२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

निगमको छानबिन समितिका अध्यक्षलाई प्रलोभन

कार्यकारी अध्यक्ष युवराज अधिकारीले छानबिन प्रतिवेदन रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत दबाबसमेत दिएको खुलासा
सुरज कुँवर

काठमाडौँ — नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामिना लगायतका आरोपमा आफूविरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।

निगमको छानबिन समितिका अध्यक्षलाई प्रलोभन

अधिकारीविरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो ।

समितिका अध्यक्ष न्यौपानेले आफूलाई अधिकारीले आर्थिक प्रलोभन दिनुका साथै पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत छानबिन प्रतिवेदन रोक्न दबाबसमेत दिएको खुलासा कान्तिपुरसँग गरेका छन् । न्यौपानेको अध्यक्षतामा असार ६ मा जाँचबुझ तथा छानबिन समिति गठन गरेको थियो । ‘युवराजजीले जाँचबुझ प्रतिवेदन मन्त्रीसमक्ष पेस नगर्न मलाई आर्थिक अफर गर्नु भाथ्यो,’ न्यौपानेले भने, ‘पैसाको अफर मात्रै होइन, प्रतिवेदन रोक्न झलनाथ खनालबाट फोन गर्न लगाउनुभयो, अरू–अरू दबाब पनि दिनुभयो ।’

उनले कार्यकारी अध्यक्ष अधिकारीलाई जोगाउन पूर्वप्रधानमन्त्री खनालले फोन गरेर दबाब दिएको बताए । ‘तपाईं अब सचिवबाट रिटायर्ड हुने बेलामा पर्यटनमन्त्रीले भनेको किन मान्नुपर्‍यो भन्नुभयो,’ न्यौपानेले खनालको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं जाने बेलामा युवराजमाथि गरिरहनुभएको अध्ययन प्रतिवेदन रोकिदिनुहोस् ।’ सचिव न्यौपानेका अनुसार बयान दिँदा रोएर गएका अधिकारीले नेता झलनाथबाहेक अरू थुप्रै स्रोतबाट पनि फोन गरेर दबाब दिएका थिए । इलामका अधिकारीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आठ महिनाअघि अर्को व्यक्ति महाप्रबन्धक भएकै बेला झलनाथ खनालको दबाबमा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।

कान्तिपुरलाई प्राप्त गोप्य प्रतिवेदनले चारवटा जहाज किन्दा ५० अर्ब ऋणमा डुबेको निगमको नेतृत्व गर्न अधिकारी असफल रहेको विवरण पेस गर्दै आर्थिक र नैतिक रूपमा पनि पतित व्यक्ति रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले ‘नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षजस्तो सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने उच्च व्यावसायिक चरित्र र पदअनुकूल आचरण नरहेको’ उल्लेख गरेको छ ।

जाँचबुझ समितिले दबाबबीच २९ औं दिनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई सोमबार बुझाइसकेको छ । पर्यटनमन्त्रीले प्रतिवेदन अध्ययन गरिरहेको उनको सचिवालयले जनाएको छ । ‘पर्यटनमन्त्रीज्यूलाई पनि झलनाथ खनालले फोन गरेर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जोगाउन दबाब दिनुभएको थियो,’ मन्त्रीनिकट स्रोतले भन्यो, ‘तर उहाँले यस विषयमा मलाई दबाब नदिनुहोस् । म नियमअनुसार के गर्नुपर्छ, गर्छु भन्ने जवाफ खनाललाई दिनुभयो ।’

पर्यटनमन्त्रीलाई बुझाइएको प्रतिवेदनले अधिकारीलाई दोहामा ग्राउन्डेड भएको न्यारोबडीको इन्जिन मर्मत र ठेक्कामा बिचौलिया दीपक भट्टका साझेदार अभिषेक खातीलाई ४५ करोडको ठेक्का सम्झौताअघि नै गोप्य कागजात उपलब्ध गराएको, उक्त इन्जिन हालसम्म मर्मत गराउन नसकेको, सार्वजनिक प्रतिस्पर्धा नगराई जापान, हङकङलगायतका गन्तव्यको टिकट बिक्री गर्ने गरेको, निगमको टुइनअटर विमान समिट एयरमा कार्यरत कर्मचारीसँग मिलेमतोमा ट्राभल एजेन्सी खडा गरेर भाडामा दिएको थियो ।

निगमका करोडौंका नियमित ठेक्कासम्बन्धी कागजात सम्झौताअघि नै गोपनीयता भंग हुने गरी ठेकेदारलाई दिएको, टिकट बिक्री गर्ने अनलाइन प्रणाली ग्लोबल डिस्ट्रिब्युसन प्रणाली प्रदायक कम्पनीलाई दिँदा सार्वजनिक खरिद ऐन पालना नगराएको, कोभिडका बेला निगमले गरेका चार्टर उडानको बक्यौता रकम असुल्न नसकेको निष्कर्ष निकालेको छ । त्यस्तै निगमको कार्यकारी अध्यक्षजस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले उच्च व्यावसायिक चरित्र र पद अनुकूलको आचरणविपरीत पत्रकारका लागि भन्दै ठेकेदारसँग मदिरा मागेको, आफ्ना लागि कोट ल्याइदिन भनेको, अस्ट्रेलिया र चीनमा रहेका खातामा ठेकेदारलाई रकम जम्मा गर्न सूचना पठाएको, इकोनमी श्रेणीका टिकट लिएकालाई बिजनेस श्रेणीमा स्तरोन्नति गर्न लगाई निगमलाई हानि पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ । कार्यकारी अध्यक्ष अधिकारीले थुप्रै पदीय आचरणविपरीत कामहरू गरेको, निगमको ऋण तिर्न आनाकानी गरेको, निगमलाई वित्तीय हानि पर्ने गरी औचित्यबिना जम्बो टोली साउदीको रियाद लगेको, मन्त्रालयले दिएका संस्थागत निर्देशन पालना नगरेको, व्यवस्थापकीय बैठक बसाउन नसकेको कर्मचारीलाई मानसिक यातना दिएको, आफूनिकट एक जना महिला कर्मचारीलाई बढुवा गरिदिन्छु भनेर पहिल्यै म्यासेज पठाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै निगमका विभिन्न विनियम तथा प्रावधानविपरीत पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सीमा नाघ्ने गरी काम गरेको, ब्यागेज तथा कार्गो ह्यान्डलिङ गर्ने कार्यको बोलपत्र निश्चित कम्पनी मात्रै सहभागी हुन सक्ने गरी प्रस्ताव तयार पारेको पनि प्रतिवेदनमा औंल्याइएको छ । ‘समग्रमा कार्यकारी अध्यक्षको नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पदअनुकूल उच्च आचरण प्रदर्शन गर्ने क्षमताको अभाव देखिएको छ,’ प्रतिवेदनको सारमा भनिएको छ ।

मन्त्रिपरिषद्ले पर्यटन सचिव न्यौपाने संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर सदस्य सचिव तोकेर १० वटा विषयमा छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो । छानबिन समितिले निगमसँग लिखित जवाफ र निगमका कार्यकारी अध्यक्ष अधिकारीको बयान लिएको थियो । यी विषयमा अधिकारीसँग फोन र एसएमएसबाट कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । एसएमएसको पनि जवाफ पठाएनन् ।

प्रकाशित : श्रावण ६, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?