गठबन्धन मुलुकको आवश्यकता : सञ्चारमन्त्री कार्की- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन मुलुकको आवश्यकता : सञ्चारमन्त्री कार्की

नगेन्द्र अधिकारी

काभ्रे — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन मुलुकको आवश्यकता भएको तर्क गरेका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन गरिएको तर्क गरे ।

‘गठबन्धन भएपछि मुलुकमा संविधान, लोकतन्त्रको रक्षा भएको छ, समृद्धितर्फ मुलकु अघि बढिरहेको छ,’ उनले भने, ‘मुलुकको आवश्यकता र जनताको चाहनाअनुसार फेरि पनि गठबन्धन हुन्छ र यो निर्वाचनपछि पनि कायम रहन्छ ।’

सत्ता गठबन्धनमा सिट संख्या टुंग्याउन बनेको कार्यदलका सदस्यसमेत रहेका उनले सिट संख्याका बारेमा सकरात्मक छलफल भइरहेको भन्दै ‘पावर सेयरिङ’ मा दलहरूलाई एकजुट बनाएर छिटै टुंगो लगाउने बताए ।

निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री कार्कीले आगामी मंसिर ४ गते घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष हुने भन्दै मतदाता निर्भयतापूर्वक सहभागी हुने विश्वास व्यक्त गरे । हालै सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जग बलियो बनाएको भन्दै मन्त्री कार्कीले आगामी निर्वाचनले विकास र समृद्धिको चाहना पूरा गर्ने दाबी गरे ।

प्रकाशित : श्रावण २४, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

घरदैलोमै भत्ता र स्वास्थ्य परीक्षण 

नगेन्द्र अधिकारी

काभ्रे — नमोबुद्ध नगरपालिकाले घरदैलोमै सामाजिक सुरक्षा वितरण थालेको छ । नगरले पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्न वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी स्थानीयस्तर र वडास्तरमै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

वडा नं १ बाट भत्ता वितरण सुरु गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । ‘सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिने भए पनि नगरको भौगोलिक अवस्था, अशक्तहरुलाई घरदैलोमा नै सेवा दिने निर्णय गरेका थियौं, त्यसलाई प्राथमिकता दिएर कार्यान्वयन गरेका हौं,’ नगर प्रमुख लामाले भने, ‘अन्य वडामा पनि क्रमशः कार्यान्वयन गर्दै जान्छौं ।’

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सबै वडामा वितरण गर्ने गरी तालिका सार्वजनिक गरिएको बताए । धेरै ग्रामीण भूभाग समेटेर बनेको नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा मात्रै बैंकका शाखा छन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही घण्टौं हिँडेर र बोकिएर बैंकसम्म आउने गरेका छन् । घण्टौं लाम बस्नुपर्दा उनीहरुले सास्ती पाउने गरेका छन् ।

पनौती नगरपालिकाले पनि ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । नगर प्रमुख रामशरण भण्डारी पदबहाली गर्ने क्रममा उक्त निर्णय गरेका थिए । वडा नं १, ७ र १२ मा सुरु भएको घरदैलो स्वास्थ्य परीक्षण सेवा क्रमशः अरु वडामा पनि विस्तार हुने भण्डारीले जानकारी दिए । मधुमेह, उच्च रक्तचापलगायतका अन्य परीक्षण गरिएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×