कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवेकशील साझा पार्टीको अध्यक्षमा बास्कोटा, संयोजकमा भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । त्यस्तै पार्टीको संयोजकमा सञ्जीवबल्लभ भट्टराई तोकिएका छन् । स्थानीय तह चुनावमा हार बेहोरेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका थिए ।

विवेकशील साझा पार्टीको अध्यक्षमा बास्कोटा, संयोजकमा भट्टराई

मिश्रले गत जेठमा राजीनामा दिएपछि उक्त पार्टीको नेतृत्व कसको जिम्मामा जाने भन्ने अन्योल थियो । उक्त अन्योललाई चिर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसमिति सदस्यद्वय र बास्कोटा र भट्टराईलाई पार्टीको मूल नेतृत्वको जिम्मेवारी दिएको हो ।

पार्टीको वाग्मती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीया बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन् ।

संयोजक चयन भएका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

बैठकले आउँदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?