कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

कुकुर देख्दा तेरो मीत आयो भन्दै जिस्क्याउँथे

कविराम कामी

२०१७ साल पुस २५ मा तत्कालीन मेहेलतोली गाउँ पञ्चायतमा मेरो जन्म भयो । पहिले नागरिकता बनाउन सदरमुकाम पुग्न अहिलेजस्तो सजिलो थिएन । गाउँबाट हिँडेर खोला तर्दै सदरमुकाम पुग्न २ दिन लाग्थ्यो । नागरिकता बनाउन आउँदाजाँदा लाग्ने खर्च जुटाउन पनि निकै मुस्किल थियो, त्यसैले नागरिकता बनाएको थिइनँ ।

कुकुर देख्दा तेरो मीत आयो भन्दै जिस्क्याउँथे

बाआमाले तेरो नाम कविराम हो भन्थे । मैले परिचय दिँदा पनि कविराम कामी नै भन्ने गर्थे । बाल्यकालमा कसैले ‘कुकुर’ भनेको पनि सुनेको थिइनँ । गाउँबाट कालापहाड जाँदासम्म परिचय दिनुपर्‍यो भने कविराम भन्थेँ । कालापहाड बसेर रोपाइँ गर्न गाउँ फर्किएको बेला २०४६ जेठ १० मा गाउँमा नागरिकता टोली आएको रहेछ ।

टोली मेहेलतोली गाउँ पञ्चायतको कार्यालयमा बसेको थियो । कालापहाडमा पनि ‘तिम्रो नागरिकता परिचयपत्र छैन ?’ भनेर सोध्थे । त्यसैले नागरिकता टोली भेट्न म बाबुसहित गाउँ पञ्चायतको कार्यालय पुगे । सरकारी टोलीले गाउँमा लेखपढ गर्न जानेकाहरूको सहयोगमा नागरिकता विवरण भरिरहेका थिए । मेरो नागरिताको विवरणमा प्रधानपञ्च बखतबहादुर खड्काले सिफारिस गर्नुभएको थियो । उहाँहरूले सिफारिस गर्दा कविराम नलेखी ‘कुकुर कामी’ लेखिदिनुभएछ । मलाई लेखपढ गर्न आउँदैन । मेरो नागरिकतामा कविराम नै नाम होला भन्ने लागेर खुसी भएर घर पुगे । त्यसको झन्डै ६ महिनापछि बिहे दर्ता गर्न जाँदा दर्ता अधिकारीले ‘कुकुर कामी’ भनेपछि म झसंगै भए । त्यतिबेला नागरिकता सच्याउन मिल्दैन भनेर उहाँले नै भनेपछि मैले पनि आस मारेको थिएँ । नागरिकताकै आधारमा मतदाता परिचयपत्र, लालपुर्जालगायत कागजात बन्ने भएकाले मेरा सबै प्रमाणपत्रमा ‘कुकुर कामी’ रह्यो । गाउँलेले सबैले ‘कुकुर कामी’ भनेर थाहा पाए । केही छिमेकीले त बाटोमा कुकुर देख्दा ‘तेरो मीत आयो’ भन्दै जिस्काउँथे ।

छोराछोरी हुर्कंदै गएपछि बाबुको नाम भन्न लाज मान्न थाले । कसैले कसको छोरा हो भन्दा ‘बाबुको नाम नभनी बाजे भुन्टोको नाति’ भन्दा रहेछन् । उनीहरूलाई कुकुरको छोराको परिचय दिनुभन्दा भुन्टोको नाति भन्न सजिलो लाग्दो रहेछ । बाबुको नाम ‘कुकुर’ भएपछि ५ छोराछोरी र बुहारीले नागरिकता बनाउन मानेनन् । अब मेरो नाम सच्चिएपछि उनीहरू पनि खुसी छन् । छोराहरू पप्पु, शिवराज, बुहारी निशा, सरिता र छोरीहरू बाँकी उमेर पुगे पनि नागरिकता बनेको छैन । दुई छोरा र एक बुहारीको नागरिकता मेरो नामबाट बनेको छ । गाउँमा खानलाउन पुग्दैन । खेतीपाती गरेर २ महिना पनि नपुग्ने भएपछि म परिवार लिएर कालापहाड गएँ । भारतको सिम्लामा झन्डै २५ वर्ष बिताइयो । छोराछोरी हुर्केपछि गाउँमै मजदुरी गर्न थाले । अहिले हामी सबै परिवार गाउँमै छौं ।

संयोगले दैलेख सदरमुकामबाट आउनुभएका पत्रकार अम्मर सुनारसँग साउन १५ मा गाउँमै भेट भयो । उहाँले नाम सोध्नुभयो । मैले ‘कुकुर कामी’ भनें । उहाँ दंग पर्नुभयो । त्यतिबेला नागरिकताको फोटो खिच्नुभएको थियो । मेरो नागरिकता र फोटो सार्वजनिक भएपछि टाढा रहेका आफन्तहरूले फेसबुकमा देख्यौं भन्दै छोरा बुहारीलाई फोन आउन थालेछ । त्यसपछि समाचार पनि आएछ । सबैतिर मेरो नामको चर्चा भयो । प्रशासन कार्यालयले नागरिकता सच्याउन प्रक्रिया पूरा गरेर आउन भन्दै खबर पनि पठायो । त्यसयता नाम सच्याउन आउने क्रममा झन्डै १२ हजार रुपैयाँजति खर्च भयो ।

जिल्ला प्रशासन कार्यालयमा साउन २४ मा सीडीओ हरि प्याकुरेलसँग भेट पनि भयो । उहाँले नागरिकता सच्याउन चाहिने कागजातको लिस्ट दिनुभयो । वडा कार्यालयको सिफारिस र गाउँपालिकाको समन्वयमा सबै कागज तयार गरेर प्रशासन कार्यालयमा आज (आइतबार) बुझाएको थिए । आजै सीडीओ सा’बकै कोठामा नाम सच्याइएको नागरिकता पाएँ । यो दिन आउला भन्न सोचेको पनि थिइनँ । आज घरमा ठूलो भोज गर्ने तयारी छ । अब समाजमा सम्मानजनक तरिकाले बाँच्न पाउने भएँ । पहिले जन्मिएको मात्र थिए । अहिले नागरिकता पाउँदा पुनर्जन्म पाएको अनुभूति गरेको छु ।

अब श्रीमती, छोराछोरी र बुहारीले पनि आफ्नो नागरिकतामा कविराम लेख्न पाउने भए । नागरिकता प्रमाणपत्र लिएर आजै घर पुग्छु । घरमै खुसियाली मनाउँछु ।

(कुराकानीमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?