कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलले स्वामित्व लिने खालको निर्वाचन आचारसंहिता बनाऔं: पूर्वप्रमुख निर्वाचन आयुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आचारसंहिता पालनमा दलहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले आचारसंहिता कतिपय अवस्थामा अव्यवहारिक पनि देखिएको उल्लेख गर्दै यसलाई राजनीतिक दलहरुले स्वामित्व लिने खालको बनाउनुपर्ने बताए ।

दलले स्वामित्व लिने खालको निर्वाचन आचारसंहिता बनाऔं: पूर्वप्रमुख निर्वाचन आयुक्त

'अहिलेको आचारसंहितको जुन स्ट्रक्चर छ त्यसअनुसार कार्यान्वयन गर्ने सक्ने क्षमता निर्वाचन आयोगको छैन'सेन्टर फर मिडिया रिसर्च नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने,'आचारसंहितलाई राजनीतिक दलहरुले नै स्वामित्व लिने खालको बनाऔं ।' कतिपय मुलुकहरुले आचारसंहितालाई स्वविवेकमा प्रयोग गर्ने अभ्यास गर्न थालिसकेको उनले जानकारी दिए ।

'आचारसंहितामा कानुनमा हुने जस्ता दण्डनीय कुरा पनि हामीले राखेका छौं' उनले भने,'त्यसैले आचारसंहिता कार्यान्वयनमा ठूलो अपेक्षा हुन्छ तर त्योअनुसारको कार्यान्वयन गर्ने क्षमता आयोगको छैन ।'

उनले अब संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा नै तोक्नु जरुरी रहेको बताए ।कानुनमा निर्वाचनको मिति तोक्दा उमेदवारहरु बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न सहज हुने उनको धारणा थियो । मिति कानुनमा नतोक्दा निर्वाचन घोषणा भएपछि दलहरुलाई उमेदवार चयन गर्न जटिल हुनुका साथै तयारीका लागि निर्वाचन आयोगलाई दबाब सिर्जना भएको उनले उल्लेख गरे ।

कार्यक्रममा अनुसन्धानकर्ता तिलक पाठकले स्थानीय तहको निर्वाचनमा मिडियाहरुमा राजनीतिक दलहरुबीच भएको गठबन्धन, गठबन्धनमा देखा परेका समस्या, उमेदवारहरुको चयन, महिला उमेदवारहरुको प्रतिनिधित्व, आचारसंहिता उल्लंघन, स्थानीय तहका जनताको अपेक्षा, निर्वाचनमा हुने खर्च, निर्वाचनमा हिंसा, मतगणनामा भएको ढिलाई मिडियाको प्राथमिकतामा परेको जानकारी दिएका थिए ।

त्यस्तै राजनीतिक विश्लेषक ईश्वरी भट्टराईले स्थानीय तहको निर्वाचनमा कर्मचारी परिचालन, मतदाता परिचयपत्र, आचारसंहिता पालना, मतदाता शिक्षा, मतदाताको गोप्यनियता, मतदान केन्द्र, निर्वाचन खर्च लगायतमा समस्या देखिएको बताएका थिए । उनले निर्वाचन पर्यवेक्षण सम्बन्धी नियमहरुको कार्यान्वयनमा एकरुपता नहुनु, पर्यवेक्षणका लागि संख्या तोकिनु, पर्यवेक्षकलाई धेरै मतदान केन्द्रमा पर्यवेक्षण गर्न नदिनु लगायतका चुनौती भएको बताए ।


प्रकाशित : श्रावण २०, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?