२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

रहेनन् चित्रकार भौकाजी

काठमाडौँ — चित्रकार रामकुमार भौकाजीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि प्रोस्टेट अर्बुद (क्यान्सर) रोगबाट ग्रसित भौकाजीको बिहीबार बिहान ५:३० बजे बानेश्वरस्थित निवासमा निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताए । प्रतिष्ठानले बिहीबार शोक वक्तव्य जारी गर्दै भौकाजीको निधनप्रति दु:ख व्यक्त गरेको छ ।

रहेनन् चित्रकार भौकाजी

रामेछाप साघुँटारमा जन्मिएका भौकाजीले सोभियत कला एकेडेमी मास्कोबाट आधुनिक र अत्याधुनिक नेपाली चित्रकला विधामा विधावारिधी गरेका छन् । चित्रकार एवं कला समीक्षक रमेश खनालका अनुसार ललितकला क्षेत्रमा पीएचडी गर्ने भौकाजी पहिलो कलाकार हुन् । उनले ‘मेरो नेपाल’ शीर्षकमा नेपालको संस्कृति, लोक जीवन, परम्परा र परिवेशका चित्रहरु कोरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएका छन् ।

जीर्णोद्धार कलामा समेत तालिम प्राप्त भौकाजीले नेपालमा भूकम्पपछि क्षतिग्रस्त वसन्तपुर दरबार, पशुपति, टोखा चण्डेश्वरीलगायत सम्पदाको स्थलगत चित्र तयार गरी सार्वजनिक गरेका थिए । ललितकलामा दृश्य चित्र सिर्जनासँगै, अध्ययन, अनुसन्धानमा समेत उनी प्रखर रहेको खनालले बताए । ‘उहाँले विशेषगरी नेपाल चिनाउने खालका दृश्य चित्रहरु सिर्जना गर्नुभएको छ,’ उनले भने, ‘लेखन र समीक्षामा उहाँ निकै निडर र प्रखर व्यक्ति हुनुहुन्थ्यो ।’

भौकाजीको निधनले कला क्षेत्रमा अपुरणीय क्षति पुगेको सुनाउँदै कुलपति कर्माचार्यले दुःख व्यक्त गरेका छन् । ‘कला क्षेत्रमा उहाँ निकै मिहिनेती र इमानदार व्यक्ति हुनुहुन्थ्यो । कलाले एक होनहार कला सर्जक गुमाउनु परेको छ,’ उनले भने ।

भौकाजीद्वारा लिखित ‘जुद्धकला पाठशाला,’ ‘स्रस्टा कुलमान सिंह भण्डारी’, ‘नेपाली कलाकारका समस्या’ पुस्तक तथा थुप्रै कला, संस्कृतिसम्बन्धी लेख रचनाहरु प्रकाशित छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा दास संस्कार गरिएको छ ।

प्रकाशित : श्रावण ५, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?