नाउँ सच्याउन गाउँ पुग्यो टोली- समाचार - कान्तिपुर समाचार

नाउँ सच्याउन गाउँ पुग्यो टोली

जिल्ला प्रशासन कार्यालयको टोली मुचुल्का उठाउन पठाइएको प्रमुख जिल्ला अधिकारीको भनाइ 
ज्योति कटुवाल

दैलेख — नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका भगवतीमाई–३ का कविराम बिश्वकर्माको नागरिकता सच्याउन प्रक्रिया सुरु भएको छ । कविरामले नागरिकतामा आफ्नो नाम अपमानजनक लेखिएको भन्दै ९ दिनअघि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

उक्त निवेदनअनुसार सच्याउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै मुचुल्का उठाउन पठाइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनीसहित भगवतीमाई–३ का कर्णबहादुर बिश्वकर्माले पनि नागरिकता सच्याउन निवेदन दिएका छन् ।

कविरामको नागरिकतामा ‘कुकुर’ र कर्णबहादुरको ‘ठगे कामी’ लेखिएको छ । ‘नाममै अपमान’ समाचार प्रकाशन भएपछि गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले ११ स्थानीय तहमा यस्ता नामबाट अपमान खेप्नुपरेका व्यक्तिहरूलाई नागरिकता सच्याउन भन्दै सूचना जारी गरेको थियो । ‘त्यो सूचना आउनबित्तिकै जिल्ला प्रशासन पुगें,’ कविरामले भने, ‘वडा कार्यालयको सिफारिस पनि प्रशासनमा बुझाइसकेको छु ।’

आफ्नोसँगै ५ छोराछोरीको नागरिकतामा पनि आफ्नो नाम सच्याउन चाहेको उनले बताए । उनकी माइली बुहारी निशाले ससुराको नागरिकता बन्नासाथ आफ्नो बिहे दर्ता र छोराको जन्मदर्ता बनाउने बताइन् । ‘बिहे भएको यतिका वर्ष हुँदा पनि श्रीमान्ले नागरिकता नबनाएकै कारण मैले विवाह दर्ता गराएको छैन,’ उनले भनिन्, ‘ससुराको नाम सच्चिए हामीलाई पनि आत्मसम्मान हुने थियो ।’

कविराम पुगे सीडीओ कार्यालय

कविरामको नाम सच्याउन जिल्ला प्रशासन कार्यालयले आफ्नो प्रक्रिया थालिसकेको जनाएको छ । ‘सम्बन्धित व्यक्तिले कागजात ल्याउन ढिला गरेकाले समय लागेको हो,’ प्रजिअ प्याकुरेलले भने, ‘यस्ता अपमानजनक नामले समस्या भोगेकाको सोझै मुचुल्का र सिफारिस पठाउन अनुरोध गरिएको छ ।’

कविरामले यसै साता नयाँ नागरिकता पाउने उनले जानकारी दिए । जिल्ला प्रशासनले जारी गरेको सूचनापछि अरू तीन कार्यालयमा आएको उनको भनाइ छ । ‘कुकुर र ठगे मात्र हैन गुखाने, कुत्ता, फ्याउरो, लुते, गुइचे, कुजो, डेडो, कालो, नीलाजस्ता सबै नाम परिवर्तन हुन्छ,’ उनले भने, ‘उनीहरूले नाता प्रमाणित र प्रहरी मुचुल्का समयमा नल्याएकाले केही ढिलाइ भएको हो, अब एक सातामै निवेदन आएका सबैको नाम सच्याएर नयाँ नागरिकता दिइन्छ ।’

कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमले निरक्षर दलितका नागरिकतामा नाम यस्तोसम्म लेखिदिएका छन्– सिंगाने कामी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी ।

यस्तै दुल्लु नगरपालिका–१ निवासी ३५ वर्षीय कुलबहादुर बादीलाई आफ्नै नागरिकता बोकेर हिँड्दा अपमानबोध हुन्छ । नहोस् पनि किन, २०४४ सालमा जन्मेका कुलबहादुरको नागरिकतामा नाम, थर ‘फ्याउरो बादी’ लेखिएको छ । २०६४ मा बनाएको नागरिकतामा शाखा अधिकृत मेगनाथ पाध्याले निर्धक्क हस्ताक्षर धस्काएका छन् ।

कुलबहादुरको जस्तै समस्या श्रीमती मदनालाई पनि छ । किनकि उनको नागरिकतामा ‘हाकिम’ ले मदन लेखिदिए । नागरिकता टोलीलाई मदनाले सही नाम नै भनेकी थिइन् । तर असंवेदनशील टोलीले मदन लेखिदियो, यो पनि उनले धेरै पछि मात्रै थाहा पाइन् । जसका कारण उनले पाइलापाइला सफाइ दिनुपर्ने परिस्थिति बनेको छ । अझ श्रीमान्लाई झनै आपत् परिरहेको उनी बताउँछिन् ।

रुकुम पश्चिम आठबिस नगरपालिका–३ का एक नागरिकको प्रमाणपत्रमा त ‘कुत्ता बादी’ लेखिएको छ । ६१ वर्षीय उनी आफ्नै नागरिकताका कारण अपमानित छन् । दुर्गम भेग र निरक्षर पृष्ठभूमिका उनलाई आफ्नो असली नाम के थियो भन्ने पनि थाहा छैन । नागरिकतामै लेखिएको नाम काढेर उनलाई स्थानीयले बोलाउँछन् । तर उनी विरोध गर्न सक्दैनन् । कथित तल्लो जातका मानिसलाई हेयको दृष्टिले राखिदिएका नाममा सरकारी अधिकारीले ठप्पा लगाइदिए, जसले एक नागरिकको स्वाभिमानमा चोट लागेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ४, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

फजुल खर्च कटौतीपछि उदयपुर सिमेन्ट नाफातिर

चन्दा, उपहार र सित्तैमा सिमेन्ट दिन रोकिएको छ, कर्मचारीलाई दिइने अनावश्यक काज रोक्दा पनि खर्च कटौती भएको हो –गोपीकृष्ण न्यौपाने, महाप्रबन्धक, उदयपुर सिमेन्ट
डिल्लीराम खतिवडा

उदयपुर — तीन दशकअघि जडित उपकरण (औजार, पार्टपुर्जा) को मर्मत सम्भारपछि उदयपुर सिमेन्ट उद्योगले पुन: गति लिएको छ । मर्मत सम्भार नै नगरी जबर्जस्ती सञ्चालन गरिँदा यसअघि उद्योग लगभग बन्द हुने अवस्थामा पुगेको थियो । उपकरणको मर्मत सम्भार र फजुल खर्च कटौतीपछि उद्योगले गत आर्थिक वर्ष ०७८/७९ मा ९० दशमलव ५२ प्रतिशत उपलब्धि प्राप्त गरेको हो । उक्त आर्थिक वर्षमा उद्योगले २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरेको थियो । उद्योगले २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो ।

पूर्ण सरकारी स्वामित्वको सिमेन्ट उद्योग झन्डै ३० वर्ष पुरानो मिल र मेसिनरीको भरमा सञ्चालन हँुदै आएको छ । उद्योगले रोपवे, रोपवेको टावर, सेकेन्डरी क्रसर ह्यामर परिवर्तन, र–मिलको टायर, बियरिङ, लाइनर, हाइड्रोलिक सिलिन्डर, नचलेको रोलरमा सोलोनाइड भल्ब, जीसीटी पम्प, कोन, नोजललगायत १६ वटा उपकरण मर्मत गरेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जनाए ।

‘उपकरण मर्मतले उत्पादन वृद्धि भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘तर पनि बजारमा सिमेन्टको माग उच्च हुँदाहुँदै पनि कहिलेकाहीँ माग धान्नै सकिँदैन ।’ इन्धनको मूल्य एवं कर्मचारीको तलब वृद्धि भइरहेको छ । तर उद्योगले गत आर्थिक वर्षमा सिमेन्टको मूल्य बढाएन । उद्योगको उत्पादन ‘गैंडा छाप’ सिमेन्टको मूल्यवृद्धि नहुँदा निजी उद्योगले समेत बिक्री मूल्य बढाएनन् । त्यसको लाभ उपभोक्ताले पाए ।

मर्मत सम्भारमा ध्यान दिनु, फजुल खर्च कटौती र उत्पादनमा जोडले उद्योग सही मार्गमा आएको प्रवक्ता पोखरलको भनाइ छ । ०७८/७९ मा उद्योगले भ्याटबापत १८ करोड ८२ लाख ६२ हजार २ सय २७ रुपैयाँ बुझाएको छ । अन्त:शुल्कबापत २ करोड ३८ लाख ९६ हजार ६ सय ९ रुपैयाँ राजस्व तिरेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

उद्योगले अग्रिम कर १ करोड ६० लाख २९ हजार ९ सय ७९, रोयल्टी ८३ लाख ५२ हजार ५ सय ८०, प्रदूषण शुल्क ५४ लाख ३२ हजार, विद्युत् महसुल २० करोड ७५ लाख ४० हजार गरेर ४४ करोड ९५ लाख १४ हजार रुपैयाँ करबापत बुझाएको छ । उद्योगले ०७७/७८ मा दैनिक औसत २ सय ४२ दशमलव १६ टन अर्थात् ४ हजार ८ सय ४४ बोरा उत्पादन भएकामा ०७८/७९ औसत ३ सय ६२ दशमलव शून्य ७ टन अर्थात् ७ हजार २ सय ४२ बोरा सिमेन्ट उत्पादन भएको छ । ०७७/७८ को तुलनामा ०७८/७९ मा ४९ दशमलव ५० प्रतिशत उत्पादन वृद्धि भएको छ ।

उद्योगमा करिब ५६ करोड रुपैयाँ थप लगानी गर्न सके प्रतिदिन ११ सय टनसम्म क्लिंकर उत्पादन गर्न सकिने गरी उद्योगको अपग्रेडेसन सम्भव भएको विज्ञको रिपोर्टबाट देखिएको छ । ०७७/७८ सम्म ३० प्रतिशतभन्दा कम उत्पादन रहेको स्थितिमा ०७८/७९ मा ३९ दशमलव १९ प्रतिशत उत्पादन हुनु उपलब्धि भए पनि उद्योगलाई नाफामा लैजान ५० प्रतिशतभन्दा बढी उत्पादन हुनैपर्ने तथ्यांकले पुष्टि गरेको बताइएको छ ।

चन्दा/उपहार र सित्तैमा सिमेन्ट दिने कार्य कटौती गरिएको छ । यसले फजुल खर्च रोकिएको महाप्रबन्धक न्यौपानेले बताए । उद्योगको वित्तीय विवरण एनएफआरएसअन्तर्गत बनेकाले ५ अर्ब ५० करोड घाटा पूर्ति भई ५६ करोड सञ्चित नाफा कायम भएको महाप्रबन्धक न्यौपानेले बताए । ‘कर्मचारीलाई दिइने अनावश्यक काज रोक्दा पनि खर्च कटौती भएको हो,’ उनले भने ।

प्रकाशित : भाद्र ४, २०७९ ०६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×