परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल- समाचार - कान्तिपुर समाचार

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदा बीआरआई र सीमा समस्याको कुरा उठाउन आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता; सीमा समस्या समाधानमा जोड दिनुपर्ने बताए । उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको उल्लेख गरे ।

चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताउँदै नेता खनालले बेलाबेलामा नेपाल-चीन सीमा विवाद आइरहने र यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमण लाभदायी हुनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘चीनका केही कोर इन्ट्रेस्टका कुराहरू छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेस्टलाई ध्यान दिनूस्; त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौं भन्ने कुरा गर्दै आएको छ‚’ उनले भने‚ ‘नेपाल एक चीन नीति र नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौं । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण भ्रमण भएकाले हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा सोच्नुपर्छ ।’

बीआरआईबारे सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनले सीमाको समस्या समाधानमा समेत भूमिका खेल्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

काेही आजीवन उम्मेदवार, कोही मतदाता मात्रै बन्ने अवस्था अन्त्य हुनुपर्छ : सांसद पाण्डे 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेकी सांसद बिन्दा पाण्डेले निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गरेर संविधानको मर्मअनुसारका बनाउनुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ध्यानाकर्षण प्रस्ताव राख्दै पाण्डेले कुनै एक नेता एउटा निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने र बाँकीले उसको मतदाता मात्रै बन्ने अवस्थाको अन्त्य गर्न कानुनी संशोधन हुनुपर्ने प्रस्ताव गरेकी हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गर्नुपर्ने पाण्डेको माग छ । उनले एक व्यक्ति कुनै एक निर्वाचन क्षेत्रबाट लगातार २ पटक मात्रै उम्मेदवार बन्न पाउने वा समानुपातिकबाट २ पटक मात्रै सांसद बन्न पाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।

'संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटै व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुने व्यवस्था गर्नुपर्छ । अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्ने अवस्थाको अन्त्य हुनुपर्छ,' उनको माग थियो ।

कोही व्यक्ति संसद्‍मा अपरिहार्य छ भन्ने दललाई लागेमा फरक निर्वाचन क्षेत्र र फरक निर्वाचन प्रणालीबाट आउन सक्ने छुट दिने कानुन बनाउनुपर्ने पाण्डेको प्रस्ताव छ । 'कोही व्यक्ति संसद्का लागि अपरिहार्य छ भनेर सम्बन्धित दलले अनुभूति गर्छ भने त्यस्ता व्यक्तिलाई फरक निर्वाचन प्रणाली वा फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न सक्ने व्यवस्था गर्न सकिन्छ । एउटै व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट निरन्तर आजीवन उम्मेदवार बन्ने कुराको अन्त्य गर्नुपर्छ,' उनले भनिन् ।

स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित व्यक्ति तेस्रोपटक उम्मेदवार बन्न नपाउने व्यवस्था स्मरण गराउँदै सांसद पाण्डले अब त्यो व्यवस्था स्थानीय तहका अन्य कार्यकारी पद र प्रतिनिधिसभा तथा प्रदेश सभामा लागू गर्नुपर्ने बताइन् । स्थानीय तहका लागि कानुनी व्यवस्था गरिएको तर प्रतिनिधिसभा र प्रदेश सभाका लागि भने त्यो व्यवस्था नगरिएकोमा उनले आलोचना गरिन् ।

'अहिले निर्वाचन आयोगले निर्वाचनसँग कानुनलाई संविधानसम्मत ढंगले संशोधन गर्नका लागि मस्यौदा तयारी गरिरहेको स्थिति छ । मंसिर ४ गते हुने निर्वाचनमा संविधानसम्मत बनाउनका लागि संसद्‍मा ती संशोधन कानुन पेस गरियोस् भन्ने सरकारलाई आग्रह गर्न चाहन्छु । यो संसद्‍बाट पारित भएर मात्रै त्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा पनि मैले ध्यानाकर्षण गर्न चाहे,' उनले भनिन् ।

प्रकाशित : श्रावण २४, २०७९ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×