कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयकबारे ओली- जस्ताको तस्तै फिर्ता गर्ने गठबन्धनको निर्णयपछि संसद्‌मा के छलफल हुन्छ ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे सत्तारुढ गठबन्धनले जस्ताको तस्तै फिर्ता गर्ने निर्णय लिएर बहुमतको घमण्ड देखाएको बताएका छन् । 

नागरिकता विधेयकबारे ओली- जस्ताको तस्तै फिर्ता गर्ने गठबन्धनको निर्णयपछि संसद्‌मा के छलफल हुन्छ ?

पार्टी प्रवेश कार्यक्रममा ओलीले बुधबार नागरिकता विधेयकबारे संसद्मा छलफल हुनुपर्नेमा संसद् बाहिर नै निर्णय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

'नागरिकता विधेयक राष्ट्रपतिले संसद्ले एकपटक विचार गरोस्, कमी कमजोरी नरहोस्, यो धेरै गम्भीर विषय हो भनेर फिर्ता पठाउनुभयो । संसद्मा होइन बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनुभएपछि पाखुरा सुर्केर, मसल छामेर राष्ट्रपतिले फिर्ता पठाउने जस्ताको तस्तै फिर्ता पठाइदिने हिजो निर्णय गरे । संसद्मा छलफल हुनै बाँकी छ,' उनले भने, 'के छलफल हुन्छ अब ? पाखुरेहरूले पाखुराको भाषा बोलिसके, हिजै जस्ताको तस्तै फिर्ता पठाइदिने, बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति संसद्लाई विचार गर्न भन्ने भनेर यस्ता घमण्डीहरूले तार्किक होइन बल, पाखुरा र मसलका कुरा गर्ने ? यस्ताले देश चलाउछन् ।'

नागरिकता विधेयकमा राम्रा र नराम्रो कुराको ख्याल नगरी फिर्ता पठाउने गठबन्धनको निर्णय सही नभएको ओलीको भनाइ थियो । उनले संसद्मा छलफल हुनुपर्ने र बाहिर निर्णय गर्नु संसदीय व्यवस्था नभएको बताए । उनले भने, 'संसद्मा गठबन्धनका पार्टी होलान् नि ? त्यहाँ छलफल गरे हुन्छ नि ! निर्णय त भइसक्यो उनीहरूको, छलफल नगर्ने जस्ताको तस्तै पठाउने ।'

संघीय संसद्का दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनको अध्ययनपछि प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उनले साउन २९ गते पुनर्विचार गर्नका लागि भन्दै नागरिकता विधेयक फिर्ता गरेकी हुन् ।

प्रकाशित : भाद्र १, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?