हिंसापीडित शिक्षक हटाउन दबाब- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसापीडित शिक्षक हटाउन दबाब

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापाको मेचीनगर–७ गोमनसरीस्थित अरनिको माविकी एक महिला शिक्षकलाई ‘चरित्रहीन’ भन्दै बर्खास्तीको मागसहित हस्ताक्षर संकलन भएको छ । दुई महिनाअघि ती शिक्षकले तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि घिमिरेले राजीनामा दिएका थिए । घटना सेलाउन नपाउँदै अभिभावकको एक समूहले यौन दुर्व्यवहारबाट पीडितलाई नै बर्खास्त गर्न विद्यालय व्यवस्थापन समितिसमक्ष लिखित माग गरेको हो ।

‘शिक्षिकालाई बिनाकारण दोषी देखाएर स्कुलबाट निकाल्ने प्रपञ्च सुरु भएको छ,’ एक शिक्षकले भने, ‘हामी भने यसको तीव्र विरोधमा छौं ।’ अघिल्लो घटनापछि लामो समय मानसिक पीडा भोगेकी उनी हाल थप पीडामा छिन् । ‘मलाई किन चरित्रहीन करार गरेर निकाल्न खोजिएको हो, थाहा छैन,’ उनले कान्तिपुरसँग भनिन्, ‘विद्यालयको मर्यादा र अनुशासनविपरीत कुनै काम गरेको भेटिएमा कारबाही होस् ।’

चन्द्रकला भण्डारी, डिकबहादुर भट्टराईलगायत ७२ अभिभावकले तत्काल उनलाई विद्यालयबाट निष्कासन गर्न माग गरेका छन् । माग पूरा नभए बालबालिका विद्यालय नपठाउने र तालाबन्दी गर्ने चेतावनी पनि दिइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई स्थानीयले साउन १३ गते निवेदन बुझाएका थिए । निवेदनमा महिला शिक्षकलाई ‘चरित्रहीन’ को संज्ञा दिइएको छ । निवेदनमा भनिएको छ, ‘महिला शिक्षकलाई स्कुलबाट बर्खास्त गरी अनुशासित एवं मर्यादित रूपमा विद्यालय सञ्चालन गर्न गराउन शिक्षक/शिक्षिकाहरूलाई निर्देशन दिन हुन सञ्चालक समितिसँग माग गरिन्छ ।’

३ सय १२ विद्यार्थी अध्ययनरत विद्यालयमा १५ शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल पीडित शिक्षकलाई हटाएर आफ्नो नातेदारलाई नियुक्ति गर्ने योजनामा रहेको अन्य शिक्षकहरूको भनाइ छ । ‘त्यही योजना मुताविक ती महिला शिक्षकलाई निष्कासन गर्ने माग अघि बढाइएको हो,’ एक शिक्षकले भने 

प्रधानाध्यापक विशाल भट्टराईले पीडित शिक्षकबाट विद्यालयको अनुशासन उल्लंघन हुने कुनै काम नभएकाले अभिभावकहरूको मागको कुनै औचित्य नरहने बताए । घटना बाहिर आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा आचार्यले मंगलबार राजीनामा दिएका छन् ।

प्रकाशित : श्रावण १८, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

विषादी प्रयोगमा सावधानीको खाँचो

सम्पादकीय

कृषि उत्पादनहरूमा अत्यधिक विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी/फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।

यसरी बाली उत्पादक किसानदेखि आम उपभोक्तासम्म प्रताडित बनिरहँदा पनि विषादीको मात्रा घटाउन भने सरकारी तहबाट खासै पहल भएको पाइँदैन । थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने अभिप्रायले किसानहरूले विषादीको जथाभावी प्रयोग गरिरहेकै छन् ।

धेरै किसान खेतीबालीमा लाग्ने रोगकीरा हटाउन कृषि प्राविधिकको होइन, बीउबिजन र कीटनाशक औषधि बेच्ने स्थानीय पसलेको भर पर्छन् । विषादीको मात्रा तथा मापदण्डबारे मात्र होइन, त्यसको नाम–कामबारे पनि राम्ररी जानकारी नभएका किसानहरूले छर्कने क्रममा सुरक्षा सावधानी पनि अपनाउँदैनन् । कतिले त नाकमुखसमेत नढाकी विषादी छर्किन्छन्, हातमा पन्जासम्म लगाउँदैनन् । यही कारण कति किसान क्यान्सरजस्ता नसर्ने तर घातक रोगबाट पीडित बन्न पुगेका छन् ।

खास गरी तरकारी धेरै फल्ने क्षेत्रहरूमा बढी समस्या देखिएका छन् । उदाहरणका लागि, सर्लाहीको हरिवन, घुर्कौलीमा पाँच वर्षयता क्यान्सर रोगले २२ जनाको मृत्यु भइसकेको छ भने, आधा दर्जनभन्दा बढी बिरामी छन् । बिरामीमध्ये अधिकांशमा छाला तथा रगतको क्यान्सर छ । हरिवनमा मात्रै गत आर्थिक वर्षमा ३६ जना क्यान्सर रोगी नगरपालिकाको सम्पर्कमा आएका थिए । वास्तविक पीडितको संख्या योभन्दा बढी हुन सक्छ । सर्लाहीकै वाग्मती नगरपालिकामा मात्र पाँच वर्षयता १ सय ४६ जना क्यान्सर रोगी पालिकाको सम्पर्कमा आएका छन् । लालबन्दीमा नगरपालिकामा पनि गत आर्थिक वर्षमा मात्र ४४ जना क्यान्सरका नयाँ रोगी पालिकासम्म आइपुगेका थिए । तीमध्ये धेरैजसो तरकारीको व्यावसायिक खेती गरिने क्षेत्रका छन् । अन्यत्र पनि विषादी प्रयोग गर्ने क्षेत्रका मानिसमा क्यान्सरको समस्या देखिएको छ । विषादीकै कारण टाउको–पेट दुख्ने, आँखा पोल्ने, छाला चिलाउने, वाकवाकी लाग्नेजस्ता तत्कालीन समस्या भोग्ने किसानको संख्या त निकै धेरै छ ।

बालीमा रोगकीराको प्रकोप बढेसँगै रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ, माटोको उर्वराशक्ति घट्दो छ । यसको दुश्चक्र कस्तो छ भने, फेरि बढी फलाउन वा बाली खेर जान नदिन किसानहरू विषादीमा जोड दिन्छन्, जसको दुष्परिणाम उनीहरू स्वयंदेखि उपभोक्तासम्मले नै भोग्नुपरेको छ । विषादी छरेको केही दिनसम्म तरकारी टिप्न नहुने भए पनि सबै किसानले यो नियम पालना गर्दैनन् । बजारमा माग बढी र आपूर्ति कम भएकै बेला आफ्नो उत्पादन बिक्री गर्न सकेमा धेरै पैसा पाइने लोभले कतिपय किसानले जानीजानी उपभोक्तासम्म विष पुर्‍याइरहेका छन् । मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको विषादी प्रयोगमा भइरहेको यो लापरबाही रोकिनुपर्छ ।

निश्चय पनि बिचौलिया मात्र मोटाउने बजारचक्रका कारण किसानहरूलाई सरकारले सबै किसिमको ढाडस दिनु आवश्यक छ । त्यसैले उत्पादनमा कुनै असर नपर्ने गरी रासायनिक विषादीको वैकल्पिक विधि प्रयोग गर्न उनीहरूलाई प्रोत्साहन गरिनुपर्छ । गाईवस्तुको पिसाब र वनस्पति प्रयोग गरी बनाइने जैविक विषादीलगायतका वैकल्पिक विधिहरू उनीहरूलाई सिकाउनुपर्छ । रासायनिक विषादी प्रयोगलाई योजनाबद्ध रूपमै निरुत्साहित गर्नुपर्छ । यस्तो विषादी नै प्रयोग गर्दा पनि कृषि प्राविधिकको सल्लाह लिन, मापदण्डको पालना गर्न र स्वास्थ्य सुरक्षा अपनाउन लगाउनुपर्छ । यस अतिरिक्त, सरकारले देशका विभिन्न स्थानमा विषादी मापन मेसिन सञ्चालनमा ल्याई नियमित रूपमा नमुना परीक्षण गर्नुपर्छ । विषादीका कारण खान अयोग्य कृषि उत्पादनहरूलाई बजारमा पठाउन प्रतिबन्ध लगाउनुपर्छ । अरू देशबाट आयातित सामग्रीको हकमा पनि यो नियम लगाउनुपर्छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै मुलुकमा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको ७ लाख ८३ हजार ३ सय ४३ किलो विषादी आयात भएको छ । जानकारहरूका अनुसार अनौपचारिक रूपमा पनि उत्तिकै विषादी भित्रिने गरेको छ । यसबाटै थाहा हुन्छ, कृषि उत्पादनमा कति विषादी प्रयोग भइरहेको छ भन्ने । सरकारले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने २१ प्रकारका विषादीमाथि प्रतिबन्ध लगाएको पनि छ । तर भारतसँगको खुला सीमाका कारण प्रतिबन्धित विषादी भित्रिएर सजिलै बिक्री–वितरण भइरहेको छ । सरकारले यसरी लुकीछिपी भइरहेको हानिकारक विषादी आयात र बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाउनुपर्छ ।

समग्रमा, सरकारले आफ्ना संयन्त्रहरूको उचित परिचालन गरी किसानलाई विषादी र यसको प्रयोगबारे सुसूचित र प्रशिक्षित गर्नुपर्छ, कृषि प्राविधिकहरूको उपस्थिति बढाउनुपर्छ, विषादी परीक्षण स्थलहरू विस्तार गनुपर्छ, र हानिकारक विषादीहरूको बिक्री–वितरण ठप्प पार्नुपर्छ । अनि मात्रै असुरक्षित विषादीको प्रयोगबाट किसान र उपभोक्ता दुवै जोगिन सक्छन् ।

प्रकाशित : श्रावण १८, २०७९ ०६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×