कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आश्रममा सन्नाटा

हरेक पटक आश्रम आउँदा गिरी जनजीविकाका सवालमा चिन्ता गर्थे, जनतामा आत्मविश्वास नआउन्जेल, सरकार हाम्रो हो भन्ने बोध नहुन्जेल व्यवस्थामा परिवर्तन आउँदैन भन्थे
भरत जर्घामगर

सिरहा — लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । 

आश्रममा सन्नाटा

यहाँ अहिले २०५२ सालदेखि काम गर्दै आएकी भान्से ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामा र आश्रमबाटै कलेजमा अध्ययनरत भुवन, रमेश र सुदीप मात्र छन् । काठमाडौंको खबरले उनीहरूको अनुहारको रङ उडेको छ । गम्भीरमान २०३७ सालदेखि नै गिरीको संगतमा छन् । ‘सधैंजसो १२ देखि १५ जनाको खाना पकाएर खुवाउने जाँगर अहिले मरेको छ, मन कुँडिएको छ,’ जितनी भन्दै थिइन्, ‘३२ वर्षअघि स्थापना गरेको आश्रममा अहिलेजस्तो सन्नाटा कहिल्यै छाएको थिएन ।’

भारतका जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार गिरीले २०४८/४९ सालताका आफैंले बिरुवा रोपेर आश्रम स्थापना गरेका थिए । त्यसको १० वर्षपछि पुनःस्थापना गरे । स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उनले पशुपालन सुरु गरे । अहिले पनि आश्रममा दुधालु भैंसी छन् । एकताका पशुपालन मधेसको पहिचानसँगै आम्दानीको स्रोतका रूपमा जोडिएको थियो ।

जन्मथलो बस्तीपुर आउँदा अधिकतर समय आश्रममै बिताउँथे गिरी । उनका समकालीन ७१ वर्षीय कुमुदरन्जन बराल भन्छन्, ‘प्रदीप दाइ जहिल्यै नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवं धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्नुहुन्थ्यो ।’ उनका अनुसार कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि बालुवाटार आउजाउ बढ्यो । टिकट वितरणमा उनको भूमिका कमजोर भयो । ‘जसले गर्दा प्रदीप दाजु स्वयंले टिकट पाउनुभएन,’ बराल सम्झन्छन्, ‘जब किसुनजीको हारपछि गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो, त्यतिखेर किसुनजीलाई प्रदीप दाजुले भन्नुभएको थियो– अबका दिन नेपालको इतिहासमा काला अक्षरले लेखिनेछन्, म मेरो पर्ती जमिनमा वृक्षरोपण गर्न जान्छु, तपाईंको निम्ति पनि सानो घर बनाइदिन्छु, मौका मिले आउनुहोला ।’ त्यसपछि नै गिरी बस्तीपुर आएको उनी बताउँछन् । ‘जमिनको नापजोख सुरु भयो । कहाँ के बनाउने योजना बनायौं,’ बरालले भने, ‘त्यत्तिखेर जुगेश्वर यादव, गंगाबहादुर राउत, अर्जुन गिरी, सुरेश गिरी, सुमन बराल, गोविन्द यादव, राम प्रसाद, राजकुमार साह, श्यामसुन्दर तातीलगायतको सहयोगबाट वृक्षरोपण गर्‍यौं ।’

आश्रमको जग्गा गिरीको मूलथलो बस्तीपुरबाट झन्डै एक किलोमिटर दूरीमा छ । पर्ती जग्गामा भदैया, पिडरबोनी, बस्तीपुर, लक्ष्मीनियाँतिरका बस्तुभाउको चरनस्थल थियो । पछि वृक्षरोपण गरिसकेपछि आश्रमले मूर्तरूप लियो । खेतीपातीका लागि सफिद मियाँलगायत जोडिए । वृक्षरोपणपछि आश्रममा जस्ताले छाएको तीन कोठाको घर निर्माण भयो । एउटा कोठामा पुस्तकालय राखियो । बराल भन्छन्, ‘त्यही घरमा किसुनजी आएर धेरै दिनसम्म बस्नुभयो ।’ पछि घेराबेरा हुँदै जस्ताका केही घर निर्माण भए । आश्रमको रूप लिन थालेपछि मित्र सेवा आश्रम र गान्धी आश्रमसमेत भनिन थालियो । आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् ।

हरेक पटक आश्रम आउँदा गिरी आफैं सामूहिक श्रममा तल्लीन हुन्थे । पछिल्लो पटक आश्रमको हेरचाह शम्भुकुमार यादव, सुरेश गिरी, दीपेन्द्र हमाल र गम्भीरमान लामाले गर्दै आएका छन् ।

साविक बस्तीपुर गाविस ६ (हाल लहान नगरपालिका–१४) मा २००२ सालमा राजनीतिक घरानाका मित्रलाल गिरी र पुण्यप्रभाका माहिलो छोराका रूपमा जन्मिएका हुन् गिरी । उनका पाँच भाइ र तीन दिदीबहिनी छन् । नागरिकतामा भने उनको जन्ममिति २००६ साल लेखिएको छ ।

१३ वर्षको उमेरमा बस्तीपुर माविबाट एसएलसी उत्तीर्ण गरेका गिरीले भारतको काशी विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पास गरेका छन् । काशी विश्वविद्यालयमा बीए अध्ययन गर्दाताका प्रजातान्त्रिक युवा दलमा आबद्ध भए । २०२४ सालमा त्यही संगठनको उपाध्यक्ष भए । नेपाल आउँदा पक्राउ परेपछि २ वर्ष जेल परे । जेलबाट छुटेपछि बीपीलाई भेट्न बनारस पुगे र सशस्त्र आन्दोलनको सहयोगी बने । २०३६ सालमा बहुदलको पक्षमा भोट माग्दा २ दिनअघि नै पक्राउ परेका उनी फेरि २०४२ सालको सत्याग्रहमा समातिए । २०४५ सालमा पनि उनी पक्राउ परेका थिए ।

गिरी २०५१ को आमनिर्वाचनमा पश्चिमी सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने पहिलो र दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सभासद भए । २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी सिरहा १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : भाद्र ५, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?