कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
साइकल खरिद अनियमितता

तत्कालीन प्रदेश सचिव भुसालसहित कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

मातृका दाहाल

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदातलमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रदेश सचिव भुसालसहित कर्मचारी र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार स्रोतका अनुसार उनीहरूमाथि विगो कैद र जरिवानाको मागदाबी गरिएको छ । विशेष अदालतमा अहिले अख्तियारले लगेको फाइल रुजु गर्ने काम भइरहेको छ ।

गत वर्ष असोजमा अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ थालेका थिए । यो अभियानअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गर्ने कार्यक्रम थियो ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलको कम्पनी नै नखुलेको र मूल्य पनि फरक राखिएको पाइएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो । दुवै चरणमा एकैखाले साइकल किनिए पनि मूल्य भने फरक थियो ।

पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेको थियो । दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी भएको थियो जुन अघिल्लो पटकको भन्दा प्रतिसाइकल २ हजार १४ रुपैयाँ बढी हो ।

प्रदेश सरकारले पहिलो लटमा १७ हजार २ सय ६२ थान साइकल खरिदका लागि ११ करोड १० लाख २९ हजार ९ सय ५८ रुपैयाँ र दोस्रो पटक १० हजार साइकल खरिद गर्दा ८ करोड ४४ लाख ६७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लोको तुलनामा दोस्रो पटक २ करोड १४ लाख रुपैयाँ बढी खर्चेको थियो ।

प्रदेशका छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि यो अभियान २०७५ माघ १ गतेदेखि सञ्चालन भएको हो ।अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई उक्त साइकल वितरण गरिएको थियो ।

नोट : यसअघिको समाचारमा ८ जनाविरुद्ध मुद्दा हुनुपर्नेमा अन्यता भएकाले सच्याइएको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?