कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेताहरुको माग- 'महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन् । उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भए पनि प्रत्यक्षतर्फ उल्लेख्य महिलालाई उम्मेदवार बनाइनुपर्ने माग गरे ।

कांग्रेस नेताहरुको माग- 'महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्'

महिलाहरुले अहिलेको कानुनमा संशोधन गरेर दुई वा सोभन्दा निर्वाचन क्षेत्र भएका ठाउँमा दलहरुले अनिवार्य महिला उम्मेदवार बनाइनुपर्ने माग गरे ।

पूर्वराज्यमन्त्री एवम् केन्द्रीय सदस्य सीता गुरुङको संयोजनमा काठमाडौंमा भएको निर्वाचन प्रणाली र महिलाको प्रतिनिधित्व विषयक कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन आवश्यक रहेकोमा जोड दिए ।

पार्टीहरुले उम्मेदवारी दिँदा एक तिहाई महिला उम्मेदवार हुनुपर्ने उनीहरुको माग छ । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले आगामी निर्वाचनमा पार्टीले उम्मेदवारी दिने पदमध्ये एक तिहाईमा महिला उम्मेदवार बनाउनुपर्ने माग गरिन् । ‘महिलाहरु हिजो चुनावमा जान डराउँथे होला । तर अहिले त्यस्तो छैन । महिलाहरु पनि चुनाव लड्न तयार छन् । हामी तयार छौं,’ उनले भनिन्, ‘दलहरूमा महिलाप्रतिको पुरानो सोच कायम छ, त्यो हटाइनुपर्छ ।’

उपसभामुख पुष्पा भुसालले राजनीतिक दलहरुले चुनावमा प्रत्यक्षतर्फ नै महिलालाई उम्मेदवार बनाउने र कार्यकारी पदहरुमा समेत महिलालाई अवसर दिने अभ्यास गर्नुपर्ने बताइन् । उनले अब महिलाहरु पनि मुलुकको कार्यकारी प्रधानमन्त्री बन्न सक्षम भइसकेका बताइन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई उम्मेदवार बनाउने र जिताउनेबारे कानुनमै व्यवस्था हुनुपर्ने बताइन् ।

'महिला सक्षम छन् । तर चुनावमा अस्वाभाविक खर्च गर्न महिलालाई स्रोत साधनको अभाव छ । त्यही कारण महिलालाई उम्मेदवार नै नबनाउने चलन छ,' उनले भनिन्, 'त्यसको सट्टा वर्तमान कानुनमै संशोधन गरेर महिला अनिवार्य उम्मेदवार बन्ने र चुनाव खर्चका लागि सरकारले सहयोग गर्ने कानुनी व्यवस्था हुनु आवश्यक छ ।' उनले महिला उम्मेदवारलाई पार्टीले समेत विशेष व्यवस्था गरिदिनुपर्ने माग गरिन् ।

प्रमुख सचेतक चित्रलेखा यादवले पार्टीले महिलालाई मौका दिएर हेर्नुपर्ने बताइन् । 'कानुनले महिलालाई आरक्षण दिएको छ । तर हामी कहाँ अझै पनि कानुनले दिएभन्दा अरु ठाउँ नदिने अभ्यास छ । अब महिलालाई दलहरुले अवसर दिनुपर्छ,' उनले भनिन् ।

कार्यक्रममा उपसभामुख भुसालले नागरिकता विधेयकमा भएका विषय र सवल पक्षहरुका विषयमा धारणा राखेकी थिइन् भने नेता मिनेन्द्र रिजालले निर्वाचनमा महिला सहभागिता र महिलाको प्रतिनिधित्वबारे धारणा राखेका थिए ।

कार्यक्रमको संयोजन गरेकी केन्द्रीय सदस्य गुरुङले राज्यका विभिन्न तहमा महिला प्रतिनिधित्व बढाउन दलहरुले इच्छाशक्ति बढाउन आवश्यक रहेको सुझाव प्राप्त भएको बताइन् । 'दलहरुको इच्छाशक्ति नहुँदा महिलाको प्रतिनिधित्व कमजोर बनेको समीक्षा भयो । अब आउने चुनावमा महिलाहरुले प्रत्यक्षमा नै धेरै उम्मेदवारी दिनुपर्ने र त्यसो भएमा मात्रै समानुपातिकतर्फ पुरुषहरु पनि निर्वाचित हुने अवस्था आउने सुझाव छन्,' उनले भनिन् ।

उनले पार्टीमा वंशाणुगत राजनीति हाबी भएको र तल्लो तहका महिलालाई संघर्ष गरेर राज्यको माथिल्लो तहमा पुग्न सकस हुने अवस्था रहेकोबारे गम्भीर समीक्षा हुनुपर्ने आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सहभागी नेताहरुले सो अवसरमा कांग्रेसबाट विभिन्न पदमा निर्वाचित महिलाहरुलाई नेताहरुले सामूहिक बधाई ज्ञापन तथा सम्मान व्यक्त गरे । पार्टीका महिला नेताहरुले सहमहामन्त्री महालक्ष्मी उपाध्याय, महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, उपसभामुख पुष्पा भुसाल, प्रमुख सचेतक चित्रलेखा यादव र वाग्मती प्रदेशकी राज्यमन्त्री कमला नेपालीलाई सामूहिकरुपमा बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

कार्यक्रममा कांग्रेसको विधानमा महिला प्रतिनिधित्वको व्यवस्था र १४ औँ महाधिवेशनमा महिला सहभागितालगायत विषयमा समेत छलफल भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले ६ सिटमा मात्रै महिलालाई उम्मेदवार बनाएको थियो भने प्रमुख तीन दलबाट जम्मा १७ जनामात्रै महिला उम्मेदवार थिए ।

प्रकाशित : श्रावण १४, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?