कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकाबाहिर ब्राजिल र स्पेनमा मंकीपक्सबाट पहिलो पटक मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्राजिल र स्पेनमा पहिलो पटक मंकीपक्स संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । त्यस्तै स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ, जुन युरोपमै मंकीपक्सबाट भएको पहिलो मृत्यु हो ।

अफ्रिकाबाहिर ब्राजिल र स्पेनमा मंकीपक्सबाट पहिलो पटक मृत्यु

गत हप्ता मात्र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित लिम्फोमा र कम प्रतिरोधी क्षमताको समस्याबाट ग्रसित थिए । ब्राजिलमा अहिलेसम्म १ हजार ६६ जनामा स‌ंक्रमण पुष्टि भएको छ भने ५१३ जनामा संक्रमणको आशंका गरिएको छ । ब्राजिली स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत पुरुषलाई पुरुषसँगको यौनसम्पर्कबाट संक्रमण भएको हो ।

त्यस्तै स्पेनमा अहिलेसम्म ३ हजार ७ सय ५० जनामा संक्रमण भएको छ । त्यसमध्ये ३.२ प्रतिशत अर्थात १२० जना अस्पताल भर्ना भएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म विश्वभर २१ हजार १ सय ४८ जनामा म‌ंकीपक्सको संक्रमण पुष्टि भएको छ । यसअघि मध्य र पश्चिम अफ्रिकी मुलुकमा मंकीपक्स संक्रमण देखिने गरेको थियो । तर यसपटक भने विश्वका ७५ भन्दा बढी मुलुकका मंकीपक्स देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार मंकीपक्स संक्रमणको उच्च जोखिममा समलिंगी तथा बाइसेक्सुअल पुरुषहरू रहेका छन् ।

मंकीपक्स भाइरस सन् १९५८ मा पहिलोपटक खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइयो । मान्छेमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसताका यो संक्रमण कंगो र मध्य एवं पश्चिम अफ्रिकालगायतका मुलुकमा देखिइसकेको छ ।

हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको छैन । तर, मंकीपक्स बिफर (स्मल पक्स) परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्छ । श्वासप्रश्वास, थुक, र्‍याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने जोखिम रहन्छ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको छ । संक्रमण भएदेखि सामान्यतया ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । कहिलेकाहीं यो समय ५ दिनदेखि २१ दिनसम्म पनि हुने विज्ञ बताउँछन् ।

यसको प्रारम्भिक लक्षण मौसमी रुघाखोकी (फ्लु) जस्तै हुन्छ । मंकीपक्स संक्रमण देखिएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, जीउ काम्ने र थकाइ लाग्ने लक्षण देखा पर्छन् । त्यसपछि बिफरमा जस्तै पीप भएको खटिरा आउँछ र त्यो शरीरभरि फैलिएर केही दिनमा सुक्छ । खटिरा सुके पनि बिफरमा जस्तै दाग बस्ने विज्ञहरूको भनाइ छ । संक्रमण जटिल बनेको खण्डमा मस्तिष्क ज्वर, आँखाको दृष्टि गुम्ने, निमोनियाजस्ता थप जटिलता देखिन सक्छन् । हालसम्म मंकीपक्सको संक्रमणको मृत्युदर सामान्य जनसंख्यामा ० देखि ११ प्रतिशतसम्म छ ।

प्रकाशित : श्रावण १४, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?