कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्तिको लेखाजोखा गर्न मन्त्री बडूको निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा तयार पार्न निर्देशन दिएका छन् । मुलुकभरको खाद्य व्यवस्थाको जिम्मेवारी लिएको कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै मन्त्री बडूले सार्वजनिक मञ्चबाटै काठमाडौं उपत्यकामा रहेको सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरको सम्पत्तिको विवरण तयार गर्न १ महिनाको समय दिएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्तिको लेखाजोखा गर्न मन्त्री बडूको निर्देशन 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शनिबार भएको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री बडूले कर्मचारी र व्यवस्थापनलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ कि छैन भन्नेबारे समीक्षा गर्न पनि सुझाव दिएका थिए । 'काठमाडौं भ्यालीभित्रको सम्पत्ति कति आएको हो त्यसको लेखाजोखा गर्नुस् । कसलाई भाडामा दिएको हो ? कति भाडा उठेको छ ? उठेको छैन भने के कारणले उठेन एक हप्ताभित्र विवरण दिइहाल्नुस्,' उनले भने, 'एक महिनाभित्र देशभरी कति सम्पत्ति छ लेखाजोखा दिनुस् । कति भाडामा छ ? भाडा नउठेको हो भने किन उठेन ? त्यसको निष्कर्ष निकाल्नुस् ।'

मन्त्री बडूले सम्पत्ति नोक्सान भइरहेको, भाडा नउठेको र सम्पत्तिको लेखाजोखा नभएकोबारे व्यवस्थापन र जिम्मेवार कर्मचारीलाई कामको समीक्षा गर्दै कानुनले दिएको जिम्मेवारीअनुसार क्रियाशील हुन निर्देशन दिएका हुन् ।

राष्ट्रिय व्यापार कम्पनी तीन वर्ष पहिले खाद्य संस्थानमा जोडिएको थियो । राष्ट्रिय व्यापार कम्पनीबाट कति सम्पत्ति प्राप्त भएको हो भन्नेबारे यकिन विवरण दिन नसकेको र त्यसको सोधखोज नगरिएको भन्दै मन्त्री बडूले सार्वजनिक कार्यक्रममा नै कर्मचरी र व्यवस्थापनलाई निर्देशन दिएका हुन् ।

त्यस्तै, राष्ट्रिय व्यापार कम्पनीको गोदाम व्यवस्थापन किन नगरिएको हो भनेर पनि मन्त्री बडूले प्रश्न गरेका थिए । 'हाम्रो नाकमुनी राष्ट्रिय व्यापार कम्पनीको त्यो गोदाम खोल्ने हिम्मत किन भएको छैन ? १ हप्ताभित्र त्यो गोदामलाई व्यवस्थित गर्नुस्,' उनले भनेका थिए । उनले स्थानीय प्रशासन, प्रहरी, स्थानीय र प्रदेश सरकारका प्रतिनिधिसँगै सञ्चारकर्मीलाई राखेर गोदाम खोजेर पारदर्शी रूपमा काम गर्न पनि भनेका थिए । काठमाडौंमा रहेको गोदामको सम्पत्ति नष्ट भइरहँदा पनि ध्यान नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

खाद्य व्यवस्थामा राष्ट्रिय व्यापार कम्पनी जोडिएपछि बलियो बनेको भएपनि काम हुन नसकेको र आफूले मन्त्रालयको जिम्मा लिँदा रिपोर्टिङ गरिएका समस्या अहिले पनि उस्तै रहेको भन्दै मन्त्री बडूले आफ्नो जिम्मेवारी पूरा गर्न भनेका थिए ।

संविधानले जनताको खाद्य सुरक्षाको ग्यारेन्टी गरेको र राज्यको तर्फबाट त्यो निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भएको मन्त्री बडूले स्मरण गराएका थिए । उनले मुलुक संघीयतामा गएको अवस्थामा लिमिटेडसँग स्थानीय तह र प्रदेशका संरचनालाई पनि सँगै लिएर काम गर्न भनेका थिए । लिमिटेडले आफ्नो काम कानुनअनुसार गरे बजारमा मूल्य पनि नियन्त्रणमा आउने मन्त्रीको विश्वास थियो ।

मन्त्री बडूले दुर्गम क्षेत्रमा हेलिकोप्टरमा खाद्यान्न पुर्‍याउन जाँदा स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था गर्न पनि लिमिटेडलाई निर्देशन दिएका छन् । व्यापारिक कम्पनी बनिसकेकाले दुर्गमका डीपोमा खाद्यान्न पुर्‍याउन जाँदा कोदो, फापर, पल्तीलगायतका स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था गर्न भनेका हुन् । 'हेलिकोप्टर लिएर दार्चुला तिंकरको खाद्यान्न डीपोमा खाद्यान्न पुर्‍याउन जानुहुन्छ । हेलिकोप्टरको आउने र जाने भाडा तिर्नुहुन्छ । त्यहाँको फापर, पल्ती, कोदो बजारसम्म ल्याउन मध्यस्तकर्ताको भूमिका खेल्नुस् । स्थानीयले त्यो उत्पादन गरे केही आफू खान्छन् बाँकी भैंसीलाई दिन्छन् । स्थानीय उत्पादनले बजार पायो भने किसानलाई फाइदा हुन्छ,' उनले भने, 'फर्किँदा स्थानीय उत्पादन भरेर ल्याओस् ।'

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवमा व्यवस्थापन समितिमा रहेका सरकारका प्रतिनिधि नै अनुपस्थित रहेकोबारे पनि मन्त्री बडूले अध्यक्षबाट जवाफ मागेका छन् । उनले आइतबार मन्त्रालयमा आएर बोर्ड सदस्य किन नआएका हुन् भन्नेबारे जानकारी गराउन भनेका हुन् ।

प्रकाशित : श्रावण २८, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?