कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलदलमा गैंडा

घोल र दलदलमा फसेर मर्ने क्रम बर्सेनि वृद्धि, गत वर्ष मात्रै डुबेर-भासिएर ७ वटा गैंडा मरे
निकुञ्जको नदीको दुवैतर्फ बाँध निर्माण हुँदा गैंडालाई चाहिने बासस्थान साँघुरो बन्दै
गोविन्द पोखरेल

काठमाडौँ — हरेक वर्ष चितवनमा बाढीले बगाएर, एक आपसमा जुधेर, बुढो भएरलगायत अन्य विविध कारणबाट गैंडा मरेका घटना बाहिर आउँछन् । पछिल्लो समय चितवनका गैंडा दलदलमा, पानीको घोलमा फसेर मृत्यु हुने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

दलदलमा गैंडा

४ वर्षयताको तथ्यांक हेर्ने हो भने चितवनमा दलदल र घोलमा फसेर गैंडा मर्ने संख्या बढिरहेको छ । आर्थिक वर्ष ०७५/०७६ दलदलमा फसेर १ वटा गैंडा मरेको थियो भने ०७८/०७९ सम्म आइपुग्दा यो संख्या ७ पुगेको छ । ०७६/०७७मा दलदलमा फसेर ३ वटा गैंडा मरे,०७७/०७८ मा २ वटा गैंडा दलदलमा फसेका थिए भने ०७८/०७९मा ७ वटा गैंडा दलदलमा भासिएर मरेका हुन् । गत साउन १२ गते नारायणी नदीले बगाएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजको १० नम्बर ढोकामा फेला पर्‍यो । अन्दाजी २५ वर्षको भाले गैंडा चितवन निकुञ्ज हुँदै बग्ने नदीले बगाएर गण्डक ब्यारेज पुर्‍याएको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गणेश तिवारीले जानकारी दिए ।

भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै भेटिएकाले गैंडालाई भारतीय कानुन अनुसार जलाइयो । चालू आर्थिक वर्ष ०७९/०८०मा गैंडा मरेको यो पहिलो घटना हो । नदीले बगाएर गैंडा बगाएको यो पहिलो घटना होइन, हरेक वर्ष जसो चितवनका गैंडा बगिरहेका छन् । २०७४ सालमा नारायणी नदीमा आएको बाढीले गैंडासहित धेरै वन्यजन्तुलाई बगायो । उक्त बाढीका कारण मृत अवस्थामा दुई वटा गैंडा भेटिए । बाढीले बगाएर भारत पुगेका १४ वटा गैंडाको उद्धार गरेर नेपाल ल्याइयो । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख बाबुराम लामिछानेका अनुसार त्यसबेला १० वटा भारतीय र अन्य ४ वटा नेपाली भूमिबाट गैंडाको उद्धार गरेर निकुञ्जमा ल्याइएको थियो । अघिल्लो आर्थिक वर्षमा २ वटा, ०७७/०७८मा ४ वटा,०७६/०७७ मा १, ०७५/०७६ मा १ वटा गैंडा डुबेर मरे ।

सामान्यत: बाढीमा आएको बेला गैंडा बगाएर भारत पुग्ने र मर्ने गरेको पाइएपनि दलदलमा फसेर गैंडा मर्ने विषय त्यति चासो दिएको पाइँदैन । ‘पहिला पहिला गैंडाको मृत्यु सम्बन्धमा चोरी सिकारीलाई विशेष ध्यान दिइन्थ्यो,’ लामिछानेले भने, ‘अहिले मृत्युको अन्य कारण खोज्ने र तथ्यांक राख्ने काम भएकाले अप्राकृतिक मृत्यु बढी देखिएको हो ।’ उनका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि ०७७/०७८ मरेका १५४ वटा गैंडामध्ये अप्राकृतिक कारणबाट १७ वटा गैंडा मरेका हुन् भने सडेगलेको अवस्थामा २९ वटा गैंडा फेला परेको र एकआपसमा लडेर ३० वटा गैंडा मरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जकका वार्डेन हरिभद्र आचार्य दुई वटा समयमा गैंडा दलदलमा फसेर मर्ने गरेको बताउँछन् । वर्षयामको समयमा घोल तथा पोखरीमा धेरै पानी जम्मा हुँदा र हिउँदको समयमा पोखरी छेवैको माटो सुक्ने क्रममा गैंडा दलदलमा पर्ने गरेको उनी बताउँछन् ।

‘वर्षायाममा गैंडाका लागि लागि बनाइएको पोखरी तथा घोल भएको ठाउँको पानी जमेर धेरै हुन्छ,’ आचार्यले कान्तिपुरसित भने, ‘हिउदको समयमा पानी घट्दै जाँदा पोखरी छेवैको माटो पनि सुक्दै जान्छ । आहाल खेल्न घोलमा जाँदा छेवैको माटो सुक्ने क्रममा अलिक खँदिलो र चिप्लो हुन्छ । त्यहाँ जाँदा गैंडाको खुट्टा अड्किन्छ । गैंडा निस्कन खोज्दा झन् ट्रयापमा पर्छ । अनि त्यही फसेर मर्छ । ’ पानी हुँदा हिलो हुने र निस्कन खोज्दा डुब्ने गरेपनि पानी सुक्ने क्रममा माटो अलिक सुख्खा हुँदा हिलो माटोमा खुट्टा दबिएपछि फस्ने गरेको उनको भनाइ छ ।

निकुञ्ज कार्यालयले दलदलमा डुबेर गैंडा मर्ने घटनालाई प्राकृतिक कारण लिने गरेको छ । उनी भन्छन्, ‘दलदलमा फसेर गैंडा मरेको अहिले मात्रै होइन । पहिलादेखि नै हो । ’ दलदलमा फसेको थाहा भएपनि गैंडालाई उद्धार गर्न सक्ने क्षमता कार्यालयसँग छैन । ‘ट्रयापमा परेको तुरुन्तै थाहा भयो पनि गैंडालाई झिक्न सक्ने सम्भावना छैन । माटो हटाउन एक्सकाभेटर खोज्नुपरो । एक्सकाभेटर जाने सडक पनि हुनुपरो । अनि माटो हटाउने सम्भावना पनि देखिँदैन,’ आचार्यले भने । घोलमा भासिएर गैंडा मर्ने विषय प्रकृतिक भएको उनको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र बासस्थान सुधार, घाँसे मैदान व्यवस्थापन तथा वन्यजन्तुलाई सुख्खा समयका लागि जंंगलमा बनाइने घोलको अप्रत्यक्ष असर त होइन भन्ने प्रश्नमा आचार्यले इन्कार गरे ।

वर्षायामको समयमा नदीमा बाढी आउँदा गैंडालाई अन्यत्र जाने ठाउँ नहुँदा डुबेर मर्ने गरेको उनले बताए । निकुञ्जको नदीको दुवैतर्फ बाँध निर्माण हुँदा गैंडालाई चाहिने बासस्थान(फ्लड प्लेन) साँघुरो बन्दै गइरहेको छ । ‘नदीको दायाँबायाँ खुला हुँदा गैंडा बाढी आएको बेला दुवै किनारमा जान सक्थे, ’ अचार्यले भने, ‘ अहिले बाढीको समयमा उनीहरुलाई अन्य ठाउँमा जान सजिलो छैन । सबै एकै ठाउँमा केन्द्रीत भएर चरिरहेका हुन्छन् । नदीमा एकै पटक भेल बाढी आउँदा अन्यत्र जानै पाउँदैनन् । ’

वन्यजन्तु विज्ञ एवं अनुसन्धानकर्ता दिनेश न्यौपाने घोलमा डुबरे गैंडा मर्ने गरेका घटना पानीको गुणस्तरसँग पनि हेरिनुपर्ने बताउँछन् । ‘प्राकृतिक र अप्राकृतिक मृत्यु मात्रै हेरेर हुन्न,’ उनले कान्तिपुरसित भने,‘राम्रो अध्ययन हुनुपर्छ । गैंडाको चरण क्षेत्रको पानी प्रदूषित भएर, खाँदा इन्फेक्सन भएर घोलमै बस्ने र त्यही मृत्यु भएको पनि हुन सक्छ । त्यस्ता खालका अनुसन्धानहरु गर्नु जरुरी छ । ’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले गैंडाको मृत्यु सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको र प्रतिवेदन दिएपछि मात्रै थप बन्न सकिने बताए । हाल विभागले वन्यजन्तुको बासस्थान व्यवस्थापन कार्यविधि बनाउने भन्ने सवालमा कार्यविधि बनाइरहेको बताए । उनले गैंडाको मृत्यु सम्बन्धिको छानबिन समितिले दिने प्रतिवेदन पछि बाहिर आउन सक्ने बताए । चितवनमा गैंडाको मृत्यु भएको बारेमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

सरकारले यसअघि २०७७ सालमा गैंडा मृत्यु सम्बन्धमा छानबिन समिति पनि गठन गरेको थियो । उक्त समितिले नारयाणी नदीमा पानीको बहाब अगाडि नै घाँसे मैदान व्यवस्थापन गर्न सुझाव दिएको थियो । तर कार्यान्वयन भएको छैन । निकुञ्जका वार्डेन आचार्यले सार्वजनिक खरिद नियमवाली र सरकारी नियमका अनुसार ढिलो भइरहेको बताए ।

फाइल तस्बिरहरू

यस्तै, समितिले गैंडाको आगामन हुने स्थान, विचरण क्षेत्रमा नियमित गस्ती बढाउन सुझाव दिएको थियो । त्यो सुझाव पनि कार्यान्वयन भएको छैन । गैंडा एकै ठाउँमा बसेर चरिचरण गरिरहेकाले क्षति हुन नदिनका लािग उपयुक्त स्थानमा अनुकल समयमा स्थान्तरण गर्न पनि सुझाव दिएको थियो । यस्तै, प्रत्येक पोस्टले आफ्नो कार्य क्षेत्रभित्र पर्ने गैंडा विचरण गर्ने पानी घोल, पोखरी, घाँसे मैदानलगायतका संवेदनशील बासस्थान पहिचान गरी नियमित रुपमा ती क्षेत्रहरुको गस्ती तथा निगरानी गर्न सुझाव दिएको थियो । तर कार्यान्वयन भएको छैन । निकुञ्ज क्षेत्रभित्र गरिने गस्ती तथा निगरानी बाटो भएको ठाउँमा मात्रै जाने तर कोर जंगलभित्र नगरिने भएकाले जंगलभित्र केही भइरहेको छ भन्ने जानकारी ढिलो आउने गरेको छ । यस्तै, हात्तीको प्रयोग गर्न पनि समितिले सुझाव दिएको थियो तर पर्याप्त संख्यामा हात्ती नहुँदा समस्या भएको निकुञ्जले जनाएको छ ।

समितिले गैंडाको निगरानी बढाउन सुझाव दिदै घाँसे मैदान व्यवस्थापन ठूलो क्षेत्रमा गर्नुभन्दा अघि सानो ठाउँमा करिब ५ हेक्टरको प्लटहरु बनाएर फरक फरक समयमा गर्न पनि सुझाव दिएको छ । गैंडाको मृत्यु रोक्नका लागि बाढीबाट जोगिने ढिस्कोहरु बनाउने सुझाव पनि दिएको थियो तर कार्यान्वयन पक्ष फितलो हुँदा मृत्युदर बढिरहेको संरक्षणकर्मीहरुको भनाइ छ ।

प्रकाशित : श्रावण २८, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?