कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

राणा–चौथाइवाले निरन्तर भेटको अर्थ

राणा आगामी निर्वाचनपछि उपप्रधानमन्त्री र प्रधानमन्त्री बन्ने कसरतमा रहेको कांग्रेसकै नेताहरुले बताइरहेका बेला बुधबार भाजपा विदेश विभाग प्रमुखसँग दिल्लीमा चौथो भेटवार्ता
जगदीश्वर पाण्डे

काठमाडौँ — कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले बुधबार नयाँदिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् । देउवाले पाँचौं पटक सत्ताको नेतृत्व गरेको एक वर्षमा राणा र चौथाइवालेबीच भएको यो चौथो भेटवार्ता हो । उनीहरूबीच निरन्तर भेटवार्ताले निहित उद्देश्य व्यक्तिगत सम्बन्ध विस्तारमा केन्द्रित हो कि पार्टी–पार्टी सम्बन्ध सुदृढीकरणमा भन्ने चासो पनि पैदा गरेको छ ।

राणा–चौथाइवाले निरन्तर भेटको अर्थ

कांग्रेस सभापति देउवा पछिल्लोपटक प्रधानमन्त्री भएको डेढ महिना नबित्दै चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यही बेला राणा र चौथाइवालेबीच सम्बन्ध स्थापनाको आधार तय भएको हो । भदौ ६ गते रक्षा बन्धनको बेलुकी बालुवाटार पुगेका चौथाइवालेलाई राणाले राखी बाँधिदिएकी थिइन्, जसले उनीहरूको सम्बन्धलाई दुई मुलुकका नेताबाट ‘दिदी–भाइ’ मा परिणत गरिदियो । यसलाई ‘राखी कूटनीति’ भनेर टिप्पणी गर्ने गरिएको छ ।

राणाले गत वर्ष पुस र गत जेठमा स्वास्थ्योपचारका लागि दिल्ली गएका बेला पनि चौथाइवालेलाई भेटिन् । गत चैतमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा पनि राणा र चौथाइवाले बीच भेटवार्ता भएको थियो । देउवा दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै पत्नी राणाका साथ दिनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेका थिए । चौथाइवाले र राणाबीचको घनिष्ठ सम्बन्धकै कारण भारतीय सत्तारूढ दलको मुख्यालय भ्रमण तय भएको चर्चा हुने गरेको छ ।

नेपालमा चिनियाँ र अमेरिकी सक्रियता बढ्ने अनुमान भइरहेका बेला भारत सरकार र भाजपाले चौथाइवालेलाई नेपाल मामिलामा सक्रिय रूपमा परिचालन गरिरहेको देखिन्छ । चौथाइवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र मानिन्छन् । अर्कातर्फ प्रधानमन्त्री देउवा पत्नी राणा आगामी निर्वाचनपछि उपप्रधानमन्त्री र प्रधानमन्त्री बन्ने कसरतमा रहेको कांग्रेसकै नेताहरूले बताइरहेका छन् । त्यसैले राणा र चौथाइवाले बीचको निरन्तर भेटवार्तालाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको छ । राणाको शल्यक्रिया सफल भएपछि उनीहरूले बुधबार भेटवार्ता गरेका हुन् ।

नेपालको सत्तारूढ कांग्रेस र भारतको सत्तारूढ भाजपाले एक वर्षयता दलगत सम्बन्ध विस्तारलाई प्राथमिकता दिइरहेका छन् । यसमा पनि आरजु र चौथाइवाले सेतुका रूपमा काम गरिरहेका छन् । भारतीय कंग्रेससँग राम्रो सम्बन्ध भएको नेपाली कांग्रेससँग त्यसअघि भाजपाको पार्टीगत सम्बन्ध थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालाई दुई साताअघि भारत भ्रमण गराउनुमा पनि राणाकै भूमिका रहेको अड्कल गरिएको छ । राणा असार २६ मा उपचारका लागि दिल्ली जानुअघिसम्म दाहालको भारत भ्रमणबारे गाइँगुइँ पनि थिएन । पछि एकाएक दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दिल्ली जाने खबर सार्वजनिक भयो । भूराजनीतिक जानकार चन्द्रदेव भट्ट राणा दिल्लीमा उपचारकै लागि गए पनि यसरी पटक–पटक भेटवार्ता गर्दा कांग्रेस र भाजपाको सम्बन्ध थप बलियो बन्ने बताउँछन् । बालुवाटारबाट सुरु भएको राणा र चौथाइवालेको सम्बन्ध कसिलो बन्दै गइरहेको उनको विश्लेषण छ । ‘आरजुले कांग्रेस र भाजपा बीचको सम्बन्धलाई बढावा दिन व्यक्तिगत स्तरमै काम गरेकी छन्,’ भट्टले भने, ‘भाजपाले उनलाई हेर्ने नजर बदलिएको छ । उनले भारतको संस्थापन विश्वास जितेको देखिन्छ ।’

भट्टले भाजपा अझै केही समय भारतीय सत्तामा रहने सम्भावना रहेकाले राणा र चौथाइवालेले विस्तार गरेको सम्बन्धले कांग्रेस र भाजपा दुवैलाई फाइदा हुने बताउँछन् । ‘अहिले भारत सरकारले पाँच दलीय गठबन्धनलाई नै बलियो बनाउन चाहेको देखिन्छ,’ उनले भने । केही समयअघिसम्म नेपालका कुनै पनि राजनीतिक दलसँग भाजपाको सम्बन्ध थिएन । नेपालमा २०१५ को नाकाबन्दीपछि भारतले लिएको ‘ह्यान्ड अफ अप्रोच’ (विकास निर्माणमा हात हाल्ने, राजनीतिक विषयमा संलग्न नहुने) मा केही परिवर्तन भएको भट्टले टिप्पणी गरे ।

भारतका लागि पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय भने राणा र चौथाइवालेबीचको निरन्तर भेटवार्ताले व्यक्तिगत सम्बन्ध मात्र विस्तार गर्ने बताउँछन् । ‘व्यक्तिगत जति सम्बन्ध बढाए पनि भयो तर त्यसले कांग्रेस पार्टी र मुलुकलाई फाइदा हुने देखिन्न,’ उनले टिप्पणी गरे । उनीहरूको भेटवार्ता भारतसँग जोडिएका नेपालका समस्या समाधानतर्फ केन्द्रित नरहेको उपाध्यायको बुझाइ छ ।

प्रकाशित : श्रावण १२, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×