सचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा
काठमाडौँ — अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
एक मन्त्रीका अनुसार मरासिनीले आफूलाई सरुवा गराइदिन आग्रह गरेका थिए । सोही आग्रहबमोजिम उनको सरुवा भएको हो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो । सो आलोचनापछि मरासिनी असार २२ गते बिदामा बसेका थिए ।
सोही दिन शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । बिदा बसेको भोलिपल्ट नै सचिव मरासिनी मन्त्रालय फर्किएका थिए । साउन १५ गते अर्थमन्त्रालयमा शर्मा फर्किएपछि मरासिनी बिदामा बसेका थिए ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले अन्य सचिवहरूको पनि सरुवा गरेको छ ।
प्रकाशित : श्रावण १९, २०७९ १६:४६