१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सांसद भट्टराईको प्रश्न : गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई घोक्य्राएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ?

काठमाडौँ — नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् ।  सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद भट्टराईको प्रश्न : गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई घोक्य्राएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ?

सांसद भट्टराईले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे । उनले गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोपसमेत लगाए । वडा ध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न पनि उनको माग छ । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईको माग छ ।

‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँभित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डीएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्य्राएर पोखरीमा चोबलेका छन् । यही हो लोकतन्त्र ? यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहसबाट निस्कर्षमा पुग्ने पद्दति हो,' उनले भने ।

तिलोत्तमा प्रकरणमा गृहमन्त्री खाँणले पूरा रिपोर्ट सदनमा पेस गर्नुपर्ने पनि भट्टराईले बताए । 'कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डीएसपी कारबाहीमा पर्छ कि पर्दैनन् ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? त्यो सबै उहाँको भाइ मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडि बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु,' उनले भने ।

प्रकाशित : श्रावण २, २०७९ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?