कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले बडो राम्रो निबन्ध लेख्नुभयो : कर्ण 

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्न लेखेको सन्देश असान्दर्भिक रहेको बताएका छन् । नागरिकता विधेयकसँग असम्बन्धित कुरा सन्देशमा लेखेकाले संसद्‍मा छलफल गर्न पनि आवश्यक नभएको तर राष्ट्रपतिको सम्मानका लागि बोल्नुपरेको कर्णको भनाइ थियो । 

नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले बडो राम्रो निबन्ध लेख्नुभयो : कर्ण 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसम्बन्धमा राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा कर्णले बरु संविधान संशोधन गर्न भनेको भए राम्रो हुन्थ्यो भनेका छन् ।

'नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनुभएको छ, ठीकै छ । संविधानले अधिकार दियो, फिर्ता पठाउनुभयो । हामीले सम्मान गर्‍यौं र आज छलफल गर्दैछौं, यसको जरुरी थिएन । राष्ट्रपतिले यसलाई फिर्ता पठाउनुभएको कारणबाट फेरि छलफल गर्दैछौं,' लोसपाका सांसद कर्णले भने, 'राष्ट्रपतिले फिर्ता पठाउनुभएको ८ बुँदे सन्देश यो विधेयकसँग कहाँ सम्बन्धित छ ? कुन ठाउँमा सम्बन्धित छ ? मैले पढ्दै गर्दा बडो राम्रो निबन्ध लेख्नुभएको लाग्यो ।'

संविधानमा नागरिकतासम्बन्धी व्यवस्था भएको र त्यसअनुसार नै विधेयक ल्याएको भन्दै कर्णले संविधानमा लेखेको कुरालाई विधेयकले संशोधन गर्न नसक्ने कुरा स्मरण गराए । उनले भने, 'संविधानमा लेखेको कुरालाई विधेयकबाट संशोधन हुन्छ ? के को छलफल गर्ने ? सरकारले एउटा सत्प्रयास गरेको छ । यत्रो व्यक्तिको आँशु पुछ्ने काम गरेको छ । यसलाई कुनै पनि बहानामा लम्ब्याउन हुन्न ।'

नागरिकताका विषयमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरूले स्वीकार गरेका विषय विधेयकमा रहेको कर्णको भनाइ थियो । 'प्रमुख प्रतिपक्षी पनि यो कुरालाई अध्यादेश ल्याएर स्वीकार गरेको अवस्था हो कि होइन ? नागरिकता विधेयकको प्रतिवेदनमा वैवाहिक अंगीकृतमा संसद्मा असहमतिसाथ पेस भएको कारणले त्यसलाई थाती राखौं, बाँकी कुरा ल्याउँ भनिएको होइन ? आज पनि सरकारले त्यै कुरा गरेको हो । आज पनि पटकपटक राष्ट्रिय सहमति हुँदा फेरि राष्ट्रिय सहमतिका कुरा सुन्दाखेरि बडा अप्ठ्यारो लागिराख्या छ,' उनले भने, 'एकचोटी ध्यान दिउँ सात लाख मान्छे बेरोजगार भएर बस्या छ । पढ्न पाएको छैन । विदेश काम गर्न जान पाएको छैन, नागरिकताको अभावमा । सवारी लाइसेन्स पाएको छैन । कस्तो जिवन होला ? तर फेरि त्यसलाई टार्ने हामी गर्दैछौं भने कति असंवेदनशील विषय हो । सात लाख मान्छे रोइराख्याछन्, कराइराख्याछन्, सडकमा आइराख्याछन् । हामी भन्छौं राष्ट्रिय सहमति गरौं ?'

जन्मसिद्ध नागरिकताका विषयमा विधेयकमा संविधानको व्यवस्था नै उल्लेख गरिएकाले विवाद गर्नु ठीक नभएको कर्णको भनाइ थियो ।

प्रकाशित : भाद्र २, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?