३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नागरिकता विधेयक ठिक छैन भन्ने सांसदलाई लागेको छ, पार्टी बन्धनले बोलेनन् : कांग्रेस सांसद चौधरी

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले नागरिकता विधेयक ठिक नभएको बताएकी छन् । सत्तारुढ दलका अरु सांसदहरूलाई पनि नागरिकता विधेयक राम्रो नभएको लागे पनि पार्टीको बन्धनले विरोधमा बोल्न नसकेको चौधरीको भनाइ छ । 

नागरिकता विधेयक ठिक छैन भन्ने सांसदलाई लागेको छ, पार्टी बन्धनले बोलेनन् : कांग्रेस सांसद चौधरी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसलाई राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा सांसद चौधरीले आफूले निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा मतदान गरेपनि नागरिकता विधेयक राम्रो नलागेको कुरा भन्नैपर्ने बताइन् ।

'नागरिकता विधेयकलाई दलको हिसाबले समर्थन गरौंला तर व्यक्तिगत हिसाबले, मेरो आत्माले ठिक मानेको छैन भन्ने कुरा राख्न चाहन्छु । किनभने आज सबै नागरिक आन्दोलित छन् । हामी यो चुनावको समयमा किन पारित गरिरहेका छौं ? पाँच महिना पछि त नयाँ सरकार नयाँ सदन आइहाल्छ । सात वर्ष ढिला गर्‍यौं भन्छ । सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् । सात वर्षसम्म ढिलाइ कसको कारणले भयो ? त्यसको क्षतिपूर्ति कसले दिने ?,' उनले भनिन्, 'नागरिकता विधेयक ठिक छैन भन्ने धेरै सांसदलाई लागेको छ तर पार्टीको बन्धनले उहाँहरूले बोल्न सक्नुभएको छैन । पार्टीभन्दा माथि उठेर मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु ।'

सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकताबारे समयसीमा राख्नैपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता प्राप्त गर्ने समयावधि राख्नुपर्ने अधिकांका सांसदहरूको रहेको दाबी गरिन् । नेपालमा विवाह गरेर आउनेजतिलाई नागरिकता दिने व्यवस्था गर्न नहुने उनको धारणा थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना नगर्न पनि सांसद चौधरीले आग्रह गरिन् । उनले नागरिकता विधेयक फिर्ता पठाउने राष्ट्रपतिको कदम ठीक र संवैधानिक रहेको धारणा राखेकी थिइन् ।

प्रकाशित : भाद्र २, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?