सरकार बिचौलियाबाट कमाउन व्यस्त छ : एमाले सांसद सुनुवार- समाचार - कान्तिपुर समाचार

सरकार बिचौलियाबाट कमाउन व्यस्त छ : एमाले सांसद सुनुवार

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्तिसमेत जनाए ।

सांसद सुनुवारले ढिलासुस्ती र कमसल काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारसँग माग गरे।

आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो ।

सांसद सुनुवारले भने, ‘सरकार बिचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिसनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठ्न थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौं– सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरूलाई कारबाही हुनु पर्छ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन ।'


सांसद सुनुवारले पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा पनि आमजनताहरू मारमा परिरहेको बताए ।

प्रकाशित : श्रावण २९, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्

विभिन्न मन्त्रालयका १२९ दरबन्दी मन्त्रिपरिषद्‍बाट स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले एकैपटक विभिन्न तीन वटा मन्त्रालयमा १२९ वटा अस्थायी दरबन्दी सिर्जना गरेको छ । निर्वाचनको मिति घोषणा गरेपछि पनि सरकारले कर्मचारी नियुक्ति गर्न छोडेको छैन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १२९ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजनाहरूकालागि राजपत्रांङ्कित श्रेणीका १२९ पदहरूको अस्थायी दरबन्दी स्वाकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार ऊर्जा मन्त्रालयमा ५१, कानुन मन्त्रालयमा ५८ र कृषि मन्त्रालयमा २० वटा राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

प्रकाशित : श्रावण २९, २०७९ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×