३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

किन पड्किरहन्छ अमेरिकामा बन्दुक ?

व्यक्तिगत सुरक्षाका लागि बन्दुक राख्नु वा प्रयोग गर्न पाउनु अमेरिकी नागरिकको नैसर्गिक अधिकारमा पर्छ तर यस्ता हतियार नै निहत्थाको मृत्युको कारक बनिरहेका छन् । विद्यालयका कलिला बालबालिका मुख्य रूपमा यसको सिकार बनिरहेका छन् ।
सन् १९६८ देखि सन् २०१७ सम्म बन्दुकजन्य घटनामा परी अमेरिकामा मात्रै करिब १५ लाख जनाको ज्यान गएको छ । यो संख्या सन् १७७५ मा सुरु अमेरिकी स्वतन्त्रता संग्रामयताका सबै युद्धमा मारिएका अमेरिकी सैनिकको भन्दा बढी हो ।
विमर्श कँडेल

काठमाडौँ — वेलिङ्टनकी कोल्वी सु वेदर्सले कालो हाई–पोइन्ट पिस्तोल किनेको एक महिना मात्रै भएको थियो । उनलाई आफैंलाई क्षति पुर्‍याउन खोज्ने, काल्पनिक पात्र खडा गरेर एकोहोरो संवाद गर्ने र औषधि बनिनसकेको ‘पारानोइड सिजोफ्रेनिया’ नामक रोग लाग्यो । रोगको प्रकृति बुझेपछि बुबा टेक्स डिलनाले उक्त पिस्तोल लुकाइदिए । 

किन पड्किरहन्छ अमेरिकामा बन्दुक ?

आमा जनेत डिलना पनि गम्भीर मानसिक रोगबाट ग्रसित छोरीले दोस्रो पटक बन्दुक किनोस् भन्ने चाहन्नथिन् । तर, छोरीको लगातारको ढिपीका बीच सम्भावित भवितव्यको आशंका र सचेतता अपनाउँदै जनेतले सन् २०१२ जुन २५ मा स्थानीय प्रशासनका अधिकारी, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटीएफ) र फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई यसबारे सूचना दिइन् ।

जनेतले अघिल्लो पटक छोरीले बन्दुक किनेको ओडिसा गन एन्ड पौन सपका म्यानेजर डेरिक ड्याडीलाई जुन २७ को बिहान ९ बज्नुअगावै फोन गरेर भनिन्, ‘म एक आमाका रूपमा तपाईंसँग याचना गर्छु, उनी पसलमा आए कृपया बन्दुक नबेच्नुहोला ।’

जनेतको आग्रह र पसल आएकी कोल्वीको हतास र थकित अवस्था बेवास्ता गर्दै डेरिकले बिहान ११ बजेतिर बन्दुक बेचे । ४५–क्यालिबर हाई–पोइन्ट सेमिअटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली किनेबापत कोल्वीले २५७.८५ डलर तिरिन् । कोल्वी झन्डै १ घण्टापछि घर पुगिन् र कम्प्युटरमा काम गरिरहेका बुबा टेक्समाथि गोली दागिन् । ‘मलाई थाहा छ म जेल जानुपर्छ । आफैंमाथि गोली चलाउन भने सकिनँ,’ मध्याह्न १२:१२ बजे कोल्वीले आकस्मिक सहायता नम्बर ९११ मा फोन गरेर ४० वर्षीय बुबाको हत्या गरेको जानकारी दिइन् । १२:२३ बजे मिसौरी राज्यको सामाजिक सेवा कार्यालयमा काम गरिरहेकी आमा जनेतलाई म्यासेज गरिन्, ‘बुबा अब रहनुभएन ।’ पिस्तोल बिक्रीबाट डेरिकलाई ६० डलर आम्दानी त भएको थियो तर त्यसको एक घण्टाभित्रै एक व्यक्तिको ज्यान गयो ।

अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हातहतियार प्रयोग गर्नु वैधानिक मानिन्छ । तर, सुरक्षाका लागि दिइने यस्ता हतियारको दुरुपयोग बढ्दो छ । सामूहिक गोलाबारीको शृंखला एकपछि अर्को गर्दै दोहोरिरहेको छ । त्यसमा पनि विद्यालयका कलिला बालबालिका मुख्य रूपमा सिकार बन्दै गइरहेका छन् भने किशोर र युवाका हात रगतले सिञ्चिएका छन् ।

टेक्सासको युभाल्डीस्थित रोब एलिमेन्ट्री स्कुलको कक्षा ४ मा प्रवेश गरी १८ वर्षीय बन्दुकधारी साल्भाडोर रामोसले गत मे ४ मा अन्धाधुन्ध गोली चलाए । जसका कारण ७–१० वर्ष उमेर समूहका १९ बालबालिकासहित २१ जना मारिए । विद्यालय आउनुअघि उनले घरमा आफ्नी हजुरआमामाथि समेत गोली प्रहार गरेका थिए । आक्रमणको अघिल्लो दिन उनले वैधानिक रूपमै ह्यान्डगन, सेमिअटोमेटिक राइफल र त्यसको ३७५ राउन्ड गोली किनेको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिए ।

सामूहिक गोलाबारीको घटना गत जुलाई ४ मा इलिनोय राज्यको हाइल्यान्ड पार्कमा दोहोरियो । स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेडमा सहभागीमाथि २१ वर्षीय रोबर्ट क्रिमोले गोली चलाउँदा ८ जनाको ज्यान गयो । दर्जनभन्दा बढी घाइते भए । घटनास्थल तथा क्रिमोको घरमा खानतलासी गर्दा ५ वटा राइफल फेला परे । ती हतियार उनले गत वर्ष खरिद गरेका थिए । उनले सन् २०१९ डिसेम्बरमा लाइसेन्सका लागि आवेदन दिएको र त्यसमा उनकै बुबा साक्षी बसेको पाइएको छ ।


अमेरिकाको फिलाडेल्फियास्थित कला संग्राहलयमा गत जुलाई ४ मा आतशबाजी हेरिरहेको भीडमा भएको गोलीबारीपछिको घटनास्थल । तस्बिर : एपी

अमेरिकामा बन्दुकजन्य हातहतियार सहजै किन्न सकिन्छ । जसरी हतियार बिक्रीको अनुपात बढिरहेको छ, उसैगरी तिनै हतियार प्रयोगबाट मृत्यु (हत्या, आत्महत्या, अन्जानमा र कारण नखुलेको) को ग्राफ पनि उकालो लागिरहेको छ ।

युवामा बढ्दो बन्दुक मोह

अमेरिकामा सन् १९६८ देखि सन् २०१७ सम्म बन्दुकजन्य घटनामा परी करिब १५ लाख व्यक्तिको ज्यान गएको छ । यो संख्या सन् १७७५ को अमेरिकी स्वतन्त्रता संग्रामयता भएका सबै युद्धमा मारिने अमेरिकी (करिब १२ लाख) को भन्दा बढी भएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यांक छ । सन् २०२२ मा मात्रै अमेरिकामा २१४ वटा सामूहिक गोलाबारीका घटना भइसकेका छन् । जसमा औसतमा ४ वा सोभन्दा बढी मानिसको मृत्यु भएको देखिन्छ । सन् २००९ यता यस्ता घटना भएका विद्यालयको संख्या २८८ पुगिसकेको छ ।

न्यु इंग्ल्यान्ड जर्नल मेडिसिनमा गत अप्रिल २० मा प्रकाशित सीडीसीको शोधको निष्कर्ष पनि ‘राज्य युवालाई मृत्युको मुखमा पुग्नबाट बचाउन असफल भइरहेको’ उल्लेख छ । सन् २०२० मा मात्रै बन्दुकजन्य घटनामा परी ४५ हजार २ सय २२ अमेरिकीको मृत्यु भएको शोधको आँकडा छ, जसमध्ये १९ हजार ३ सय ८४ जना (४३ प्रतिशत) को हत्या भएको थियो । यस्तो संख्या सन् १९९९ देखि सन् २०१४ सम्म स्थिरजस्तै देखिए पनि त्यसपछि १३.५ प्रतिशतले बढेको देखिन्छ । तर, सन् २०१९ को तुलनामा सन् २०२० मा ३३.४ प्रतिशतले र एक दशकअघिको भन्दा ७५ प्रतिशतले अकासिएको सीडीसीको ठहर छ । यस अवधिमा बन्दुकको प्रयोगबाट हुने आत्महत्याको घटनामा समेत वृद्धि भएको (१.१ प्रतिशत) छ । बन्दुकजन्य घटना र यसबाट हुने मृत्युमा सबैभन्दा बढी प्रभावित युवा र बालबालिका छन् ।

सन् २०१६ सम्म सवारी दुर्घटनाका कारण धेरै युवा र बालबालिकाको मृत्यु हुने गरेको थियो तर त्यसयता क्रमश: बन्दुकजन्य घटना मृत्युको प्रमुख कारक बनिरहेको छ । सन् २०१९/२० मा पनि १–१९ वर्ष उमेर समूहमा बन्दुकका कारण हुने मृत्यु समग्रमा २९.५ प्रतिशतले बढेको (४३ सय जना) छ ।

कोरोना महामारीका समयमा अन्य मुलुकमा मास्क र दैनिक उपभोग्य वस्तु किन्नेको चाप बजार र पसलमा देखिँदा अमेरिकामा भने असुरक्षा बढेको भन्दै बन्दुक पसलमा लामो लाइन लागेको थियो । सन् २०२० मा २ करोड र सन् २०२१ मा १ करोड ८५ लाख थान बन्दुक बिक्री भएको छ, जुन अमेरिकी इतिहासमै हालसम्मको उच्च हो । व्यक्तिगत सुरक्षाका नाममा मात्रै अहिले अमेरिकामा ४० करोड थानभन्दा बढी बन्दुक प्रयोगमा रहेको बताइन्छ । सन् २०१८ मा स्वीट्जरल्यान्डको अनुसन्धान परियोजना स्मल आम्र्स सर्भेले प्रति १०० अमेरिकीको साथमा १२०.५ थान बन्दुक रहेको तथ्यांक सार्वजनिक गरेको थियो । सन् २०११ मा यो संख्या ८८ थान मात्र थियो ।

पछिल्लो समय अर्धस्वचालित पिस्तोल र राइफलको बिक्री बढ्दो छ । प्रयोग गर्न सहजताका कारण पनि यसप्रति युवा आकर्षण बढिरहेको हो । गत फेब्रुअरीमा एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अर्को एक शोधका अनुसार सन् २०२१ को जनवरी–अप्रिलसम्म बन्दुक खरिद गर्ने वयस्कमध्ये ७५ लाखले पहिलो पटक प्रयोग गर्दै थिए । यो संख्या अमेरिकाको जनसंख्याको ३ प्रतिशत हो । नयाँ खरिदकर्तामध्ये आधाजसो महिला र ४० प्रतिशत निग्रो समुदायका रहेको पनि उक्त शोधमा जनाइएको छ । यसमा कोरोना महामारीबारे भ्रम फैलाई आफ्नै नागरिकलाई संयमित र सुरक्षित बनाउन ट्रम्प सरकार चुक्नु तथा उग्र राष्ट्रवादका नाममा राज्य तहबाटै वर्ण र वर्ग विभेदलाई प्रश्रय दिनुलाई प्रमुख कारण मानिएको छ ।


ओहायो राज्यको अक्रोन शहरमा गत जुन ३० मा प्रहरीको गोली लागि मारिएका जेल्यान्ड वार्करकी आमा पमिला वाल्कर भावविह्वल अवस्थामा । तस्बिर : एपी

सीडीसीकै अनुसार अहिले दिनहुँ ५३ अमेरिकीको हत्या हुने गरेको छ । जसमध्ये ७९ प्रतिशत हत्यामा बन्दुककै प्रयोग भएको देखिन्छ । यो तथ्यांक व्यक्तिगत रूपमै बन्दुक राख्न पाइने मुलुक क्यानडा, इंग्ल्यान्ड, वेल्स, अस्ट्रेलियालगायतको भन्दा धेरै उच्च हो । इंग्ल्यान्डमा ४ प्रतिशत, अस्ट्रेलियामा १३ प्रतिशत र क्यानडामा ३७ प्रतिशत हत्यामा मात्रै बन्दुक प्रयोग हुने गरेको छ । कोरोना महामारी सुरु भएयता ‘सार्प सुटर’ (निसानेबाज) बाट ‘मास एट्याक’ (सामूहिक आक्रमण) का घटना त्यसअघिको भन्दा दोब्बरले बढेको एफबीआईकै रिपोर्ट छ ।

किन बढ्दै छ बन्दुक दुरुपयोग ?

अमेरिकामा केही वर्षयता बन्दुकको दुरुपयोग मानवीय र सामाजिक सुरक्षाका निम्ति प्रमुख चुनौती बन्दै गएको छ । विशेषगरी युवा मस्तिष्कमा बन्दुकप्रतिको मोह बढ्नु र पटक–पटक आक्रमणका घटना हुनुमा पछाडि हतियारसम्म सहज पहुँच, पारिवारिक समन्वय र पर्यवेक्षणमा कमी, मानसिक रोग, वर्ग, वर्णलगायतका आधारमा समाज र विद्यालयमा हुने भेदभाव, बदनामी, युवा जोस, हिंस्रक मिडिया सिद्धान्त, साहित्यिक पुस्तकका पात्र, नियम–कानुनमा फितलोपनलगायत कारणलाई मुख्य औंल्याइएको छ । यसलाई निरुत्साहित गर्न विज्ञहरूले अमेरिकीको मानसिक–सामाजिक अवस्थामा सुधार र राज्यले बन्दुक प्रयोगसम्बन्धी कानुनमा कडाइ गर्नुपर्नेमा विशेष जोड दिने गरेका छन् ।

अमेरिकामा मानव मृत्युका कारणमध्ये आत्महत्या शीर्ष १० कारणभित्रै पर्छ । सीडीसीका अनुसार सन् २०२० मा बन्दुक प्रयोगबाट आत्महत्या गर्नेको संख्या २४ हजार २ सय ९२ (५३.४ प्रतिशत) छ । तर आत्महत्याको प्रयास गर्नेमध्ये विष वा अधिक औषधि सेवन गर्ने ३ प्रतिशत मात्रै र बन्दुक प्रयोग गर्ने ८५ प्रतिशत सफल हुने गरेको हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको तथ्यांकले जनाउँछ । आत्महत्याका घटनामा बढ्दो बन्दुकको प्रयोगलाई लिएर विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । बदला, रिस, आवेगका अलावा कतिपय अवस्थामा मानसिक अवस्था सबल र सक्षम नभएकाहरूको हातमा बन्दुक पर्दासमेत यस्तो घटना भइरहेको उनीहरूको भनाइ छ । तर, मानसिक रोगी बन्दुकसहित सामूहिक आक्रमणमा उत्रिएका घटना निकै कम छन् ।

हार्वर्ड मेडिकल स्कुलकी फिजिसियन डा. अदिती निरुरकर भने अमेरिकामा मानसिक रोगका कारण बन्दुकजन्य हिंसा बढिरहेको भन्नु एक बहाना मात्रै भएको बताउँछिन् । ‘अमेरिकामा अन्य मुलुकको तुलनामा मानसिक रोगको दर उच्च छैन, जति बन्दुकजन्य हिंसाको छ,’ उनले भनेकी छन्, ‘मेरै अनुभवले पनि भन्छ कि अक्सर मानसिक स्वास्थ्य समस्या भएकाहरूले अरूलाई गोली हान्दैनन्, उनीहरू आफैंलाई क्षति पुर्‍याउन खोजिरहेका हुन्छन् ।’ अहिले हरेक घटनापछि आमरूपमा ‘आक्रमणकारी मानसिक रोगी थियो कि †’ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले बहसलाई अर्कै सिराबाट थाल्नुपर्नेमा जोड दिएकी छन् । ‘अमेरिकीको मानसिक अवस्था र मानसिक रोगलाई जबर्जस्ती घानमा हाल्न खोजिएको मात्र हो, खासमा बन्दुक प्रयोगमा कडाइ सार्वजनिक स्वास्थ्य मुद्दा हो । अब यसबारे बहस गर्न राष्ट्रियस्तरमै अर्को परिधि खोज्नुपर्ने भइसकेको छ,’ उनले भनेकी छन् ।

विश्व स्वास्थ्यसम्बन्धी तथ्यांक र प्रभावबारे अध्ययन गर्ने युनिभर्सिटी अफ वासिङ्टनअन्तर्गत इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसन (आईएचएमई) का अनुसार अहिले पनि प्रत्येक एक लाख अमेरिकीमा २० वर्षमुनिका २.२ जना युवा हरेक दिन बन्दुकजन्य हिंसाकै कारण मारिइरहेका छन् । यस आधारमा पनि सन् ८० को दशकमा अमेरिकीमाझ चुरोट र अहिले बन्दुकप्रतिको बुझाइ र प्रयोग एकै अवस्थामा रहेको भन्न सकिने डा. निरुरकरको निचोड छ । ‘अमेरिकी जनताको बदलिने र बदल्ने इच्छाशक्तिकै कारण धेरै हदसम्म चुरोटविरुद्ध जित निकाल्यौं,’ उनले थपिन्, ‘अमेरिकीहरु चुरोटमा जस्तै अहिले बन्दुक र बन्दुकजन्य हिंसामाथि सख्त नियन्त्रण चाहन्छन् ।’

बढ्दो बन्दुक प्रयोगको प्रमुख कारण संस्कृति र राजनीतिलाई मान्छन्, ब्लुमबर्गका स्तम्भकारसमेत रहेका सामाजिक अध्येता फ्रान्सिस विल्किन्सन । ‘बन्दुक अब अमेरिकीमाझ संस्कृति नै बनिसकेको छ,’ उनी भन्छन्, ‘यही संस्कृतिको प्रभाव राजनीतिमा यतिसम्म छ कि बन्दुक प्रयोगमा नियमन गर्ने सवालमा सरकार, अदालत र नेसनल राइफल एसोसिएसन (एनआरए) को नीतिमा तपाईं विरोधाभास पाउनुहुन्छ ।’ प्रयोगमा प्रतिबन्ध नलगाए पनि कानुन बनाई नियमन मात्रै गर्न सके धेरै मानिसको ज्यान जोगिने उनको तर्क छ । ‘बन्दुकको प्रकृति, राख्न र प्रयोग गर्न सकिने स्थान तथा कसले बन्दुक राख्न पाउने भनेर कडाइ गरिदिए धेरै सुधार देखिने थियो,’ उनको सुझाव छ ।


टेक्सासको युभाल्डीस्थित रोब एलिमेन्ट्री स्कुलमा गत मे ४ मा २१ जनाको ज्यान जानेगरी भएको गोलाबारीपछि चिन्तित अभिभावक । तस्बिर : रोयटर्स

आपराधिक मनोवृत्ति भएको व्यक्तिका सामु जुनसुकै अवरोध तेर्साइदिए पनि उसले सहजै बन्दुक प्राप्त गर्न सक्ने अवस्थामा सुधारको खाँचो देख्छन् अमेरिकाको नर्थइस्ट युनिभिर्सिटीका अपराध, कानुन र सार्वजनिक नीतिशास्त्रका प्राध्यापक जेम्स एलन फक्स । ‘त्यसमाथि त्यस्तो व्यक्तिलाई सजिलै चिन्न र घटना घटाउनुअघि नै रोक्न झनै कठिन छ,’ उनी भन्छन्, ‘तर बन्दुक बिक्री गर्नुअघि खरिदकर्ताको पृष्ठभूमि जाँच अनिवार्य गर्नैपर्छ ।’

बन्दुकको नालमा सरकार, संसद् र अदालत

अमेरिकी संविधानले नै नागरिकलाई हतियार राख्न पाउने अधिकार दिएको छ । सन् १७९१ डिसेम्बर १५ मा योसहित अन्य ९ वटा अधिकारलाई संविधानमा नैसर्गिक अंकित गरिएको थियो, जसलाई ‘बिल अफ राइट्स’ भनिन्छ । अमेरिकीबीच नै वर्ग र वर्णका आधारमा रहेको फराकिलो खाडल, आर्थिक स्तर, हतियारको पहुँच र शक्तिलगायतका कारण झन्डै डेढ शताब्दीसम्म यो अधिकार सीमित व्यक्ति र समुदायको घेराभित्रै रह्यो । औद्योगिक क्रान्तिसँगै बढेको अमेरिकीको जीवनस्तर र थिचोमिचोविरुद्ध आवाज उठाउने अभ्यासले क्रमश: यसको पहुँच सर्वसाधारणसम्म पनि पुग्न थाल्यो । यसलाई आवाजविहीनको शक्ति बनेको रूपमा अर्थ्याउन थालियो, सँगसँगै बन्दुकबाटै बित्थामा निहत्था नागरिक मारिने क्रम पनि बढ्यो ।

एकपछि अर्को गोली प्रहारका घटनापछि हतियारमाथि प्रतिबन्ध लगाउन तत्कालीन बिल क्लिन्टन सरकारमाथि चौतर्फी दबाब बढ्यो । उसो त डेमोक्रेटिक पार्टी पहिलेदेखि नै हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमै थियो । कंग्रेस र सिनेट दुवै सदनबाट पारित भएपछि सन् १९९४ सेप्टेम्बर १३ मा ‘भायोलेन्ट क्राइम कन्ट्रोल एन्ड ल इन्फोर्समेन्ट एक्ट’ मा तत्कालीन राष्ट्रपति क्लिन्टनले हस्ताक्षर गरे । उक्त कानुनअन्तर्गतको फेडरल असल्ट विपन्स ब्यान (एडब्लूबी) मा नागरिकको प्रयोगका लागि सेमिअटोमेटिक बन्दुक, पिस्तोल र केही प्रकारका म्यागेजिनहरूको उत्पादनमा रोक लगाउने व्यवस्था थियो । १० वर्षका लागि जारी उक्त प्रतिबन्ध सन् २००४ सेप्टेम्बर १३ मा निष्क्रिय भयो । तोकिएको समयभित्र संशोधन गरिसक्नुपर्ने प्रावधान (सनसेट प्रोभिजन) भए पनि त्यसो नहुँदा उक्त व्यवस्थाले निरन्तरता पाउन सकेन । ऐन संशोधन नगर्दा संवैधानिक चुनौती आउन सक्ने भन्दै रिट दायर भए पनि सर्वोच्च अदालतले सबै रिट खारेज गरिदियो । प्रतिबन्धलाई लम्ब्याउन त्यसपछि पनि सरकार र सदनबाट निरन्तर प्रयास भइरह्यो तर सबै खेर गए । बरु प्रतिबन्धका कारण समग्र आपराधिक गतिविधि, बन्दुकजन्य हिंसालगायत नियन्त्रणमा खासै प्रभाव नपरेको सिद्ध गर्न खोजियो ।

सिनेटरहरूले सन् २००३–०८ मा समूहगत रूपमै पटक–पटक हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव ल्याए पनि कुनैलाई सिनेटको विधायन समितिले निर्णयार्थ पेस गरेन । सन् २००८ को राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट उम्मेदवार बराक ओबामाले निष्क्रिय भएको ‘फेडरल असल्ट विपन्स ब्यान’ लाई स्थायित्व दिने चुनावी एजेन्डा अघि सारे । तर, त्यसै वर्ष सर्वोच्च अदालतले आत्मरक्षाका लागि परम्परागत रूपमा घरमा बन्दुक राख्न र प्रयोग गर्न पाउनु अमेरिकी नागरिकको संवैधानिक अधिकार भएको र त्यसमा प्रतिबन्ध नलाग्ने फैसला गरिदियो । ‘ह्यान्डगनमाथि प्रतिबन्ध लगाउने तथा राइफल्स र सटगनमा गोली लोड नगरी वा ट्रिगर लक गरेर राख्नुपर्ने जस्ता प्रावधानले संवैधानिक अधिकारलाई कुण्ठित गर्नेछ,’ फैसलामा भनिएको छ । अदालतले हतियार राख्न पाउने समय असीमित नहुने तथा हतियार र प्रयोगकर्ता दुवैमाथि नियमन भने जारी राख्नुपर्ने भन्दै सरकारमाथि निर्देशनात्मक आदेश दिएको थियो ।

सन् २०१२ डिसेम्बर १४ मा कनेक्टिकट राज्यको न्यु टाउनस्थित स्यान्डी हुक इलिमेन्ट्री स्कुलमा २० वर्षीय बन्दुकधारी एडम लान्जाले अन्धाधुन्ध गोली चलाउँदा २० बालबालिकासहित २६ जनाको ज्यान गएपछि पुन: हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज चर्किन थाल्यो । सन् २०१३ जनवरी २४ मा सिनेटर डिआन फेन्सटिनले स्थायी रूपमै नागरिकलाई हतियार प्रयोग गर्न दिन नहुने व्यवस्थासहितको विधेयक सिनेटमा दर्ता गराइन् । विधायन समितिले बहसका लागि उक्त विधेयक प्रस्तुत गरे पनि सिनेटमा रहेको अल्पसंख्यक समूहले भिटो (फिलिबुस्टर) प्रयोग गर्दा निर्णयार्थ मतदानमा जान सकेन ।

कार्यकाल सकिनै लाग्दा ओबामा सरकारले मानसिक रूपमा अक्षम र रोगी व्यक्तिलाई बन्दुक प्रयोग र साथमा राख्न अनुमति नदिने निर्णय गरेको थियो । तर, राष्ट्रपति पदमा बहाली भएको एक महिनामै (सन् २०१७ फेब्रुअरी) डोनाल्ड ट्रम्पले उक्त व्यवस्था उल्टाइदिए । हतियार प्रयोग र खरिदबिक्रीमा रिपब्लिकन पार्टीले ट्रम्प सरकारका पालामा झन् उदारता देखायो । त्यसबीचमा ट्रम्प आफैं घृणा फैलाउने वक्तव्य (हेट स्पिच) दिन तल्लीन रहे । यसले अमेरिकीबीच सामाजिक सद्भाव मात्रै खलबलिएन, असुरक्षित भएको भन्दै बन्दुक किन्नेको संख्या पनि बढ्यो ।


वाल्करको हत्याको विरोधमा बाबुसँगै प्लेकार्ड लिएर उपस्थित ४ वर्षीय बालक । तस्बिर : एपी

ट्रम्पको कार्यकालमा अमेरिकाबाट विश्वभर हुँदै आएको हतियारको कारोबार पनि अकासिएको थियो । ट्रम्प सरकारको अन्तिम वर्ष अमेरिकाले १ खर्ब ७५ अर्ब डलर बराबरको हतियार विदेशमा बिक्री गरेको थियो । जुन त्यसअघिको आर्थिक वर्षभन्दा झन्डै ३ प्रतिशतले बढी हो । लस एन्जलस टाइम्सले लेखेको छ, ‘हतियार उत्पादनमा लगानी ट्रम्प नेतृत्वमा आउँदाको पहिलो वर्षको तुलनामा अन्तिम वर्षमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।’

यता, डेमोक्र्याट नेता जो बाइडनले नेतृत्वमा आएपछि हतियारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अघि त सारे तर सिनेटमा रिपब्लिकन समर्थक सिनेटरले भिटो प्रयोग गर्दै पुन: असफल तुल्याइदिए । युभाल्डी घटनापछि बाइडनले भावनात्मक अभिव्यक्ति दिँदै भनेका थिए, ‘हर बाबुआमाका लागि, हर अमेरिकी नागरिकका लागि हामीले यहाँका हरेक जनप्रतिनिधिलाई सचेत गराउनुपर्ने भएको छ कि यसविरुद्ध अब कदम चाल्ने समय आएको छ ।’ व्यक्तिगत रूपमा हतियार प्रयोगबारे नयाँ कानुन आवश्यक रहेकामा जोड दिँदै उनले कानुन निर्माणमा बाधक बन्नेको पनि खराब समय आएको चेतावनी दिएका थिए ।

सीएनएनका वरिष्ठ राजनीतिक विश्लेषक रोनाल्ड ब्रोनस्टेन भने अमेरिकीहरूले बन्दुकमाथिको प्रतिबन्ध नै बन्दुकजन्य हिंसासँग जोडिएका सबै समस्याको समाधान हो भन्ने नमानेसम्म अवस्था नफेरिने दाबी गर्छन् । ‘निर्णायक बहुमत बन्दुकमाथि प्रतिबन्धका पक्षमा उभिएको दिन मात्रै बाइडेनको अपिल सार्थक हुनेछ,’ उनी भन्छन्, ‘नत्र हरेक हत्याकाण्डपछि कानुनमाथिको भद्दा नाच दोहोरिरहनेछ । कंग्रेसमा अपराधीलाई कारबाहीको माग पनि जोड–जोडले उठ्नेछ । तर, बन्दुकमाथिको नियन्त्रण चाहने आवाज निराश हुनेछ । आमनागरिकमा उही हैरानीले छोप्नेछ ।’ भिटो प्रयोगसम्बन्धी प्रावधान (फिलिबुस्टर) मा सुधार वा पूर्णरूपमा निस्तेज बनाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको उनले औंल्याएका छन् ।

बन्दुकको पक्षपाती रिपब्लिकन

अहिले दुवै सदन सिनेट र कंग्रेसमा डेमोक्रेटिक दलको शक्ति भारी छ तर फिलिबुस्टरकै कारण यसपटक पनि बन्दुक प्रयोगमा प्रतिबन्धसम्बन्धी कानुन पारित हुने सम्भावना देखिँदैन । रिपब्लिकन सिनेटरमध्ये केही प्रतिबन्धको पक्षमा छन् । यसले डेमोक्रेटिकका लागि अघि बढ्ने प्रेरणा त दिन्छ तर गन्तव्यमा पुग्ने सम्भावनामा स्वयम् डेमोक्रेटिक सिनेटर नै शंका व्यक्त गर्छन् ।

अधिकांश रिपब्लिकन सिनेटर यस्तो कानुन कार्यान्वयनमा आए पनि अपराध नरोकिने दाबी गर्छन् । बरु विद्यालयमा सुरक्षा बढाउनुपर्ने र हतियारको डाटाबेस प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनीहरूको जोड छ । मानसिक रोगी, यसअघि आपराधिक क्रियाकलापमा संलग्न भए–नभएको जाँचपछि मात्रै हतियार बिक्री गर्ने व्यवस्थासहितको ‘रेड फ्ल्याग्स एक्ट’ सबै राज्यमा लागू गराउने पक्षमा उनीहरू छन् । अहिले केही रिपब्लिकन सिनेटर यसकै लबिइङमा छन् ।

खासमा रिपब्लिकन वर्षौंदेखि किन बन्दुकको पक्षमा अडिग छन् त ? कारण हो अधिकांश रिपब्लिकन सिनेटरहरू बन्दुक प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने अमेरिकीको बसोबास रहेका राज्यबाट प्रतिनिधित्व गर्छन् । बन्दुकको पक्षपाती नहुँदा उनीहरूलाई जनसमर्थन घट्ने र पार्टीभित्र हुने आन्तरिक चुनावमा आफ्नो शक्ति कमजोर हुने शंका छ ।

प्यु रिसर्च सेन्टरको गत वर्षको एक अध्ययनले ५४ प्रतिशत रिपब्लिकनको घरमा बन्दुक रहेको देखाएको थियो । यो अनुपात डेमोक्र्याट्सको हकमा ३१ प्रतिशत मात्रै थियो । सन् २०२० मा र्‍यान्ड कोअपरेसन स्टडीले गरेको एक अध्ययनका अनुसार ठूलो संख्यामा बन्दुक प्रयोगकर्ता रहेका २० राज्यबाट सिनेटमा दुई तिहाइ प्रतिनिधित्व छ । रिपब्लिकनका ५० सिनेटरमध्ये ३२ जना यिनै क्षेत्रबाट चुनिएका हुन् । जसलाई ६ करोड ९० लाख जनताको मात्रै समर्थन छ । ठीक उल्टो सबैभन्दा कम बन्दुक प्रयोगकर्ता रहेका २० राज्यबाट पनि ३२ जना डेमोक्र्याट्स सिनेटर निर्वाचित भएका छन् । उनीहरूलाई १९ करोड २० लाख जनताको समर्थन रहे पनि सिनेटमा यो दुवै शक्तिको अनुपात बराबर छ ।

स्यान्डी हुक आक्रमणपछि कनेक्टिकट राज्यमा बन्दुक प्रयोगसम्बन्धी कानुन पुनरावलोन गर्न ठूलो जनसमर्थन जुटेको थियो । जुन राज्य डेमोक्र्याट्सको बाहुल्य क्षेत्र हो । यसबाहेक न्युयोर्क, मेरिल्यान्ड, क्यालिफोर्नियाले आफ्नै छुट्टै कानुन बनाउँदै बन्दुकको प्रयोग, आकार र उत्पादनमा कडाइ गरेका छन् । सन् २०१८ मा भर्मोन्टमा भएको ‘स्कुल सुटिङ’ पछि रिपब्लिकन गभर्नर फिल स्कट आफ्नो अडानबाट पछि हटे र डेमोक्रेटिक पार्टीसँगको सहकार्यमा बन्दुकमैत्री नीतिलाई संशोधन गरिदिए । जसमा खरिदकर्ताको उमेर २१ वर्षभन्दा माथि हुनुपर्ने, म्यागेजिनको आकार सानो हुनुपर्ने र खरिदकर्ताको पृष्ठभूमि जाँचपछि मात्रै बिक्री गर्नुपर्नेलगायत व्यवस्था छ । डेमोक्रेटिक पार्टीको शक्ति बलियो भएका राज्यहरू बन्दुकमैत्री नीतिको विपक्षमा उभिए पनि रिपब्लिकन पार्टीले भने नीतिगत रूपमै बन्दुक प्रयोग र बिक्रीवितरणमा प्रोत्साहन गरिरहेको छ ।

गत अप्रिलमा जर्जियाले लाइसेन्सबिनै नागरिकले ह्यान्डगन बोक्न पाउने कानुन लागू गर्‍यो । रिपब्लिकनको वर्चस्व रहेको यो राज्य बन्दुकमैत्री कानुन पास गर्ने अमेरिकाको २५ औं राज्य हो । गत जुनमा टेक्सासका गभर्नर ग्रेग अबोटले लाइसेन्स र तालिमबिनै म्यागेजिन प्रयोग गर्न पाउने कानुनमा हस्ताक्षर गरेका थिए । विद्यालयमा सुरक्षाको थप प्रत्याभूति दिलाउन शिक्षकहरूलाई कक्षामा बन्दुक राख्न दिइनुपर्ने टेक्सासका महान्यायाधिवक्ता केन पक्सटनको भनाइले पनि बालबालिकाप्रति रिपब्लिकन कति संवेदनशील छन् भन्ने स्पष्ट हुन्छ ।

एनआरएको पैरवी

नेसनल राइफल एसोसिएसन (एनआरए) ले अमेरिकामा सर्वसाधारणको हातमा बन्दुक रहनुपर्ने नीतिको जोडदार पैरवी गर्छ । सरकारी अंग नभए पनि राजनीतिक रूपमा यसको प्रभाव गहिरो र फराकिलो छ । त्यसका पछाडि यसले गर्ने लगानीलाई प्रमुख मानिन्छ । सिभिल वारका २ जना दिग्गजले सन् १८७१ मा वैज्ञानिक रूपमा राइफल सुटिङको प्रचार र प्रोत्साहन गर्न मनोरञ्जन समूहका रूपमा एनआरए खडा गरेका थिए । सन् १९३४ मा समूहका सदस्यहरूलाई हतियारसम्बन्धी ऐनका बारेमा जानकारी दिँदै यसले आफ्नो राजनीतिक बाटो पहिल्याएको थियो । सन् ७० देखि सक्रिय रूपमा राजनीतिक प्रभाव बढाएको यसले हतियार प्रयोगको प्रवर्द्धन गर्न स्थापित इन्स्टिच्युट फर लेजिस्लेटिभ एक्सनलाई सन् १९७५ मा प्रत्यक्ष हस्तक्षेप गर्न थाल्यो । त्यसको २ वर्षपछि विधायकहरूमाथि लगानी गर्न आफ्नै पोलिटिकल एक्सन कमिटी (पीएसी) खडा गर्‍यो ।


टेक्सासको युभाल्डीस्थित रोब एलिमेन्ट्री स्कुलमा गत मे ४ मा २१ जनाको ज्यान जानेगरी भएको गोलाबारीपछि चिन्तित अभिभावक । तस्बिर : रोयटर्स

अहिले एनआरएले कंग्रेस सदस्यलाई आफ्नो पक्षमा राख्न ठूलो मात्रामा बजेट छर्दै आएको छ । सन् २०२० मा मात्रै उसले २५ करोड अमेरिकी डलर खर्च गरेको छ । बन्दुकमैत्री कंग्रेस सदस्यहरूलाई सार्वजनिक रूपमै एनआरएले ‘ए’ देखि ‘एफ’ सम्म वर्गीकरण गर्दै आएको छ । एनआरएले जति धेरै बन्दुक सर्वसाधारणको हातमा हुन्छ, त्यति नै बढी मुलुक सुरक्षित हुन्छ भन्ने तर्क गर्छ । कतिसम्म भने जुनसुकै स्थानमा खुलारूपमा हतियार देखाएरै राख्न पाउने तथा प्रहरीद्वारा जफत हतियार पुन: बिक्री गर्न पाउनुपर्नेमा एनआरए पैरवी गर्छ । ‘यस्ता हतियार नष्ट गर्नु भनेको राम्रा हतियारको बर्बादी हो,’ उसको ठहर छ ।

सामाजिक अध्येता विल्किन्सन एनआरए नै अमेरिकी सरकार आफ्ना नागरिकको सुरक्षा दिन सक्षम छैन भन्ने भाष्य निर्माण गर्न खोजिरहेको दाबी गर्छन् । हतियार किनबेच गरी नाफा कमाउनु मात्रै एनआरएको उद्देश्य रहेको र उसले सोहीअनुसार नै काम गरिरहेको उनको आरोप छ । उनी भन्छन्, ‘हरेक वर्ष एनआरएको बैठक बस्छ, जसले बन्दुकबाहेक तपाईंलाई अरू कसैले बचाउँदैन, घटनास्थलमा प्रहरी समयमै पुग्दैन, पूर्णरूपमा भरोसा गर्न सक्ने तपाईंको एक मात्र साथी बन्दुक नै हो भन्ने प्रमाणित गर्न खोज्छ ।’

अमेरिकाको नर्थइस्ट युनिभर्सिटीमा द प्राक्टिस अफ क्रिमिनोलोजी एन्ड क्रिमिनल जस्टिसका प्राध्यापक ज्याक म्याकडेभिट परिवारको कोही सदस्य कुनै खतरा वा कठिन समयबाट गुज्रिरहेको छ भने उसलाई बन्दुकले साथ र बल नदिने ठोकुवा गर्छन् । ‘त्यस्तो अवस्थामा उसको नजिकबाट बन्दुक हटाइदिनुपर्छ,’ उनले भनेका छन्, ‘बरु उसलाई मानसिक तागत थपिदिनु सबैभन्दा बढी हितकर र दिगो रहन्छ ।’

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण ११, २०७९ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?