कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाहरूसँग ओलीले भने- 'कामदाम केही गरेको छैन, एकैचोटी प्रधानमन्त्रीमा टप्किने ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेकपा एमालेमा कहिल्यै नातावाद र कृपावादका आधारमा नेतृत्व चयन नहुने बताएका छन् । उनले राजनीतिक दलहरूले नातावाद र कृपावादलाई निरुत्साहित गर्नुपर्ने बताए ।

युवाहरूसँग ओलीले भने- 'कामदाम केही गरेको छैन, एकैचोटी प्रधानमन्त्रीमा टप्किने ?'

अध्यक्ष ओलीले आफ्नो व्यक्तिगत सन्दर्भ सुनाउँदै प्रतिस्पर्धाको आधारमा नेतृत्वमा पुग्नु पर्ने बताएका छन् । उनले आफ्ना भाइ र श्रीमतीको प्रसंग जोड्दै उनीहरूले पदका लागि लालसा नदेखाएको बताएका थिए ।

नेता ओलीले आइतबार काठमाडौंमा राष्ट्रिय युवा परिषद्‍को कार्यक्रममा युवाहरूसँग यस्तो बताएका हुन् । यस क्रममा उनले भनेका छन्, 'पार्टीमा योगदान केही छैन । काम केही गरेको छैन । इतिहास केही छैन । कामदाम केही गरेको छैन एकैचोटी प्रधानमन्त्रीमा टप्किने ! लुडो खेल्या हो र ? काम गरेरै अगाडि बढ्नुपर्छ । प्रतिस्पर्धाका आधारमा नेतृत्वमा जानु पर्छ,' अध्यक्ष ओलीले भने ।

यस क्रममा उनले आफ्नो भाइ वडा कमिटीको सदस्य रहेको स्मरण गराउँदै उनले नेतृत्वमा आउने लालसा नदेखाएको बताएका थिए । 'मेरो भाइ वडा कमिटीको सदस्य छ । उसले उम्मेदवार बन्ने इच्छा राखेको छैन । उ उम्मेदवार बन्दैन पनि । तैपनि उ सन्तुष्ट छ । जसले जति गरेको छ त्यति नै हुनुपर्छ,' उनले भने ।

कार्यक्रममा उपस्थित युवाहरूलाई पनि उनले योगदानबिना नै नेतृत्वमा जाने लालसा नराख्न आग्रह गरेका थिए । राजनीतिमा सक्रिय भएर काम गरेकालाई मात्रै नेतृत्वमा लैजानु पर्ने उनको भनाइ थियो । 'जसले जति गरेको छ त्यही आधारमा उ नेतृत्वमा जानु पर्छ । तपाइँहरूले पनि त्यसो गर्नु हुँदैन । जसले जे गर्छ त्यसै अनुसारको जिम्मेवारी पाउँछ । मैले नेतृत्व गरेको पार्टीमा नातावाद र कृपावाद छैन,' उनले भनेका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?