बाँदर बदमासीले हैरान किसान- समाचार - कान्तिपुर समाचार

बाँदर बदमासीले हैरान किसान

जनशक्ति अभावसँगै सिँचाइ, बीउ, रोगकीरालगायत समस्या भोगिरहेका पहाडी जिल्लाका किसान पछिल्लो समय बाँदर बदमासीबाट आजित छन् । खेतबारीको बालीमात्रै होइन, घरमै थन्क्याइएको अन्न र पकाएको खानासमेत जोगाउन मुस्किल हुन थालेको छ । बाँदरकै कारण कतिपयका खेतबारी बाँझो छन् भने थातथलो छाडेर बसाइँ सर्न बाध्य हुनेहरु पनि छन् । 
कान्तिपुर टिम

काठमाडौँ — बाँदरले मकै खाएको देखेपछि अर्घाखाँची छत्रदेव–४ केरुंगाका टंक खनाल धपाउन दौडिएका थिए । अचानक चिप्लिएर लड्दा गम्भीर घाइते भए । उपचारका क्रममा दुई साताअघि उनको मृत्यु भयो । छत्रदेवमा मात्रै दुई वर्षयता बाँदर धपाउन खोज्दा लडेर ६ जना घाइते भएका छन् । यहाँ एक दशकदेखि बाँदरको बदमासी बढेको छ । बाँदरबाट बाली जोगाएर भित्र्याउनु किसानलाई ठूलो चुनौती बन्ने गरेको छ । 

अहिले यहाँका बारीमा मकै खेती छ । ‘बिहानै उठेर साँझसम्म बारीमा चौकीदारी गर्नुपर्छ, नत्र छिनभरमै सखाप पारिदिन्छ,’ बल्कोटका पीताम्बर खनालले भने, ‘हातमा गुलेली, ढुंगा लिएर बस्छौं । बारीमा आउन लाग्दा हान्छौं । ताउला, गाग्री, थाल बजाएर धपाउँछौं ।’ यहाँका बारी छेउमा अस्थायी टहरा बनाइएका छन् । परिवार आलोपालो गरेर टहरा र बारी छेउमा चौकीदारी गर्छन् । खाना, खाजा, पानी झोलामा लगेर जान्छन् । ‘चौकीदारी गर्दागर्दै पनि दिनमा दुई/चारवटा घोगा त भाँचिहाल्छ,’ खनालले भने, ‘बाँदरको ठूलो हूल छ, लेखट्दा लखेट्दै पनि छक्काएर बारीमा छिरिहाल्छ ।’ धेरैजसो गाउँलेले ढोका लगाएर मकै जोगाउन बारीमा पहरा दिन्छन् । स्कुले विद्यार्थी पनि पढाइ छाडेर बारीमै चौकीदारी गर्छन् ।

केरुंगामा मानबहादुर विकले ६ रोपनी बारीमा मकै खेती गरेका छन् । बाँदर नलाग्दा १० मुरी मकै भित्र्याउँथे । ‘हातमा लौरो, ढुंगा र टिन बोकेर वरपर दौडिन्छु,’ उनले भने, ‘तर पनि खाइहाल्छ, अहिले उत्पादनको आधामात्रै भित्रने गरेको छ ।’ हिउँदमा घरभित्र पसेर मकैका बोरासमेत च्यातेर नोक्सान गरिदिने उनले सुनाए । कोही नभएको बेला भित्र पसेर कसौंडीमा पकाएको भात, दाल–तरकारीसमेत बाँदरले खाइदिने गरेको छ । उनका अनुसार माइला दाइ बाँदरकै कारण बसाइँ सरेर तराई गएका छन् ।

केरुंगाकै विमला विकले अन्नबाली जोगाउनै कठिन भएको बताइन् । ‘मकै नजोगाउने हो भने के खाएर बाँच्ने ? गरिब परिवारलाई छाक टार्नै मुस्किल छ,’ उनले भनिन्, ‘उब्जनी भएको आधा अन्न बाँदरलाई हुन्छ, आधा मात्रै भित्र्याउने हो । घर छाडेर बसाइँसराइ गरौं भने जग्गा किन्ने पैसा छैन, बिहानबेलुका छाकको गर्जो टार्नै मुस्किल छ । यतै बसेर खेतीपाती गरेर जीवन निर्वाह गरौं भने बाँदरले केही रहन दिन्न ।’

कक्षा ९ मा पढ्ने यहाँकी वसन्ता पन्थीको दैनिकी साउनयता बारीमै बिनेको छ । पढाइको चिन्तासँगै उनलाई मकै जोगाउने चिन्ता छ । ‘मकै नजोगाउँदा के खाएर पढ्न जाने ? बारीमा चौकीदारी गर्दा पढाइ छुट्छ,’ उनले भनिन्, ‘मकै नभित्र्याउँदासम्म स्कुल जान्नँ । बारीमा टिन, थाल र गाग्री राखेकी छु, बाँदर आउन थाल्यो भने बजाउने, ढुंगा बर्साउने र होहल्ला गरेर लखेट्ने हो । बारीको टहरामा किताब ल्याएर पढ्नसमेत नपाइने उनले गुनासो गरिन् । किताब हेर्न थाल्दा बाँदर पसेर मकै भाँचिसक्ने उनको भनाइ छ ।

यहाँको छत्रदेव गाउँपालिकाका आठवटै वडामा ठूलो संख्यामा बाँदरको हूल बस्छ । सन्धिखर्क नगरपालिकाका वडा ४ र ५ वडाङ्ला, मालारानीको वडा १, २ र ३, पाणिनि गाउँपालिकाको खिदिम, पोखराथोकमा बाँदरको बिगबिगी छ । अन्य पालिकाका बस्तीमा पनि छिटफुट बाँदर लाग्छ । पहिलो स्थानीय तहको चुनावमा उम्मेदवारले बाँदर नियन्त्रण गर्ने भनेरै भोट मागेका थिए । छत्रदेवका निवर्तमान अध्यक्ष लेखनाथ पोखरेलले पहिलो वर्ष बाँदर धपाउन वडैपिच्छे चौकीदारी गर्न ८ लाख रुपैयाँ बजेट छुट्याए । जंगल भएकाले बस्तीबाट लेखट्न सम्भव भएन । त्यसपछि बाँदर धपाउने ‘मेसिन गन’ ल्याएर वितरण गरे । त्यसबाट पनि नियन्त्रण भएन । ‘बाँदर विशेषज्ञकहाँ पनि पुगेर समस्या बताएँ,’ उनले भने, ‘पूरै नियन्त्रण गर्ने उपाय नै भएन । बाँदर वन्यजन्तुभित्र पर्छ, त्यसलाई मार्न कानुनले रोक्छ ।’

गुल्मीको मुसिकोट–६ चिदीपानीकी ३० वर्षीया गोमा पौडेल सोमबार बिहान बाँदर लेखेट्न बारीमा पुगिन् । एक्लै देखेपछि बाँदरको समूह आक्रमण आयो । ‘मकै सखापै बनाए, धपाउन जाँदा बाँदरको समूह नै झम्टिन आयो, आज ठूलो कालबाट बाँचें,’ उनले भनिन्, ‘आफू जता गयो, त्यतै आएर लखेट्न थालेपछि आत्तिएर केही सोच्नै नसक्ने अवस्थामा पुगिएको छ ।’ श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । घरमा उनीसहित दुई छोरी छन् । अहिले बाँदर धपाउँदा घरको काम बिथोलिएको छ । स्थानीय देउकला विकले पनि झिसमिसेमै बाँदर थपाउन बारीमा पुग्ने गरेको सुनाइन् । ‘बाँदरले एकैछिनमा स्वाहा बनाइदिए,’ उनले भनिन्, ‘रुनु न हाँस्नु भएकी छु ।’

बाँदर लेखेट्नकै लागि पवित्रा पौडेलको अहिले बारीमै बास भइरहेको छ । बच्चाबच्चीलाई खाना खुवाएर विद्यालय पठाउने समयमा मकै जोगाउनका लागि बारीमै बस्नुपर्ने बाध्यता सुनाउँदा उनका आँखा रसाए । सोमबार देउकला र पवित्रा मकैका हरिया घोगा भाँच्दै थिए । बाँदरबाट जोगाउन मुस्किल भएपछि हरियै मकै भाँचेको उनीहरूले बताए । ‘बाँदरबाट मकै जोगाएर खान नसक्ने भयौं,’ देउकलाले भनिन्, ‘त्यसैले हरियै भाँच्यौं, बाँदरले खानभन्दा बरु भैंसी, बाख्रालाई घाँस हुन्छ ।’

चिदीपानीकी २८ वर्षीया कमला सापकोटा घरमा एक्लै छिन् । दुई छोरीलाई घरमा छोडेर बिहान ५ बजे बारीमा पुग्छिन् । बाँदर धपाउन दिनभरि चिच्याउँछिन् । श्रीमान् रोजगारीका लागि भारतमा छन् । मकै जोगाउनेसँगै ३ र ९ वर्षकी छोरीको रेखदेखको चिन्ता उनलाई छ । साना छोरीलाई पकाएर ख्वाउने बेला बारी रुङ्न जानुपर्छ । बाँदरले किसानको बाली नष्ट गरेको विषय नगरपालिकालाई जानकारी गराएको मुसीकोट–६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बताए ।

भित्र्याउने बेला बाँदरले अन्नबाली सखाप पारेपछि प्यूठानको स्वर्गद्वारी–५ सारीका प्रेम घर्ती चिन्तित छन् । बिहान उठ्न नपाउँदै बारीमा बाँदर छपक्क भइसक्छन् । ‘बाँदर लखेटेरै दिन बितिरहेको छ,’ उनले भने, ‘आँखा झिमिक्क पार्‍यो कि मकै सखाप ।’ परिवारमा धेरै सदस्य भएका परिवारले पालो गरेर मकै हेरे पनि सानो संख्या हुनेलाई धेरै सास्ती भइरहेको उनले बताए । ‘दिउँसो बाँदर र राति बँदेल पसेर हैरान छ,’ सारीकै उदराम सुनारले भने, ‘वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको रजाइँ टुलुटुलु हेरेर बस्नुको विकल्प रहेन ।’ दुई सातादेखि राम्रोसँग खान सुत्न नपाएको उनले बताए । स्वर्गद्वारी नगरपालिकाको सारी, बेलवास, झोल, गाहेखर्क, सारीकोट, तापकोटलगायत बस्तीमा अहिले बाँदर र बँदेलले अन्नबालीमा क्षति पुर्‍याएको छ ।

प्यूठानका ६४ वडामध्ये सबैजसो वडा र गाउँमा जंगली जनावरले खानु न पिउनु बनाएको किसानको गुनासो छ । ‘जंगल छेउमा त झनै समस्या छ,’ सारीका लीलाराम पुनले भने, ‘सारीको माथितिर बँदेल लागेर हैरान छ, तल माडीखोलातिरका गाउँमा बाँदरले बर्बादै पारेको छ ।’ स्वर्गद्वारी नगरपालिकाको वडा नं ५, ६, ७, ८, ऐरावती गाउँपालिकाका सबै वडामा बाँदर र बँदेलको आतंक अति नै बढेको छ ।

पाल्पाको बगनासकाली–८ बराङ्दीकी देवका बस्यालले बारीमा लगाएको मकै स्याहार्न नपाएपछि एक वर्ष बारी नै बाँझो राखिन् । लगाएको मकै सुरुमा टुसा जोगाउन डर भयो । उम्रेर घोगा हाल्ने क्रममा बाँदरबाट जोगाउनै मुस्किल परेको हो । ‘बिहान उज्यालो भएपछि बेलुकी अँध्यारो हुँदासम्म बाँदर कुरेर बस्नुपर्ने अवस्था आयो,’ बस्यालले भनिन्, ‘अहिले पनि लगाएको खेती स्याहार्न नदिने भएपछि वैकल्पिक उपाय अपनाउन थालिएको छ ।’

पाल्पाको तानसेन नगरपालिका-१, नारनडाँडाका किसान सन्तोष बस्यालले बाँदरले हैरानी बनाएपछि अघिल्लो वर्षदेखि लगाएको सन्तला र कागती । अन्नबाली बाँदरले स्याहार्न नदिएपछि उनी वैकल्पिक खेतीतर्फ लागेका हन् । तस्बिर : माधव अर्याल/कान्तिपुर

तानसेन नगरपालिका–१ नारनडाँडाका सन्तोष बस्याल पनि बाँदरबाट हैरान छन् । लगाएको कुनै पनि खेती बाँदरले स्याहार्न नदिने समस्या छ । जसले गर्दा उनले दुई वर्षयता खेती नै लगाएका छैनन् । ‘बाँदरको हूल लखेट्नसमेत मुस्किल परिसकेको छ,’ उनले भने, ‘बाँदर लाग्ने समस्या समाधानका लागि कसलाई भन्ने हो भन्ने हामी नै बुझेका छैनौं ।’ पाल्पाका निस्दी, रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ, रैनादेवी छहरा, बगनासकाली, तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेवी छहरालगायत स्थानमा बाँदरको आतंक नै बढेको स्थानीयको गुनासो छ ।

तानसेन–१४ अर्गलीकी मनकुमारी पाण्डेयले बाँदरले खेतको मकै आधाआधी खाइदिएको र अब बारीको च्यात्न थालेको बताइन् । उनका अनुसार उज्यालो हुनेबित्तिकै खेतमा बाँदर आइसक्छ । हिउँदमा लगाएका आलु, तरकारी, फलफूल जोगाउनै मुस्किल छ ।

घरभित्रै थन्क्याएको अन्नपातसमेत खान नदिएपछि पर्वतको फलेवास–४ का शोभाकान्त भुसालले पछिल्ला वर्ष मकै, गहुँलगायतका बालीको खेती छाडेका छन् । बाँदर आतंकले जिल्लाभरका किसान आजित छन् । बाँदरका कारण हिउँदे खेती लगाउन छोड्ने किसान जिल्लाभर छन् ।

घनाबस्ती रहेको कुश्मा, वारीबेनी, पातीचौर, फलेबास हुवासलगायत बजार क्षेत्रमा समेत घरघरै बाँदर पस्न थालेका छन् । बार्दली, झ्यालढोका र छतबाट छिरेका बाँदरले घरभित्रको अन्नपात र पाकेको खानासमेत खाइदिन्छन् । ‘पोको पारेको चामल पनि बाँकी राखेन,’ कुश्मा–५ का ताराबहादुर थापाले भने, ‘अहिले त बाँदरका प्रजाति पनि ज्याद्रा भइसकेछन् । धपाउन खोज्दा झम्टिन आउँछन् ।’

कतिपय किसान बाँदरले नोक्सान नगर्ने तोरी, फापर, जौलगायत वैकल्पिक खेतीतर्फ लागेका छन् । बाँदरले नोक्सान कम गर्ने भएकाले गहुँ, आलु र मकैलगायतको विकल्पमा यस्ता बाली लगाउन थालेको जलजला–९ का हिराबहादुर पुनले बताए । बाँदर आतंक रोक्न महाशिला गाउँपालिकाले ०७४ मा ३३ लाख बजेट विनियोजन गरेर ७३४ वटा बाँदर नियन्त्रण लिएर चितवन राष्ट्रिय निकुञ्जमा छाडेको थियो । त्यसपछि यहाँ बाँदर आतंक केही कम भएको स्थानीय बताउँछन् ।

काम लागेनन् नियन्त्रणका उपाय

दोलखाको शैलुङ गाउँपालिका–७ फस्कुकी गोमा विकको दैनिकी बिहानै बारीको डिलमा पुगेर सुरु हुन्छ । दिउँसो परिवारका अर्का सदस्यले पालो दिएपछि उनी खाना खान घर फर्कन्छिन् । यहाँका सबैजसो स्थानीयको दैनिकी गोमाको भन्दा फरक छैन । ‘६ महिना मेहनत गरेको बाली छिनमै बाँदरले तहसनहस बनाइदिन्छ,’ उनले भनिन्, ‘कतिबेला हूल पस्छ पत्तो हुँदैन । नढुकी धरै छैन ।’

बाँदर बदमासीका कारण किसानले पछिल्लो समय खेतबारी बाँझो छाड्न थालेका छन् । अलि बढी जग्गा हुने र परिवारमा दुई/तीन जना वयस्क भएकाहरू घरायसी काम छाडेर मकैबाली जोगाउन बारीमै राति पहरा दिन पुग्छन् । ‘पहिला त बाँदर दिनमा मात्रै दुःख दिन्थे,’ गोमाले भनिन्, ‘अहिले रातिसमेत आउने गरेको छ, कहिलेकाहीं त बारीको डिलमै रात बित्छ ।’

बालबालिका र महिलालाई उल्टै आक्रमण गर्न झम्टिने भएकाले हिँडडुल गर्नै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘आइमाई केटाकेटीलाई अटेर गरेर उल्टै आइलाग्छ,’ अञ्जन बुढाथोकीले भने, ‘बाँदर धापाउन गएका महिला बालबालिकालाई पटकपटक आक्रमण गरेको छ ।’

कतिपय ठाउँमा बाँदरको दुःखले किसान पेसाबाट विस्थापित हुन थालेका छन् । बाँदर आतंकका कारण भीमेश्वर नगरपालिका–८ बाह्रकोचेका १५ परिवार बसाइँ सरेको पूर्ववडाध्यक्ष नकुल केसीले बताए । तरकारी खेतीका लागि प्रख्यात दोलखा सदरमुकाम नजिकैको भीमेश्वर नगरपालिका–३ राउत गाउँका किसानले बाँदरकै कारण खेती छाडेको स्थानीय सञ्जीव राउतको भनाइ छ । ‘बाँदरले तरकारीका बोट नै राख्न थालेन । लगानीभन्दा घाटा बढी हुन थाल्यो,’ उनले भने, ‘मार्न पनि नपाइने, नियन्त्रण गर्न कतैबाट सहयोग नहुने भएपछि गाउनै व्यावसायिक खेतीबाट विस्थापित भएको छ ।’

केही स्थानीय तहले बाँदर नियन्त्रणका लागि भन्दै पड्काउने औजार खरिद गरेर दिने गरेका छन् । औजारबाट समेत बाँदर नियन्त्रण गर्न नसकिएको मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले बताए । ‘सबै वडामा बाँदरको आतंक छ,’ उनले भने ‘मार्न पाइँदैन, स्थानीय तहबाट नियन्त्रणको सम्भावना छैन् ।’ संघीय सरकारलेबाटै अध्ययन गरेर बाँदर नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ छ । कालिञ्चोक गाउँपालिकाले ‘एक घर एक बाँदर’ पाल्ने योजना ल्याए पनि सम्भावना अध्ययन भएको छैन ।

धनकुटा नगरपालिका–१ निगाले गाउँका किसानले त बाँदरबाट जीउज्यान बचाउन माग गर्दै नगरपालिका कार्यालयमा निवेदन नै दिएका छन् । बाँदरकै बिगबिगीका कारण यहाँका किसानले खेतीमात्रै छाडेका छैनन् कतिपय बसाइँसमेत सरेका छन् । छथर जोरपाटीको तेलिया, चौबिसे गाउँपालिकाको कुरुलेतेनुपाका बस्ती बसाइसराइले रित्ता बनेका छन् । पछिल्ला वर्ष बालीनालीसँगै मानिसमाथि नै आक्रमणका घटना हुन थालेपछि जीउज्यान जोगाउन कठिन भएको धनकुटा–१ निगालेका कृषक लीलाबहादुर मल्लले बताए । उनी अध्यक्ष रहेको निगालेको जालपादेवी टोलबस्ती संगठनले गत महिना कृषि उपज र जीउज्यानको सुरक्षाको माग राख्दै नगरपालिकालगायत सरोकारवाला निकायमा निवेदन नै दिएको हो ।

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटामा बाँदर हेरालुका लागि पाँच लाख विनियोजन गरिएको छ । त्यहाँ रहेका बगैंचाका सुन्तला जोगाउन दैनिक ५ सय १७ रुपैयाँमा ८ जना जनशक्ति परिचालन गरिएको कार्यालय प्रमुख उमेशकुमार आचार्यले बताए । असोजदेखि माघ महिनासम्म त्यहाँ सुन्तला रुँग्ने जनशक्ति परिचालन गरिनेछ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार यहाँ पुग्ने सरकारका विशिष्ट व्यक्तिलाई कृषकले बाँदर नियन्त्रणको मुख्य माग राख्ने गरेका छन् । बाँदरको सास्ती अन्त्य गर्न चार वर्षअघि धनकुटा नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो । बाँदर पक्रन दक्ष जनशक्ति ल्याएर केही समय अभियान नै थालेको थियो । धनकुटा–६ ले ‘बाँदर स्थानान्तरण कार्यक्रम’ लागू गरेर ६ सय बाँदर स्थानान्तरण गरेको दाबी गरे पनि ती बाँदर कहाँ छाडियो भन्ने कसैलाई पत्तो छैन । भारतको उत्तर प्रदेशबाट बाँदर समात्न ८ जना व्यक्ति ल्याइएको वडा ६ का तत्कालीन वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन् ।

धनकुटा, भोजपुर, खोटाङ, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभालगायत जिल्लामा बाँदरको समस्या बढी छ । बाँदरको प्रजाति तथा व्यवहार विषयमा विद्यावारिधि गर्दै आएका रामचन्द्र अधिकारीका अनुसार नेपालमा पहरे, रातो बगाले र ढेडु गरी तीन प्रजातिका बाँदर छन् । समस्या समाधानका लागि बन्ध्याकरण सबैभन्दा उत्तम विधि हुने विज्ञहरू बताउँछन् । जंगलमै फलफूल रोप्ने, बालीनाली लगाउने स्थानको छेउछेउ अदुवा, बेसार, खुर्सानी तथा काठजन्य बिरुवा रोपेर पनि नियन्त्रण गर्न सकिने उनीहरूको सुझाव छ ।

वीरेन्द्र केसी (अर्घाखाँची), गगनशिला खड्का (गुल्मी), शमशेरविक्रम जीसी (प्यूठान), माधव अर्याल (पाल्पा), अगन्धर तिवारी (पर्वत), केदार शिवाकोटी (दोलखा) र रमेशचन्द्र अधिकारी (धनकुटा)

प्रकाशित : श्रावण १८, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा बिजुली बेच्दा नेपालले कति शुल्क तिर्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बेचिरहेको छ । अहिले नेपालको करिब ३ सय ६४ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा दैनिक बोलकबोल प्रक्रियाबाट खरिद–बिक्री भइरहेको छ ।

गत असार मसान्तसम्ममा करिब पौने ४ अर्ब रुपैयाँको बिजुली भारतीय बजारमा बेचेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । यसरी बिजुली बेच्दा निश्चित रकम सेवा शुल्कका रूपमा तिर्नुपर्छ । भारतीय बजारसम्म बिजुली पुर्‍याउन प्रयोग हुने प्रसारण लाइन, बिजुली बेच्न मध्यस्थता गरिदिने कम्पनी (नोडल एजेन्सी) र बोलकबोल प्रक्रिया (अक्सन) मा भाग लिएबापत आईईक्सलाई प्राधिकरणले निश्चित शुल्क तिरिरहेको छ ।

विद्युत् प्राधिकरणका अनुसार भारतमा बिक्री भइरहेको बिजुलीमा प्रतियुनिट औसत भारु ५३ (नेरु ८४.८) पैसा सेवा शुल्कका रूपमा खर्च भइरहेको छ । ‘भारतमा बिजुली बेच्दा लाग्ने कुल सञ्चालन खर्च भनेको प्रतियुनिट औसत भारु ५३ पैसा हो । यस्तो शुल्कमध्ये आईईक्सलाई प्रतियुनिट भारु २ पैसा, मध्यस्थकर्ता कम्पनीका रूपमा काम गर्ने एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई प्रतियुनिट भारु १.७५ पैसा (पौने दुई पैसा भारु) र बाँकी रकम ट्रान्समिसन चार्जका रूपमा जान्छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रसारण लाइनलाई तिर्नुपर्ने रकम (ह्विलिङ चार्ज) भनेको जति टाढासम्म बिजुली जान्छ, त्यति बढी हुन्छ ।’ भारतका विभिन्न ठाउँमा बिजुली पुर्‍याउँदा प्रसारण लाइनको शुल्क भारु ४२ पैसादेखि ४९ पैसासम्म तिर्ने गरेको उनको भनाइ छ ।

आईईएक्समा मध्यस्थता गरिरहेका कारण नेपालको बिजुली कहाँसम्म पुग्छ र त्यसका लागि करिडोर चार्ज कति तिर्नुपर्छ भन्ने निर्धारण एनभीभीएनले गर्छ । उल्लिखित सेवा शुल्क भारतको मुजफ्फरपुरभन्दा बाहिर जाने बिजुलीका लागि हो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनका लागि भने नेपालले वार्षिक १ अर्ब रुपैयाँ तिर्ने गरी बुक गरेको छ । अर्थात् नेपाल–भारत बिजुली व्यापारमा ढल्लेबर–मुजफ्फरपुर प्रसारण लाइनको रकम पनि सेवा शुल्कका रूपमा लाग्ने खर्चमा जोडिन्छ ।

नेपालले यस वर्ष बिक्री गरेको बिजुलीमा कुल २१ करोड १० लाख ८१ लाख ७ सय ३४ रुपैयाँ सेवा शुल्कका रूपमा तिरेको प्राधिकरणको तथ्यांक छ । यसमध्ये करिडोर चार्जतर्फ १९ करोड ४३ लाख ६३ हजार ५ सय २२, आईईक्सलाई तिरेको रकम ८९ लाख १६ हजार ३ सय ७९ र एनभीभीएन चार्ज ७८ लाख १ हजार ८ सय ३१ रुपैयाँ रहेको छ । भारतसँगको विद्युत् व्यापारमा नेपालले ८ रुपैयाँ ३२ पैसा खुद नाफा कमाइरहेको प्राधिकरण प्रवक्ता भट्टराईले जनाए । ८४ पैसा सेवा शुल्कसमेत जोड्दा प्रतियुनिट औसत ९ रुपैयाँ १६ पैसामा बिजुली भारतमा बिक्री भइरहेको देखिन्छ । अर्थात् भारतसँगको बिजुली व्यापारमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनले तिने शुल्कबाहेक कुल बिजुली व्यापारको ९.१७ प्रतिशत रकम सेवा शुल्कका रूपमा खर्च भइरहेको छ । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) ले पाउँछ ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भारतलाई करिब १६ अर्ब रुपैयाँ बराबरको बिजुली बेच्ने बताउँदै आएको छ ।

उक्त परिमाणमा बिजुली बिक्री हुँदा (पीटीसीएन) लाई तिर्नुपर्ने शुल्कको अनुपात करिब ६.२५ प्रतिशत बराबर हुन जान्छ । यसरी आईईएक्स, एनभीभीएन र करिडोर चार्जमा ९.१७ प्रतिशत र पीटीसीएनलाई तिर्नुपर्ने ६.२५ प्रतिशतसमेत गर्दा नेपालले कुल बिजुली व्यापारमा १५.४२ प्रतिशत सेवा शुल्कमा मात्र खर्च हुने देखिन्छ । पीटीसीएनमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेड (पीजीसीआईएल) र आईएल एन्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (आईईडीसीएल) को संयुक्त स्वामित्व छ ।

प्रकाशित : श्रावण १८, २०७९ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×