कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोरमा राजनीति गरेर बालेनलाई असफल नबनाऔं : कमल थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले फोहोरमैला व्यवस्थापनमा राजनीति नगर्न आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई केही गरौँ भन्ने सोच भएको व्यक्तिका रूपमा चित्रित गर्दै यसमा राजनीति नगर्न आग्रह गरेका हुन् । 

फोहोरमा राजनीति गरेर बालेनलाई असफल नबनाऔं : कमल थापा

काठमाडौंका मेयर बालेन्द्र शाह केही गरौं भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो‚’ उनले लेखेका छन् ।

फोहोरमैला व्यवस्थापनबारे मेयर शाहले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्ने र एक वर्षसम्म सबैले हरसम्भव सहयोग गर्नुपर्ने भन्दै अध्यक्ष थापाले फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु नहुने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाले स्थानीयको अवरोधबीच नुवाकोटको बन्चरेडाँडामा प्रहरी परिचालन गरी सोमबार फोहोर विसर्जन गरेको थियो । काठमाडौं, धादिङ र नुवाकोटका करिब २ सय ५० प्रहरी परिचालन गरिएको थियो ।

सत्तारूढ दलका स्थानीय नेताहरूले नै बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै आइतबार विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीाक कार्यकर्ताहरूले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।

गत सोमबार राति बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीमा तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएका १४ वटा टिपरमा तोडफोड भएको महानगरले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?