अर्घाखाँची — अर्घाका कमल भुसाल २०७४ वैशाखमा दुबईबाट चारमहिने छुट्टीमा घर फर्किए । टोलैपिच्छे बनेका कच्ची सडकमा छिटफुट ट्याक्सी गुडेको देखे । त्यसपछि उनको मन फेरियो । केही दिनमै एउटा ट्याक्सी किनिहाले । भरिभराउ यात्रु पाउन थालेपछि दुबईमा आफूले काम गर्ने कम्पनीका म्यानेजरलाई खबर गरे– अब म फर्किन्नँ । अहिले उनलाई पहाडका गाउँबस्तीदेखि काठमाडौं, बुटवल, पोखरा, दाङलगायत ठूला सहर र छिमेकी जिल्लामा ट्याक्सी दौडाउन भ्याइनभ्याइ छ ।
‘दुबईमा १३ वर्ष काम गरें, केही कमाइ पनि भयो । त्यहाँभन्दा बेग्लै आनन्द र रमाइलो त आफ्नै ठाउँमा लागिरहेको छ,’ उनले भने, ‘डाँडाकाँडा र सहरमा यात्रु बोकेर घुम्न पाइएको छ । म हाँसेरै मीठो बोलिदिन्छु, एकपटक बोकेका यात्रुले फेरि सम्पर्क गर्छन्, सबैले कमल भाइ/दाइ भनेर माया गर्छन् ।’ उनले सन्धिखर्क अस्पतालनजिकै घर बनाएका छन् । खाली समय श्रीमतीले सुरु गरेको कपडा व्यवसायमा सघाउँछन् ।
‘जिल्लाभित्र र बाहिर कतिबेला कहाँ यात्रु बोकेर दौडिनुपर्छ, टुंगो हुँदैन,’ भुसालले भने, ‘रातदिन यात्रु बोक्छु । गाडीको किस्ता, तेल, मर्मत खर्च सबै कटाएर महिनाको १ लाख रुपैयाँ बचत गरेको छु ।’ दुबईमा कमाएको पैसाले ट्याक्सी किनेका उनले अब विदेश जाने सोच नै त्यागिसकेका छन् । ‘यही व्यवसायबाट जीविका धानेर पैसा बचत भएको छ,’ भन्छन्, ‘किन जानु विदेश ?’ दुबई र मलेसियामा ६ वर्ष बिताएका नुवाकोट च्युरामाटीका राम गैरे पनि यहीं ट्याक्सी चलाउँछन् ।
आठ वर्षअघि ट्याक्सी किनेर व्यवसाय सुरु गरेका उनले पहिलो महिनामै डेढ लाख रुपैयाँ कमाए । सदरमुकामस्थित चुत्राबेंसीमा उनका बाबुले घडेरी किनिदिएका थिए । ट्याक्सीकै कमाइले एकतले घर ठड्याए । ‘सामान्य लेखपढ गर्न जानेको छु, मलेसिया र दुबईमा ६ वर्ष बस्दा दुःख पाएँ,’ उनले भने, ‘०७१ मा गाडी किनेर चलाउँदा सुरुकै महिनाबाट डेढ लाख बचत हुन थाल्यो ।’ उनी गाउँदेखि ठूला सहरसम्म यात्रु बोक्छन् । ‘अधिकांश यात्रु मेरा घनिष्ठ हुन पुग्छन्,’ उनले भने, ‘गाउँमा सामान्य किसानदेखि नेता, कर्मचारी, ठूला व्यापारी, जनप्रतिनिधिसम्म चिनजान र सम्बन्ध हुँदो रहेछ । यो व्यवसायले म उत्साहित छु ।’ उनीजस्ता धेरै युवा यो पेसाबाट खुसी छन् । ‘गाउँ छिमेकीसित दैनिक भेटघाट हुन्छ, परिवारसँगै बसेर व्यवसाय गर्न पाइएको छ,’ उनले भने, ‘विदेशमा अरूको अन्डरमा काम गर्नुपर्थ्यो । यहाँ स्वतन्त्र व्यवसाय गर्न पाएको छु ।’ ट्याक्सीको कमाइले घर खर्च, छोराछोरीको पढाइ खर्च राम्रोसँग पुगेको उनले सुनाए ।
ट्याक्सी व्यवसाय धेरै मान्छेसित परिचय हुने माध्यम बनेको बताउँछन्, सन्धिखर्कका चन्द्र थापा । ‘फोन गरेर बोलाएपछि जान्छु, खाली बस्नु पर्दैन,’ मलेसियाबाट फर्केर ६ वर्षदेखि ट्याक्सी चलाएका उनले भने । बाल्यकालमा घण्टौं हिँड्नुपरेको गाउँका बाटोमा आफैं ट्याक्सी लिएर छिनभरमै आउजाउ गर्दा विकासमा आमूल परिवर्तन भएको महसुस गरेको उनले सुनाए । ‘छिटो र सहज यात्रा भनेर ट्याक्सी खोज्ने यात्रु धेरै छन्,’ थापाले भने, ‘पहिला थोरै गाडी हुँदा दौडधुप धेरै हुन्थ्यो, अहिले धेरै छन् । सडक भएकै कारण ट्याक्सी गुडाएर जीविका धान्ने माध्यम बन्यो ।’ सडकले विदेश जाने आफ्नो सोच बदलिदिएको उनी बताउँछन् ।
अर्घाखाँचीका सबैजसो कच्ची सडकमा ट्याक्सी चल्छन् । बर्खामा बाढीले सामान्य खाल्डाखुल्डी परेका ठाउँमा चालक आफैं बाटो मर्मत गर्छन् । यात्रु र स्थानीयले पनि बाटो बनाउन सहयोग गर्छन् । गाउँको वडास्तरीय सडक सरकारको बजेटले तथा टोलबस्ती र घरआँगनसम्म पुग्ने धेरै सडक व्यक्तिगत लगानी, रेमिट्यान्स, चन्दा र सामुदायिक वनको आम्दानीले बनेका छन् । अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कुँवरले जिल्लामा १ सय १० वटा कालो प्लेट, डेढ सय रातो प्लेटका ट्याक्सी चलिरहेको बताए । ‘०७० मा मैले ट्याक्सी लिएर संस्था दर्ता गरें, ०७४ बाट व्यावसायिक रूप लियो,’ उनले भने, ‘जिल्लामा भएका ट्याक्सीमध्ये ७५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका युवा छन् ।’ १० प्रतिशतले मात्रै ट्याक्सीमा चालक राखेका छन् । ५/६ लाख रुपैयाँ लगानी गरेर विदेश जानेले मासिक २० देखि ५० हजार कमाउने गरे पनि यहाँ गाडीबाट एक लाख प्रायःले कमाइ गरिरहेको उनले सुनाए ।
गुल्मी सदरमुकाम तम्घासमा २० वटा ट्याक्सी, १ सयजति कार, ५० जति डबल क्याप (जिप) गाडीले यात्रु बोक्छन् । हिउँदमा प्रायः सबै गाउँ आउजाउ गर्छन् । हिउँदमा त ८० हजारसम्म कमाइ हुने तम्घासका व्यवसायी राजु श्रेष्ठले बताए । ‘गाडीमा चार यात्रु अट्छन् । गाउँका अग्ला बस्ती र ठूला सहरसम्म यात्रु बोकेर हिँड्छु,’ १० वर्षदेखि ट्याक्सी चलाइरहेका उनले भने । कच्ची सडक पनि क्रमशः ग्राभेल र कालोपत्र हुँदै गएका छन्, जसले यात्रालाई सहज बनाएको छ । उनका अनुसार दशकअघि गाउँमा कार जाँदैनथे । कच्ची सडक पनि कार हिँड्न लायक छन् ।
‘विदेशबाट पैसा कमाएर फर्केका र बैंक किस्तामा गाडी किनेर जीविका धान्ने धेरै युवा छन्,’ श्रेष्ठले भने, ‘परिवारसँगै बसेर व्यावसायिक सेवा दिन पाउँदा मन खुसी छ । गाडी व्यवसायबाट धेरै युवा विदेश जान छाडेका छन् ।’
मूर्ति चोरी – आरम्भिककालचिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।
भूपतिन्द्र मल्लको मूर्ति, भक्तपुर (माथि) तलेजु हार (तल)
प्राचीनकालदेखि नै साँखुमा एउटा प्रचलन थियो– केही आपत्ति आइहाले सहयोग–सतर्कताका लागि नगरको उच्च भागको बज्रयोगिनी मन्दिरको घण्ट बजाउने ! छिनमै पूरै सहर जागा भयो । घर–घरबाट निस्केर नगरवासीहरू बज्रयोगिनीको डाँडातिर लम्के । बिजुलीको सुविधा थिएन, तर मानिसका हातमा मसाल र परालको मुस्लो थियो । थली, भद्रावास, डाँछी र चाँगुदेखि मानिसको ताँती लाग्यो । आगोको लामले यस्तो लाग्थ्यो, मानौं सिंगो सहर अँध्यारोमै कुनै मोर्चामा लम्केको छ ।
असुरक्षित भएको अनुभव हुनासाथ एक डफ्फा अपराधी मन्दिरबाट उठाएर ल्याएको मूर्ति जंगलमै छाडेर भाग्न खोजे । तर, स्थानीयले लखेटे । अपराधीले गोली चलाए । साँखुका तीन जना गम्भीर घाइते भए । घाइतेमध्ये एक साँखु धुँलाटोल निवासी सूर्यमान श्रेष्ठ हालसम्मै जीवित छन् । बज्रयोगिनी मन्दिरमा अवस्थित सबैभन्दा मूल्यवान् र प्राचीन अवलोकितेश्वरको अति कलात्मक मूर्ति चोरीको घटना थियो त्यो । ६ फिट उचाइको धातुको त्यो मूर्ति चोर्ने प्रयास भएको साल थियो– २०२६ !
केहीलाई पक्राउ गरियो, केही रिहा भए । सोधपुछ क्रममा थाहा भयो– त्यस घटनाको सम्बन्धको जरो राजदरबारसम्मै थियो । पछि प्रहरीले त्यसबाट हात झिके । तर, चोरहरूको कठालो समाउन साहस गर्ने साँखु धुँलाटोलका कृष्ण श्रेष्ठलाई त्यही गिरोहले केही दिनपछि ठमेल, सातघुम्तेमा गोली हानी हत्या गर्यो ।
बज्रयोगिनीको त्यस घटना उपत्यकाकै अत्यन्तै चर्चित र खतरनाक थियो । नेपालमण्डलभित्रको मूर्त सम्पदा लुप्त पार्ने संगठित आपराधिक कार्यको सम्भवतः यो प्रारम्भिक चरण थियो ।
पुरातत्त्व विभागका अनुसार, मुलुकभित्र योजनाबद्ध ढंगले मूल्यवान् मूर्तिहरू चोरिने क्रम सन् सत्तरीको दशकबाट सुरु भएको हो । र, असीको दशकमा एक प्रकारले मूर्ति चोरीको आतंक नै मच्चियो ।
खुला सम्पदा संग्रहालय
प्रत्येक चोक, चौबाटो, वस्ती, टोल, जहाँ पाइलैपिच्छे कुनै–कुनै मूर्त सम्पदा छन् । ठूल्ठूला बहाल, मन्दिर, चैत्य, स्तूप मात्रै होइन, प्रत्येक गल्ली–मोडमा साना–ठूला कलात्मक मूर्त सम्पदा पनि भेटिने नगर सभ्यताको केन्द्र हो– काठमाडौं उपत्यका । अगाध आस्थाको प्रतीकका रूपमा बस्तीहरूमा सजाइएका ती सम्पदा शैव, बौद्ध, वैष्णव, शाक्त र तान्त्रिक मूल्य मान्यताका अभिव्यक्ति थिए । अर्कोतिर ती स्मारक थिए– प्रस्तर, धातु, काष्ठ अनि मृतिका आदि सामग्रीबाट निर्मित हाम्रा पुर्खाका सांस्कृतिक–कलात्मक चेतका अनुपम कृति । हाम्रो गौरव र इतिहासका चिनो मात्र नभई ती थिए– राष्ट्रिय पहिचानका महत्त्वपूर्ण आधार ।
पाश्चात्य जगत्मा सुरक्षा घेराभित्रका म्युजियम वा धनी वर्गका निजी संकलनमा मात्रै हेर्न पाइने यस्ता कलात्मक कृति नेपालमण्डलभित्र खुला आकाशमुनि सहज पहुँचमा भेटिँदा विदेशी अध्येताहरू आश्चर्यले भरिन्छन् । जर्मनीका कलाप्रेमी युर्गेन स्किकले आफ्नो पुस्तकमा लेखेका छन्, ‘काठमाडौं उपत्यकालाई संसारकै सुन्दर र सम्पन्न एक विशाल खुला संग्रहालय भन्न सकिन्छ ।’
सन् सत्तरीको दशकमा नेपालमा राजाको सक्रिय शासनकाल थियो । त्यस संवैधानिक हिन्दु राजतन्त्रमा राजालाई विष्णुको अवतार भनिन्थ्यो अर्थात् राजा थिए– धर्मका संरक्षक । तर, तिनै धर्मभीरु शासकको छत्रछायामा धर्म, संस्कृति र आस्थाका प्रतीक एकपछि अर्को गर्दै मन्दिर, गुम्बा, चैत्य, सम्पदा क्षेत्रबाट हराउँदै गए । फेरि पनि राज्यसंयन्त्र बनेको थियो केवल मुकदर्शक ।
आतंकका ती दिन
पाटन सौगलको सूर्यमूर्ति दुई कोणबाट महत्त्वपूर्ण थियो । पहिलो, दसौं शताब्दीतिर कुँदिएको त्यो थियो– एक कलात्मक मूर्ति । दोस्रो, त्यस मूर्ति मानवाकृत उभिएको अवस्थामा थियो । चोरीको बिगबिगी बढेपछि सुरक्षाका लागि स्थानीयले मूर्तिलाई चारैतिर फलामे पाताले कसे । वैशाखको एक रात ०४३ सालतिर हातहतियारसहित आएको एक समूहले त्यो मूर्ति उखेलेरै लिएर गयो ।
इन्द्रजात्रामा काठमाडौंका टोलटोलमा भैरवका मूर्तिहरू सार्वजनिक ठाउँमा सजाएर पूजा गरिने, एक सातासम्मै खुला स्थानमा मूर्ति प्रदर्शन गर्ने प्रचलन थियो । तर, ०४३ को इन्द्रजात्रामा एकै रात काठमाडौं भित्री सहरका नघल, थँहिटी, त्यौड र न्ह्योखाबाट चारवटा भैरवका मूर्ति हराए । वर्ष त्यही थियो, पुुस ३० को राति केही अज्ञात मान्छेले कीर्तिपुरको भित्री बस्तीमा ठाउँठाउँका सम्पदा क्षेत्रका मूर्ति उखेल्दै थिए, त्यो पनि प्रहरीकै बर्दीमा । स्थानीयले थानामा पुगेर उजुरी गरे । स्थानीयलाई प्रहरी हाकिमले झपारे ।
२०४४ साल । तिहारलगत्तैको ढल्दै गरेको एक रात । छेउमै नीलो रङको प्रहरी भ्यान तैनाथ थियो । कमान्डो ड्रेस लगाएका पाँच–छ जना मान्छे बांगेमुढास्थित नारायणको मन्दिरभित्रबाट मूर्ति उखेलेर बाहिर घिसार्दै थिए । स्थानीयले चाल पाएपछि झ्याल–झ्यालैबाट चिच्याउन थाले– ‘चोर ! चोर ! चोर !’ त्यसपछि मूर्ति त्यतै छाडेर मानिसहरू भागे ।
ललितपुर बुङ्मती मन्दिरपरिसरको एउटा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा हो– भैरवको मूर्ति । रातो मच्छिन्द्रनाथजत्तिकै प्राचीन र कलात्मक वुङ्मलोकेश्वरलाई अज्ञात समूहले उठाएर लग्यो । लगत्तै त्यहाँबाट एकपछि अर्को मूर्ति हराउन थाले । मान्छेहरूले त्यहाँको तोरण पनि उठाएर लगे । चर्को असुरक्षा र आतंकबाट आत्तिएका त्यहाँका पुजारी–पाँजुहरू सामूहिक रूपमा निवेदन बोकी गुठी संस्थान पुगे । रातो मच्छिन्द्रनाथको मूर्ति कुनै पनि बेला चोरिन सक्ने र मन्दिरमा बस्ने पुजारीहरूको ज्यान पनि असुरक्षित भएकाले पूजा र मन्दिरको जिम्मा गुठी संस्थानले लिनुपर्ने माग पुजारी–पाँजुको थियो । तर, गुठी संस्थान चुप बस्यो ।
ललितपुर, पुल्चोक डाँडामाथिको आकाशयोगिनीको मूर्ति चोरीको पनि प्रयास भयो । फलामे ढोका थियो, त्यसैले चोरहरूले त्यो फुटाउन सकेनन् र भागे । पछि नियमित भजन गर्ने मण्डली डीएसपी कार्यालय पुग्यो, घटनाको जाहेरी दिएर सुरक्षाको माग गर्यो । तर, डीएसपीको उत्तर थियो– अबउप्रान्त मूर्ति चोरीको घटनासम्बन्धी उजुरी गर्न मकहाँ नआउनू ।
भक्तपुर, पच्चपन्नझ्याले दरबारअघि उभिएको शिलास्तम्भमाथिको राजा भूपतिन्द्र मल्लको आकर्षक प्रतिमूर्तिबारे मानिसहरू जानकार छन् । सुनको मोलम्बासहित धातुको त्यो मूर्ति कलाकृतिका दृष्टिकोणबाट अनुपम छ । २०४१, चैत २८ को मध्यरात भीमकाय क्रेनसहित अपराधीको एक जमातले त्यो मूर्ति उखेल्न निकै प्रयत्न गर्यो । प्रहरी नायब उपरीक्षकको कार्यालय दरबार स्क्वायर परिसरमै थियो । केही जवानसहित डीएसपी रूपकराज शर्मा त्यहाँ आइपुगे । ‘माथिको आदेशबाट आएका हामी,’ क्रेन चलाउनेहरूको स्पष्टोक्ति थियो । त्यो ‘माथि’ को संकेत थियो– नारायणहिटी राजदरबार । तर, डीएसपी रूपकले कुनै कुरै सुनेनन् र त्यहाँ अप्रिय घटना हुन दिएनन् । क्रेन लिएर आएकाहरू फर्के । भूपतिन्द्र मल्लको सालिक उखेलेर लैजाने त्यो योजनामा सफल भएनन् । तर, अवरोध गर्ने डीएसपी रूपक केही दिनपछि नै सर्लाही सरुवा गरिए । र, गोविन्द थापा नयाँ डीएसपी भएर खटिए ।
चोरिएका मूर्तिहरूमा पशुपति बच्छलेश्वरी अवस्थित तेस्रो शताब्दीको नारीशक्ति, पशुपति भुवनेश्वरीकै पाँचौं शताब्दीको विष्णुको मूर्ति र चाबहिलको सातौं शताब्दीको नागराजका मूर्ति सबैभन्दा प्राचीन थिए ।
लैनसिंह बाङ्देलको किताब ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस कालखण्डमा चोरिएका २२७ मूर्ति संख्या सचित्र उल्लेख गरिएका छन् । जर्मनीका युर्गेन स्किकले आफ्नो किताब ‘द गड्स आर लिभिङ द कन्ट्री’ मा चोरिएका प्रस्तर मूर्ति र १८० तोरणको चर्चा गरेका छन् । पुरातत्त्व विभागका अधिकारीको अनुमानमा लगभग पाँच सय मूर्ति नेपालबाट हराएका छन् । निजी स्वामित्वमा रहेका ससाना धातुमूर्ति तथा पौभा, थाङ्का चित्र अनि हस्तलिखित ग्रन्थ हराएका अलग्गै कथा छन् ।
फिर्ता भएका चोरिएका मूर्ति
युनेस्कोको महातहतमा सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात–निर्यात र स्थानान्तरणको निषेध तथा रोकथामसम्बन्धी महासन्धि– १९७० क्रियाशील भएयता अन्तर्राष्ट्रिय तहमा नौलो परिस्थिति सिर्जना भयो । विशेषतः नेपालबाट हराएका पुरातात्त्विक–कलात्मक मूर्तिहरू फिर्ताका लागि त्यो महासन्धि बलियो कानुनी आधार बन्यो । स्विडेनकी कलाकार जोय लियन डाभिजको ‘रिमेम्बरिङ द स्कल्पचर अफ काठमाडौं’ परियोजनाका रूपमा अघि बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट हराएका अनेकन् कलाकृतिसम्बन्धी सचेतना जगाउन यसले अभियानको रूप लियो । अर्कोतिर ‘लस्ट आर्ट अफ नेपाल’, ‘स्टोलन आर्ट्स अफ नेपाल’ का तर्फबाट नेपालबाट हराएका मूर्ति खोज्न संस्थागत प्रयत्न सुरु गरियो । त्योमध्ये ‘पिपुल्स फर द लस्ट आटर््स अफ नेपाल’ सामाजिक सञ्जाल समूह निकै प्रभावकारी देखियो ।
सत्यमोहन जोशीको संरक्षकत्वमा रहेको ‘सम्पदा पुनःस्थापना अभियान’ को भूमिका पनि उल्लेखनीय रह्यो । काठमाडौं उपत्यका संरक्षण गुथिअन्तर्गतको ‘रिमेम्बरिङ द लस्ट स्कल्पचरस अफ काठमाडौं’ पनि यसै अभियानमा थपिएको छ ।
सामाजिक स्तरमा अभियन्ताहरूले देखाएका सरोकारले देशबाट हराएका महत्त्वपूर्ण मूर्तिहरू फर्काइने क्रम सुरु भएको छ । टेक्सास डल्लास, अमेरिकाबाट फर्काइएको ललितपुरको वासुदेव–कमलाज यस क्रमको सबैभन्दा पछिल्लो उपलब्धि हो । डोल्पाको यत्सेर जाङ्गचुयली गुम्बाबाट चोरिएका बौद्ध मूर्तिहरू (जुन ल्हासा पुर्याइएका थिए) कुल २८ थिए । हालसम्म स्वदेश फर्काइएका मूर्तिमा त्यो नै ठूलो संख्या हो ।
पुरातत्त्व विभागका अनुसार, हालसम्म संयुक्त राज्य अमेरिकाबाट २३, बेलायतबाट १९, भारत कलकत्ताबाट १३, अस्ट्रिया र जर्मनीबाट एक–एकवटा मूर्ति तथा पुरातात्त्विक वस्तु नेपाल फर्काइएको छ । अझै नेपाल फर्काइनुपर्ने हाम्रा अरू महत्त्वपूर्ण सम्पदा कति छन्, कहाँ छन्् ? थाहा छैन ।
पर्दापछाडिका हातहरू
पुर्खाका श्रम र सिर्जनाबाट निर्मित मानव सभ्यताकै ती धरोहर (जुन नेपालीको पहिचान र गर्वका आधार हुन्) लाई संगठित रूपमा लुप्त पार्ने अदृश्य शक्ति के थियो होला ? पर्दापछाडिका शक्तिहरू को थिए होलान् ?
पाटन दरबार सुन्दरी चोक, धारामा सजाइएका मूर्तिहरू एकपछि अर्को हराए । हनुमानढोका दरबारपरिसरको दिगु तलेजुभित्रका मूर्ति ०२६ सालमा चोरिए । केही समयपछि तलेजु भवानीको शिरमा चढाइएको चाँदीको किकिंपा बेपत्ता भयो । ०९० को भूकम्पमा भत्किएको भक्तपुरको हरिशंकर मन्दिरको सुनको गजुर सुरक्षाका लागि भक्तपुर दरबारभित्र राखियो ।
दस जना मानिसले पनि उचाल्न नसक्ने र मूलढोकाबाट नछिर्ने त्यो बोझिलो पुरातात्त्विक सामान पछि त्यहाँबाट हरायो ।
पाटन, भक्तपुर र हनुमानढोका दरबारका सम्पूर्ण जिम्मेवारी दरबार हेरचाह अड्डाको हुन्थ्यो, जुन प्रत्यक्ष नारायणहिटी राजदरबारअन्तर्गत सञ्चालित थियो । ती प्राचीन दरबारहरूका परिसरमै शाही सेनाको टुकडी बस्थ्यो । सुरक्षा उनीहरूकै हुन्थ्यो ? स्वाभाविक प्रश्न हो– यस्ता भौतिक संरचना र सुरक्षाभित्रबाट पुरातात्त्विक महत्त्वका ती सामान हराउन कसरी सम्भव भयो ?
अमेरिकामा रहेकी पत्रकार श्वेता ज्ञानु बानियाँले हालै ट्वीटरमा सार्वजनिक गरेपछि सिकागो म्युजियममा सार्वजनिक प्रदर्शनमा राखिएको काठमाडौं तलेजु मन्दिरबाट हराएको पुरातात्त्विक हार कहाँ, कुन अवस्था रहेछ भन्ने जानकारी प्राप्त भयो । राजा प्रताप मल्लले तलेजु भवानीलाई चढाएको चाँदीमा सुनको मोलम्बा लगाएको, अष्टमातृका आकृति कुँदिएको मूर्तिसहितको त्यो हार नेपालकै हो भन्ने हाल सालै भेटिएको एक लगतबाट पुष्टि भयो । राजदरबारकै निर्देशनमा ०२७ सालमा तलेजुको सम्पत्तिको लगत राख्न राजदरबारका प्रतिनिधि, अञ्चलाधीशसहितको उच्चस्तरीय समिति बन्यो । पुजारी उद्धव कर्माचार्यका अनुसार, तयार गरिएको लगतसहित तलेजुको त्यस हार र अरू थुप्रै पुरातात्त्विक सामान त्यसै बेला राजदरबारमार्फत गुठी संस्थानको जिम्मा लगाइएको थियो । अहिले त्यो सिकागो म्युजिममा कसरी फेला पर्यो ?
जनकपुर जानकी मन्दिरको गरगहना र पुरातात्त्विक सामग्रीका सम्बन्धमा पनि समान कथा छ । महन्त रामशरण दासका अनुसार, २०२० साउन, १२ गते सुरक्षाका लागि भनेर मन्दिरभित्रका हीरामोती र मूल्यवान् पत्थर जडेका सुनका ५६ थान गरगहना अनि ७७ थान चाँदीका पुरातात्त्विक सामान गुठी संस्थानमार्फत दरबारमा बुझाइयो, अहिले त्यसको कुनै अत्तोपत्तो छैन । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको अस्ट्रेलियन महिला सरले म्याकफरेन्ससँगको प्रेम प्रसंग सार्वजनिक भएपछि राजदरबारले ०४५ मंसिर, २८ का दिन विज्ञप्ति जारी गरी धीरेन्द्रको अधिराजकुमार पदवी च्युत गर्यो । लगत्तै राजाका एडीसी भरत गुरुङ र आईजीपी डीबी लामा पक्राउ परे ।
तत्पश्चात् राजपरिवारको संरक्षण र निर्देशनमा लामो समयदेखि नेपालभित्र लागूपदार्थको तस्करी र मूर्ति चोरीका गतिविधि हुँदै गरेका घटना उदांगिए ।
नेपाली सेनाका पूर्वरथी तथा राजाका एडीसी कृष्णनारायण सिंह थापाले लेखेका ‘समय सम्झना’ किताबको एक खण्डमा त्यसबखत राजदरकारबाट विदेश पठाइएका सामानका बक्साभित्र चरेस हुन्थे । परराष्ट्रसचिव पद्मबहादुर खत्रीको निर्देशनमा सञ्चालित गोप्य मिसनअन्तर्गत वासिङ्टनको एयरपोर्टमा राजदरबारबाट फिल्मका ३२ वटा रिलका डब्बाभित्र नसालु पदार्थ पठाइएको र त्यो आफैंले खोलेर हेरेको उल्लेख गरेका छन् । हालै योहो टीभीमा अन्तर्वार्ता दिँदै रथी थापाले चोरिएका मूर्ति र नसालु पदार्थको कारोबार राजदरबारबाटै हुने गरेको खुलासा गरेका छन् ।
पत्रकार पद्म ठकुराठीले एक अनलाइनसँग कुराकानी गर्दै त्यस बेला नेपालबाट मूर्तिको तस्करी र नसालु पदार्थको कारोबार राजदरबारबाटै गर्ने/गराउने गरेको ठोकुवा गरेका छन् । त्यस बेला उनी एक साप्ताहिक पत्रिकाको सम्पादन गर्थे र पत्रिकाबाट भूमिगत गिरोहका नाउँमा रहेका एकथरी दरबारिया शक्तिको भण्डाफोर गरिरहेका थिए । मूर्ति चोरी र नसालु पदार्थको तस्करीविरुद्ध पत्रिकामार्फत अभियान नै चलाएका थिए । त्यसै बेला जगत गौचन भन्ने मान्छेले ठकुराठीमाथि गोली चलाए, लामो उपचारपछि उनको ज्यान जोगियो । ठकुराठीको खुला आरोप छ, आफूलाई मार्ने षड्यन्त्र ज्ञानेन्द्र्रकै निर्देशनमा भएको थियो । मूर्ति र नसालु पदार्थको तस्करीमा राजदरबार प्रत्यक्ष संलग्न थियो र त्यसका मुख्य मानिस ज्ञानेन्द्र–धीरेन्द्र नै हुन् भन्ने सार्वजनिक दाबी छ ठकुराठीको ।
राष्ट्रकै पहिचान ती अमूल्य सम्पदा विलुप्त पार्ने विगतका यावत् घटना न कपोलकल्पित थियो, न कसैमाथिको आग्रहपूर्ण आक्षेप नै । मूर्ति चोरीका जेजति घटना भए– ती यथार्थ थिए, जुन निन्दनीय र अपराधजन्य हुन् । हिजोआज सम्पदा संरक्षणमा नागरिकस्तरमै विघ्न सरोकार देखिएको छ । यस्तो बेला विगतमा यस सम्बन्धमा जघन्य अपराध गर्नेलाई आजसम्मै उन्मुक्ति किन होला ? उत्तर कहाँबाट खोज्ने ?