कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लहडी वामदेवको बिसौनी

गौतमको महत्वाकांक्षा भनेको अझै पनि कुनै राजनीतिक उतारचढावकाबीच प्रधानमन्त्रीको कुर्सीमा बस्न पाइहालिन्छ कि भन्ने हो । यसका लागि एमालेमा उनलाई उमेरको हदबन्दी लागि सकेको छ ।त्यसैले उनको महत्वाकांक्षालाई राजनीतिक बजारमा दाम बढाबढ गर्ने सकिने उपयुक्त स-जातीय बिसौनी भनेको माओवादी केन्द्र नै थियो । जुन पार्टीको 'गोलाकारभित्रको हँसिया हथौडा' उनका घनिष्ठ मित्र पुष्पकमल दाहालको एकल लयमा चल्छ ।
मणि दाहाल

काठमाडौँ — २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बर्दियाबाट पराजित भएपछि राजधानी फर्किएका तत्कालीन एमाले नेता वामदेव गौतम विमानस्थलबाट सिधै नयाँबजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका थिए । दाहाललाई भेट्नेबित्तिकै गौतमले आक्रोशपूर्ण प्रश्न तेर्स्याए– ‘मलाई चुनाव किन हराउनुभयो ?’

लहडी वामदेवको बिसौनी

माओवादीकी सरला रेग्मीले बर्दिया–१ बाट गौतमलाई पराजित गरेकी थिइन् । दाहाल भूमिगत छँदैबाट विशेष सम्बन्ध राख्दै आएका गौतमलाई चुनावमा माओवादीकै अप्रत्यक्ष सहयोग होला भन्ने अपेक्षा थियो । त्यसमा पनि दाहालले आफूलाई सहयोग गर्लान् भन्ने गौतमको अपेक्षा थियो । तर गौतम आफ्नै गृहजिल्लामा पराजित भएपछि ‘घनिष्ट मित्र’ सँग दु:खमनाउ गर्न सिधै दाहाल निवास पुगेका थिए । त्यसबेला एमाले स्थायी कमिटी सदस्य रहेका गौतम र माओवादी अध्यक्ष दाहालबीच भएको त्यो संवादले राजनीतिक वृत्तमा निकै चर्चा पाएको थियो ।

बीचमा धेरै राजनीतिक घटनाक्रम भए । त्यसमा दाहाल र गौतमको बोली मिलिरह्यो । तर उनीहरूको पार्टीगत हैसियत र चुनावी मोर्चा अलग–अलग थिए । मंगलबारबाट भने दाहाल र गौतम चुनावी मोर्चामा सँगै हुने भएका छन् । दाहाल र गौतमको जोडी दुई ज्यान एक मुटुमा परिणत भएको छ । एमालेमै रहँदा गौतमले धेरै पटक पार्टीका बैठकमा ‘माओवादी’ उपमा पाएका थिए । अब भने उनी माओवादीकै चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्ने भएका छन् । उनले नेकपा एकता राष्ट्रिय अभियान नामको आफ्नो पार्टीको अस्तित्व चाहिँ राखिराख्ने भएका छन् ।

पहिलो संविधान चुनावपछि माओवादी र एमालेको संयुक्त सरकार बन्दा एमालेले गौतमकै नेतृत्वमा मन्त्रीहरू पठाएको थियो । सरकारमा रहँदा प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री गौतमको जोडी जमेको थियो । प्रधान सेनापति रुक्मांगत कटवाललाई हटाउने प्रकरणमा दाहाललाई गौतमको साथ थियो ।

गौतमलाई नजिकबाट चिन्नेहरूका अनुसार माओवादी अध्यक्ष दाहालप्रति उनको यो झुकाव नयाँ होइन । उनीहरूको सम्बन्ध आम मानिसले बुझ्ने गरी बेलाबखत सतहमा आउने गरेको छ । माले महासचिव सीपी मैनाली पनि माओवादीप्रति गौतमको झुकाव नौलो नभएको बताउँछन् । ‘माओवादीप्रति वामदेव गौतमको झुकाव सुरुदेखि नै हो । २०५८ मा मालेबाट एमालेमा फर्किएपछि अझै बढी झुकाव भएको देखिन्छ,’ उनले भने, ‘गौतम एमालेमा फर्किए पनि उनका धेरै कार्यकर्ता माओवादीतर्फ लागेका थिए ।’

गौतम र मैनालीले २०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरेका थिए । मालेमा हुँदै गौतमले देवी ओझाका साथमा रोल्पा पुगेर माओवादी नेतृत्वसँग संवाद गरेका थिए । ‘त्यति बेला उहाले सिलिगुडी गएर पनि माओवादीसँग भेट गर्नुभएको थियो,’ नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभागका प्रमुख नीमकान्त पाण्डेले भने, ‘मालेकालमा पनि गौतमलाई एकताका लागि माओवादीले प्रस्ताव गरेको थियो । पछि माले र एमालेले मिलेपछि पनि प्रस्ताव आएको थियो ।’

मालेले २०५७ मंसिर २३ मा राष्ट्रिय सम्मेलन उद्घाटनका अवसरमा खुलामञ्चमा आमसभा आयोजना गरेको थियो, जसमा गौतमले दाहाललाई सौर्य र ऊर्जाले भरिपूर्ण नेता भन्दै प्रशंसा गरेका थिए । एउटा कम्युनिस्ट पार्टीको प्रमुखले अर्को कम्युनिस्ट पार्टीको समकालीन नेतालाई प्रशंसा गरेको त्यो निकै दुर्लभ घटना थियो । २०५२ सालमा सशस्त्र विद्रोह सुरु गरेको माओवादी त्यतिबेला राज्यको कठोर दमन झेल्दै निकै कठिन अवस्थाबाट गुज्रिरहेको थियो । उसले मध्य पश्चिमको पहाडी जिल्लाहरूमा समेत राम्रोसँग प्रभाव विस्तार गर्न सकेको थिएन । एमालेबाट फुटेको माले माओवादीको संगठन विस्तारका लागि सञ्जीवनी बन्यो ।

२०५६ सालमा भएको प्रतिनिधिसभा चुनावमा मालेले एक सिट पनि जित्न सकेन र त्यसबाट निराश भएका गौतम २०५८ सालमा एमालेमै फिरे । गौतम एमालेमा फर्किए पनि उनीसँग रहेका धेरै कार्यकर्ता माओवादीतर्फ लागे । माओवादीलाई सहर तथा नगर क्षेत्रमा विस्तार गर्न मालेबाट आएकाहरूले ठूलो भूमिका खेले । सशस्त्र विद्रोहको गुणात्मक विस्तार पनि भयो । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि एमालेबाट गौतमले नै माओवादीसँग वार्ता गर्ने अवसर पाए । उनले एमाले नेता युवराज ज्ञवालीसहित रोल्पा पुगेर माओवादीसँग वार्ता गरे । शान्तिपूर्ण खुला राजनीतिमा माओवादीलाई ल्याउन सहयोग गर्नेमा गौतम पनि थिए । त्यही बेला झांगिएको सम्बन्ध माओवादी खुला राजनीतिमा आएपछि पनि जारी रह्यो ।

प्रधानसेनापति प्रकरणमा दाहालले राजीनामा दिएपछि एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री बने । गौतमको सहयोग भने दाहाललाई नै रह्यो । नेपाल प्रधानमन्त्री बनेका बेला माओवादीले राजधानी घेर्ने भन्दै काठमाडौंमा ठूलो प्रदर्शन गरेको थियो । त्यो बेला गौतम र उनीनिकट रहेका ५६ जना नेताले प्रधानमन्त्री नेपालले राजीनामा दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेता नेपालपछि एमालेकै झलनाथ खनाललाई माओवादीसँग गठबन्धन बनाएर प्रधानमन्त्री बनाउन पनि गौतमको भूमिका थियो ।

२०७४ सालको चुनावी मोर्चाबन्दी र त्यसपछि एमाले र माओवादी एकताका लागि पनि गौतमको भूमिका देखिन्थ्यो । तर पार्टी एकता भएर नेकपा बनेपछि उनले कहिले एउटा अध्यक्ष केपी शर्मा ओली र कहिले अर्को अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिए । कहिले यता त कहिले उता गर्ने गौतमको शैली नेकपाभित्र खटपट ल्याउनेमध्येको एउटा कारण थियो । एमालेमा भने गौतम सानो तर निर्णायक मत भएको गुटको नेतृत्व गर्थे । गौतम आफैं एमालेको ‘किङ’ बन्न नसके पनि ‘किङमेकर’ को भूमिका राम्रोसँग निर्वाह गर्न सक्ने अवस्थामा थिए ।

बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा गौतमको साथ पाएर झलनाथ खनाल अध्यक्ष बने भने काठमाडौंमा भएको नवौं महाधिवेशनमा गौतमकै समर्थनमा ओली अध्यक्ष बने । दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दल नेतामा खनाललाई हराउँदै ओलीलाई जिताउन पनि गौतमको भूमिका प्रमुख थियो । गौतमले त्यही काँध फेराइले ओलीलाई पार्टी अध्यक्षदेखि दुई पटक प्रधानमन्त्री बन्नेसम्मको बाटो खोलेको थियो ।

गौतमलाई ओलीले आफूलाई सहयोग गरे संसदीय दल, पार्टी र सरकारमा आफ्नो उत्तराधिकारी बनाउने आश्वासन दिएका थिए । एमालेको नवौं महाधिवेशनमा खनालको साथ छाडेर गौतम ओलीतर्फ पुग्नुमा त्यही आश्वासनले काम गरेको थियो । उनले आफू निकट रहेका नेताहरूसग पार्टी अध्यक्ष भएपछि ओलीले आफ्ना लागि संसदीय दल र निश्चित समयपछि कार्यवाहक पार्टी अध्यक्ष बनाउने आश्वासन दिएको बताउने गरेका थिए । तर त्यो आश्वासन कहिल्यै कार्यान्वयन भएन ।

नेकपाभित्र चलेको शक्ति संघर्षमा कहिले ओली त कहिले दाहाल पक्षमा उभिएर गौतमले विवाद कम गर्नेभन्दा पनि चर्काउने काम गरे । उनले नेकपा भंग हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहित तत्कालीन केन्द्रीय सचिवालयका नौ सदस्य जिम्मेवार रहेको भन्दै आफूसमेतलाई दोषी करार गरे । नेकपाको विवाद चर्किएका बेला गौतमका अभिव्यक्ति चा–चाँडै बदलिन्थे । दुई नेताको टकराव चलिरहँदा गौतमको उत्कट चाहना भने आफू प्रधानमन्त्री हुनेतर्फ थियो । तर चुनाव हारेका कारण प्रधानमन्त्री बन्ने सम्भावना थिएन । कुन विधिबाट संसद् छिर्ने भन्नेमा उनको ध्याउन्न थियो ।

राष्ट्रिय सभाका सांसदलाई पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने वा निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचनमार्फत प्रतिनिधिसभाको सदस्य बन्ने यत्नमा गौतम लागिरहे । समकालीन नेताहरू सबै प्रधानमन्त्री भइसकेकाले पनि जीवन र राजनीतिको उत्तरार्धमा पुगेका गौतममा एकपटक प्रधानमन्त्री हुने रहर निकै थियो । तत्कालीन नेकपाको शक्तिसंघर्षमा उनको प्रधानमन्त्री बन्ने रहर पनि एउटा फ्याक्टर बनेको थियो । गौतमको आकांक्षा बुझेका ओली र दाहालले आफ्नो पक्षमा पार्नका लागि सबै व्यवस्थापन गर्ने भन्दै आश्वासन बाँडिरहे । गौतम ती आश्वासनमा लट्पटिइरहे ।

०७४ सालमा प्रतिनिधिसभा चुनावमा माओवादी र एमालेबीच गठबन्धन हुँदा पनि गौतम सुरक्षित मानिएको क्षेत्रबाट पराजित भएका थिए । चुनावपछि अन्तर्घात भएको भन्दै पार्टीमा निवेदन दिएर छानबिनको माग गरे तर त्यही माग पूरा भएन । त्यसैले उनी दुवै नेतासँग चुनाव हारेको गुनासो गरिरहन्थे । अर्को चुनाव नहुँदासम्म सिंहदरबारमा ढोका बन्द भए पनि उनी संविधान संशोधन गरेरै प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्थे । प्रधानमन्त्रीसमेत भएकाले ओलीले अझै बढी भूमिका खेलेर आफ्नो चाहनामा पूरा गरिदिउन् भन्ने गौतमको चाहना थियो । तर गौतमको चाहना पूरा गर्न ओलीले खासै योगदान गरेनन् । नेकपाभित्रको संघर्षका पछिल्ला दिनमा उनी ओलीविरुद्ध मोर्चाबन्दीमा लागे । ओली मुलुकबाहिर रहेको बेला गौतमसमेतको संलग्नतामा घोबीघाट गठबन्धन बनेको थियो ।

०७७ पुस ५ मा प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा अध्यक्षद्वय ओली र दाहालले समानान्तर गतिविधि गर्न थाले । पार्टी विभाजनको स्पष्ट रेखा कोरिएपछि गौतमले दुवैलाई प्रत्यक्ष सहयोग गरेनन् । बरु ०७७ माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरे, जसमा ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति र एक सय ७५ सदस्यीय कार्यसम्पादन समिति रहेको संगठनात्मक संरचना थियो । गौतमले त्यतिबेला ‘उत्तरतिर फर्किएका केपी ओली र दक्षिणतिर फर्किएका प्रचण्डलाई विपरीत दिशाबाट आमने–सामने बनाउने काम गरेपछि मात्र अभियानले विश्राम लिने’ उद्घोष गरेका थिए । उक्त अभियानले कुनै प्रभावकारी हस्तक्षेप गर्न सकेन, बरु एमाले विभाजनपछि उनको अभियानमा जोडिएका धेरैजसो नेता–कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए ।

सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कहिले ओली त कहिले नेपाल समूहसँग नजिकिए । ०७८ असार १८ मा एमाले (माधव नेपाल पक्षबाहेक) को केन्द्रीय कमिटी बैठकमा उनी सहभागी भए । त्यतिबेला उनले आफू अध्यक्ष ओलीसँग आएको बताएका थिए । ‘म तपाईंकामा आइसकें, अब फर्किन्न,’ उनको भनाइ थियो । त्यतिबेला गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरेका थिए । ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईंलाई चित्त बुझ्ने गरी नै एकता गर्छु,’ उनले भनका थिए, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’

ओलीले चासो नदेखाएपछि गौतमले उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै गत भदौमा पार्टी उपाध्यक्ष र सदस्यबाट राजीनामा दिएर औपचारिक रूपमा दोस्रो पटक एमालेबाट बाहिरिए । ‘म आफैं संलग्न भएर निर्माण भएको एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ ०७८ भदौ १८ मा गौतमले राजीनामा दिँदै भनेका थिए, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

त्यतिबेला एमाले विभाजन भइसकेको थियो । गौतम समकालीन नेता नेपाल र खनालले गठन गरेको एकीकृत समाजवादीमा खुल्ने चर्चा चलेको थियो । नेपाल गौतमलाई एकीकृत समाजवादीमा भित्र्याउन चाहन्थे । तर गौतमले सर्त राखे– दलको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने । गौतमको प्रस्तावमा अध्यक्ष नेपाल सहमत भए पनि खनाल तयार भएनन् । ‘पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्रै राखेर जनताको बहुदलीय जनवाद हटाएपछि म त्यो पार्टीमा गइनँ,’ त्यतिबेला कान्तिपुरसँग गौतमले भनेका थिए ।

एकीकृत समाजवादीमा रहन गौतमले सहअध्यक्षको चाहना पनि राखेका थिए । तर नेपालले सहअध्यक्ष बनाउँदा वरीयता नमिल्ने जवाफ दिए । गौतमले आफू तेस्रो वरीयतामा रहेर सहअध्यक्ष बन्न तयार रहेको बताएका थिए । तर नेपाल त्यसका लागि पनि तयार भएनन् । त्यसपछि एकीकृत समाजवादीमा गौतमको अध्याय बन्द भयो । त्यतिबेलासम्म नेता हरि पराजुली, बलराम बाँस्कोटाले गौतमको साथ छाडिसकेका थिए । तर स्थानीय तहको चुनावमा एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखिदिए । त्यसपछि गौतम राष्ट्रिय राजनीतिमा गुमनाम जस्तै थिए  ।

गौतमले गत असार १४ मा नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरे । त्यसपछि उनले ओली, दाहाल र नेपाल तीनजनै नेतासँग पार्टी एकताको प्रस्ताव राख्दै भेटघाट गरे । तीनै नेताबाट एकताको सम्भावना तत्काल नरहेको जवाफ पाएपछि गौतम कुनै न कुनै रूपमा आफ्नो महत्त्वाकांक्षाको भारी बिसाउने बिसौनीको खोजीमा थिए । उनको महत्त्वाकांक्षा भनेको अझै पनि कुनै राजनीतिक उतारचढावबीच प्रधानमन्त्रीको कुर्सीमा बस्न पाइहालिन्छ कि भन्ने हो । यसका लागि एमालेमा उनलाई उमेरको हदबन्दी लागिसकेको छ । एमालेमा ७० वर्ष कटेका नेताले विश्राम लिने व्यवस्था छ । उनको महत्त्वाकांक्षालाई मूर्तरूप दिन सक्ने उपयुक्त बिसौनी भनेको माओवादी केन्द्र नै थियो । त्यसैले प्यूठानबाट चुनाव लड्ने योजनासहित गौतमले माओवादीसँग चुनावी सहकार्य थालेका छन् । ‘एकता प्राथमिकतामा राखेर वार्ता गर्दा सार्थक हुन सकेन । त्यसपछि चुनावी गठबन्धनको विषय आयो । सबै वामलाई जोड्न पनि सम्भव भएन,’ नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले भने, ‘न्यूनतम एकताको बाटो हामीले देखाएका हौं ।’

०३५ सालमा मुक्ति मोर्चा समूह हुँदै गौतम अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्रमा प्रवेश गरेका थिए । त्यसको केही समयमा नै कोअर्डिनेसन केन्द्रसहित माले बनेको थियो । ०४८ र ०५१ मा बर्दिया १ बाट विजयी भएका गौतमले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्यूठानबाट जितेका थिए । उनी ०५६ र ०६४ को निर्वाचनमा भने बर्दियाबाट पराजित भएका थिए । कम्युनिस्ट राजनीतिमा ५ दशकभन्दा बढी समयदेखि सक्रिय रहेका गौतम केही न केही गरिरहने नेतामा पर्छन् । पार्टी जोड्ने–फोड्ने, मोर्चाबन्दी गर्ने मामिलामा अभ्यस्त गौतम यस पटक कति सफल हुन्छन्, चुनावी परिणाममा देखिनेछ ।

प्रकाशित : श्रावण ३१, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?