोस् भन्ने मात्र हो,’ भन्छन्, ‘भर्खरै नेपालका परराष्ट्रमन्त्रीको भ्रमण क्रममा भएको सम्झौताले पनि अझ बढी सकारात्मक सन्देश दिएको बुझ्न सकिन्छ ।’ कतिपय सुरक्षा संवेदनशीलता हुन सक्ने तर्क गर्दै उनले त्यस्ता विषयलाई त्यही रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

भूकम्पपछि चीनले स्थलमार्गमा अवरोध गरेपछि केही व्यवसायी समुद्रीमार्गबाट भारतको बाटो प्रयोग गर्दै आयात व्यापारमा संलग्न छन् । समुद्री बाटो भएर व्यापार गर्न ठूलो लगानी चाहिने भएकाले साना र मझौला व्यापारी भने पेसाबाटै पलायन भए । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ वर्षौंदेखि नाकामा अवरोध हुँदा व्यवसायीहरू पेसाबाटै पलायन भइरहेको बताउँछन् । ‘केही व्यवसायी त सडकमै पुगे, केही भने व्यापारिक कारोबारमा दक्षिणतिर सारेका छन् ।’ कूटनीतिक प्रयासबिना समस्या समाधान हुन नसक्ने उनको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल–चीन व्यापार सहजीकरण गर्न चीनलाई अनुरोध गर्दै आएको बताए । ‘तातोपानी र रसुवा नाकालाई नियमित खुलाउन र अन्य नाका सञ्चालनका लागि अनुरोध गरिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका बेला पनि उक्त प्रस्ताव लिखित रूपमा राखिएको छ,’ मन्त्री बडूले भने ।

परराष्ट्रमन्त्री खड्काको भ्रमण टोलीमा सहभागी वाणिज्य सचिव गणेश पाण्डेले पनि उत्तरी नाकाको समस्याका विषयमा चीनसँग प्रस्ट तर्क राखेको बताए । तर, परराष्ट्रमन्त्रीको टोली चीनबाट फर्किएको अर्को दिन नै तातोपानी र रसुवा नाका फेरि बन्द गरिएको छ । तयारी पोसाक, जुत्ताचप्पल, ब्याग, कस्मेटिक सामान, मखमलका कपडा, खेलौना, मेसिनरी औजार, फर्निचर, कृषि औजार, बीउबिजन, बिजुलीका सामान, निर्माण सामग्री, स्टेसनरीलगायत सामान चीनबाटै आउने गरेका छन् । तिहारका लागि आवश्यक बिजुलीका सामान यही नाकाबाट भित्रिन्छन् । बजारमा पाउने अधिकांश स्याउ चीनबाटै आउने गरेको छ ।

व्यवसायी नृप अधिकारी उत्तरी नाकामा बेलाबेला देखिने अवरोधले पीडित भएर दक्षिणी नाकाको प्रयोग गर्नॅपरेको बताउँछन् । ‘एकातिर अनिवार्य एलसी प्रणाली लागू गर्दा लगानी बढ्दै गएको छ । अर्कातर्फ तातोपानी र रसुवाले विश्वास गुमाउँदै गएकाले बाध्य भएर समुद्रको बाटो रोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘दक्षिणी नाकाबाट आयात गर्दा मूल्यवृद्धि हुने र समय पनि बढी लाग्ने हुन्छ ।’

स्थलमार्गबाट १५ दिनमा आइपुग्ने सामान समुद्रको बाटो भएर आयात गर्दा डेढ महिनासम्म लाग्ने गरेको छ । उनका अनुसार पछिल्लो समय चिनियाँ सामानको मूल्य शतप्रतिशतसम्म बढेको छ भने व्यवसायीले पाउने मुनाफा कटौती हुँदै गएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०७२ चैत (२०१६ मार्च) मा चीनसँग व्यापार तथा पारवहन सम्झौता भयो । नेपालले चिनियाँ समद्रसम्म पहुँच पाउने भएपछि आयात व्यापारका लागि दक्षिणको एकलौटी वर्चस्व नरहने विश्वास गरिएको थियो । ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा बेइजिङमा भएको सम्झौताले भविष्यमा काजकिस्तानलगायत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले चीनको भूमि प्रयोग गर्न मार्ग प्रशस्त भएको थियो । नेपालले चिनियाँ बन्दरगाहको पनि प्रयोग गर्न पाउने अपेक्षा गरिएको थियो । तर, सम्झौता भएको ७ वर्ष पुग्न लाग्दा पनि व्यापारमा सहजता ल्याउनेभन्दा पूर्ववत् चालु नाकामा पनि नियन्त्रणको शृंखला जारी छ ।

चीनसँग नेपालको करिब १ हजार ४ सय १४ किमि लामो सीमामध्ये तातोपानी र केरुङ मात्रै दोहोरो आवागमन हुने नाका हुन् । थप नाका खुलाउन दुई मुलुकबीच पटक–पटक सहमति भए पनि सञ्चालन हुन सकेका छैनन् । तातोपानी र रसुवाबाहेक संखुवासभाको किमाथांका, मुस्ताङको कोरोला, हुम्लाको हिल्सा र दार्चुलाको टिंकर व्यापारिक कारोबारका हिसाबले महत्त्वपूर्ण नाका हुन् । भौतिक संरचना र सरकारी संयन्त्रको विकास भएकै तातोपानी र रसुवागढी पनि नियमित रूपमा खुलाउन चीनले रुचि देखाएको छैन ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का थप नाकाबाट व्यापार सम्भव रहेकामा दुवै मुलुक सहमत भए पनि सञ्चालन हुन नसकेको बताउँछन् । ‘चाडबाड र पर्वहरूमा स्थानीय व्यापार भए पनि राजस्व संकलनकै लागि व्यापार सुरु हुन सकेको छैन,’ उनले भने, ‘ती नाकाको अवस्था तत्काल व्यापार सञ्चालन हुने खालका छैनन् ।’

नयाँ नाका सञ्चालनको त कुरै छाडौं तातोपानी र रसुवालाई नै नियमित सञ्चालन गर्न पनि नेपालले प्रभावकारी कूटनीतिक पहल गरेको छैन । तातोपानी नाकापारिको खासा बजार नै चीन सरकारले तिब्बतको सिगात्सेमा स्थानान्तरण गरिसकेको छ । त्यसैले पनि चीनले स्थलमार्गलाई प्राथमिकता नराखेको बुझ्न सकिने अधिकारीहरू बताउँछन् । जसका कारण नाकाको व्यापारमा चीन सकारात्मक हुने सम्भावना कम रहेको उनीहरू बताउँछन् ।

प्रकाशित : भाद्र ६, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?