बिनुले किन इजलासमै विष पिइन् ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनुले किन इजलासमै विष पिइन् ?

प्रहरी, प्रशासन, अदालत र नेताको आडमा आफूलाई न्यायबाट वञ्चित गरिएको भन्दै न्यायिक लडाइँ जारी
प्रदीपका मामाले घरभित्र पसेर पिस्तोल खेलाउँदै म र मेरी ममीलाई त्यो जाहेरी फिर्ता गर् नभए तेरो भाइलाई लागूऔषध मुद्दामा १० वर्ष जेल पठाइदिन्छु भन्दै धम्क्याए 
सम्बन्ध विच्छेदका लागि ज्यान मार्ने धम्की आइरहेको थियो, मैले मानेकी थिइनँ, मेरो एकमात्रै आशा अदालत थियो तर जब न्यायाधीशले सम्बन्ध विच्छेदका पक्षमा फैसला सुनाए, मेरो आशा मर्‍यो, म पनि किन बाँच्ने भनेर न्यायाधीशकै सामु विष पिइदिएँ
विद्या राई

काठमाडौँ — सोलुखुम्बुकी २९ वर्षीया बिनु यादव र रामेछापका २५ वर्षीय प्रदीप कठायतबीच ०७४ फागुनमा काठमाडौंमा चिनजान भयो । चिनजानपछि भेटघाट बाक्लिएपछि सम्बन्ध प्रेममा बदलियो । प्रदीपले विवाह गर्ने विश्वास दिलाए । बिनुको भनाइमा उनीहरूबीच ०७५ मंसिरदेखि शारीरिक सम्पर्क भयो । केही महिनामै बिनु गर्भवती भइन् । प्रदीपले गर्भपतन गराउन दबाब दिए । उनी मानिनन् ।

स्वास्थ्य समस्या भएपछि बिनु ०७५ चैत २० मा महाराजगन्जस्थित शिक्षण अस्पतालमा जँचाउन गइन् । डाक्टरले गर्भनलीमा गर्भ बसेको र त्यही कारण नली फुटेर रगत फैलिएको बताए । उनले तत्कालै शल्यक्रिया गरेर ६ साताको गर्भ पतन गराइदिए । प्रदीप त्यतिबेला रामेछाप नगरपालिका १ गोठगाउँस्थित घरमा थिए । खबर पाएपछि काठमाडौं तुरुन्तै आएर चैत २२ मा बिनुलाई डिस्चार्ज गरे । उनलाई सिनामंगलस्थित श्री गेस्ट हाउसमा पुर्‍याइराखेर प्रदीप निस्किए । बिनुका अनुसार चैत २४ गते बिहान साढे ८ बजे गेस्ट हाउसमा फर्केर प्रदीपले जबर्जस्ती यौन सम्पर्क राखे, जसका कारण शल्यक्रियापछि सिलाएको घाउ फुट्यो । उनलाई तत्कालै ट्याक्सी चढाएर प्रदीपले शिक्षण अस्पताल पुर्‍याए ।

अस्पतालबाट फर्केपछि जडीबुटीस्थित दोलखाली फेमिली गेस्ट हाउसमा राखिछाडेर प्रदीप बेखबर भए । उनले काम गर्दै गरेको चाबहिलस्थित दूधकुण्ड एक्सप्रेस प्रालिको अफिसमा गएर १५ दिन बसिन् । त्यसपछि कपनस्थित डेरा गइन् । उनले ०७६ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा गएर प्रदीपविरुद्ध बलात्कार आरोपमा जाहेरी दिइन् । जाहेरी परेको थाहा पाएपछि प्रदीप र उनका काका पवन कठायतले बिनुमाथि डर देखाउन र धम्की दिन थाले ।

एक दिन बिनु अफिस निस्किने बेला डेरा अगाडि प्रदीपका मामा सुरज कार्की (हाल सुर्खेतमा डीएसपी) खरानी रङको कारमा आइपुगे । उनका साथमा सुरक्षागार्डसमेत थिए । डेरामा बिनु र उनकी आमा मात्रै थिए । सँगै बस्ने दुवै भाइबहिनी कलेज गइसकेका थिए । ‘प्रदीपका मामाले घरभित्र पसेर पिस्तोल खेलाउँदै म र मेरी ममीलाई त्यो जाहेरी फिर्ता गर् नभए तेरो भाइलाई लागूऔषध मुद्दामा १० वर्ष जेल पठाइदिन्छु भन्दै धम्क्याए,’ बिनुले सुनाइन् । भोलिपल्ट सुरज कार्कीका भाइ सुरेन्द्र, प्रदीप, पवन र सुदर्शन थापा (प्रदीप र बिनुको चिनजानको साथी) आएर बिनु र उनकी आमालाई जबर्जस्ती गाडीमा राखेर कालीमाटी लगे । बाटामा सुरजले धम्क्याए, ‘सुनेकै हौला, तिम्रा भाइबहिनीको पछि मान्छे लगाएको थाहा पाएकै हौला, खुरुक्क महिला सेलमा गएर कसैसँग नबोली चुपचाप मुद्दा फिर्ता गरेर आउनु, नभए ठीक हुँदैन ।’ त्यसपछि उनले मुद्दा फिर्ता लिइन् । विवाह गर्ने आश्वासन देखाएर बलात्कारको मुद्दा फिर्ता गराएको बिनुको भनाइ छ ।

मुद्दा फिर्ताको १५ दिनपछि पवनले बिनुलाई भक्तपुरको ठिमीस्थित घर लगे । उनी ०७६ जेठ २० देखि मंसिरसम्म ठिमीमै बसिन् । मंसिर २५ मा भद्रकालीस्थित हिन्दु परम्पराअनुसार विवाह भयो । २६ गते दुलही लिएर प्रदीप, उनका काका पवन, बुवा र आमा रामेछाप गोठगाउँको आफ्नै घर गए । बिनुलाई बिसन्चो भएपछि दम्पती नै काठमाडौं उपचार गर्न आए । उपचारपछि प्रदीप रामेछाप गए । बिनु ठिमीमै बसिन् । केही समयपछि काका ससुरा पवन (प्रदीपका काका) आएर उनलाई रामेछाप लगे । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष छन् । रामेछाप सदरमुकाम मन्थलीस्थित उनको मनकामना एयरपोर्ट भ्यु होटल छ । होटलमै राखेर काका ससुराले बुहारीमाथि चरम दुर्व्यवहार गर्न थाले । होटलको एक कोठामा बस्न दिइएको थियो । खाना पकाउने, काका ससुराको परिवारको लुगा धुने, भाँडा माझ्ने, सरसफाइका काम गर्न लगाए । काका ससुराले बुहारीको शरीरमा जथाभावी छुने, समात्ने गर्थे । बिनुले परिवार र पतिलाई सुनाउँथिन् तर उल्टै उनीमाथि शंका गर्थे । हिंसा सहँदै बस्ने क्रममा बिनु फेरि गर्भवती भइन् । पतिलाई जानकारी गराएकै साँझ परिवारका सदस्यले एकै स्वरमा गर्भपतन गर्न लगाए । उनले मानिनन् । यसपछि पति नभएको मौका छोपेर काका ससुराले ७० लाख रुपैयाँ दाइजो लिएर आउनु नत्र अस्वीकार गर्ने भनी बुहारीलाई धम्क्याउन थाले । ‘त्यसपछि परिवारका सदस्यले हातखुट्टा बाँधिदिएर पाँच गोली औषधि मुखमा हालिदिए र जबर्जस्ती निल्न लगाए,’ बिनुले सुनाइन् ।

औषधि खाएको केही घण्टामै बिनुको गर्भ खेर गयो । उनी बिरामी भइन् । तर आराम गर्न दिइएन । पहिलेझैं होटलको नियमित काम गरिरहनुपर्‍यो । एक दिन अचानक बेहोस भइन् । उनलाई मन्थलीस्थित तामाकोसी अस्पताल पुर्‍याइयो । औषधि बिहान–बेलुकी २/२ गोलीका दरले प्रदीप र पवनले खुवाउँथे । पछि केही सन्चो भएपछि उनले औषधि हेरिन् । ‘स्लिपिङ ट्याब्लेट’ रहेछ । एक राति उनी औषधिले शिथिल थिइन् ।

काका ससुराले कोठाको ढोका ढक्ढक्याए । होटलको बिल, कागजात लिने निहुँमा ढोका खोल्न लगाए । भित्र पसिसकेपछि काका ससुराले जबर्जस्ती करणीको प्रयास गरे । उनी चिच्याइन् । काकी सासू, काकाकी छोरी सबै आएर उल्टै उनैलाई गाली गरे । ‘तँ ठीक छैनस्, तैंले नै झूट्टा आरोप लगाकी होस् भनेर मैमाथि कुटपिट गरेर, कपाल लुछे, काका ससुराले रडले पेटमा हाने, लात्ताले शरीरमा हाने,’ बिनुले सुनाइन् । त्यस दिन प्रदीप घरमा थिएनन् ।

परिवारका सदस्यबाट हिंसा रोकिएन । बाहिर निस्कनै दिइएन । मोबाइलसमेत प्रयोग गर्न रोक लगाइयो । एक दिन मौका छोपेर बिनुले पतिको मोबाइलबाट रामेछापका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकलाई मेसेज गरेर उद्धारको आग्रह गरिन् । होटलमा आउजाउ गर्ने हुनाले उनले डीएसपीलाई चिनेकी थिइन् । डीएसपी पाठक भोलिपल्ट बिहान ७ बजे होटलमा आएर उनले पठाएको म्यासेज काका ससुरालाई देखाए । त्यसपछि हिंसा र कुटपिट झनै बढ्यो । हाल झापा जिल्लामा कार्यरत डीएसपी पाठक भने बिनुले मेसेज पठाएको कुरा स्विकार्छन् तर आफूले पीडितलाई अप्ठ्यारो पार्ने काम नगरेको दाबी गर्छन् । ‘मैले धेरै ठाउँमा पढिसके, असहयोग भयो भन्ने कुरा गलत हो, पछाडिका कुरा धेरै छन्, अदालतबाट पनि सम्बन्ध विच्छेद भइसक्यो भन्ने सुनेको छु, प्रमाण पुर्‍याएरै त होला,’ उनले भने ।

बिनुले म्यासेन्जरमा पठाएको स्क्रिनसट डीएसपी पाठकले उपलब्ध गराएका छन् । जसमा लेखिएको छ– ‘एकदम तनावमा छु म, एउटा केटाले रेप गर्‍यो, मैले केस गर्दिएँ, त्यसपछि उसको फेमिलीहरू आएर बिहे गर्छौं केस फिर्ता गर भनेर त्यही दिन गएर केस फिर्ता लिए, अनि बिहे पनि भयो, तर त्यो सब नाटक रै’छ, अहिले केसको म्याद सकियो, त्यसपछि घरबाट अब म्याद सकियो तँ जता जा जे गर भन्नुहुन्छ, मेरो लाइफ बर्बाद भयो सर, म के गरौं अब, बिरामी छु खर्च पनि दिँदैन ।’ डीएसपी पाठकले जवाफ दिएका छन्– ‘बिहे गरेपछि जता जा जे गर भन्न मिल्दैन नि, खर्च माग्ने नि ।’ डीएसपी पाठकले भने म्यासेजमा पीडितले आफ्नोबारेमा पूरा नखुलाएको, आफू काठमाडौंमा रहेको बताएकाले उद्धार गर्न नसकिएको तर्क गरे । ‘हाम्रै कार्यक्षेत्रमा हुनुभएको भए जोसुकै मान्छे अप्ठेरोमा छु भन्दा उद्धार गर्न सकिन्थ्यो, हामीकहाँ जाहेरी पनि परेन,’ उनले भने ।

प्रहरीबाट सहयोग पाउने आस मरेपछि बिनु कसैले थाहै नपाउने गरी सुटुक्क निस्किन् र तामाकोसी अस्पताल गइन् । ‘मेरो ज्यान जोगिएला भनेर अस्पताल गएकी थिएँ । बन्धक परेकी छु, गाह्रो अवस्थामा छु, मलाई तुरुन्तै सुरक्षित हुने गरी प्रहरीमा पठाइदिनुहोस् भनेर गुहार्दै थिएँ, प्रदीप र काका ससुरा आइपुगे । उनीहरूले तथानाम गाली गर्दै घर हिँड् भने,’ उनले सुनाइन्, ‘घर नजाने भन्दै म अस्पतालको बेडमै सुतें ।’ बिनुले डा. केशव धामीलाई आफूलाई काठमाडौं पठाइदिन अनुरोध गरिन् । सहयोग पाउने आसले भनेको कुरा डा. धामीले काका ससुरा र पतिलाई सुनाइदिए । त्यसपछि आएर उनीहरूले बिनुलाई घर लगे । त्यसपछि यातना झन् थपियो । आफूलाई थाहै नदिई औषधि खुवाउने डा. धामीमाथि पनि कारबाही हुनुपर्ने बिनुको माग छ ।

डा. धामी भने आरोप अस्वीकार गर्छन् । ‘मैले औषधि खुवाएको रहेछु भने रेकर्डअनुसार नै अनुसन्धान हुनुपर्छ, म कसैलाई गैरकानुनी रूपमा गर्भपतन गराउन, सम्बन्ध विच्छेद गराउन दार्चुला (घर) बाट आएको हुँला र ! मनमा लागेको भन्न त पाइन्छ, हामी आफ्नो काम गर्छौं । फोन गरेर धम्काउने, कहिले पुलिस भनेर धम्काउने, कहिले पत्रकार भनेर धम्काउने गर्न पाइन्छ ? कोभिडको समयमा उपचार गराएको कारण मलाई यस्तो आरोप लगाइएको छ,’ उनले भने ।

बिनु निरन्तरको ज्वरोले थला परेपछि पति प्रदीपले उनलाई चाबहिलको हेल्पिङ हेन्ड कम्युनिटी अस्पतालमा पुर्‍याए । उपचारपछि ठिमीको घरमा पुर्‍याए । त्यसपछि आफूहरूविरुद्ध कहींकतै उजुरबाजुर गरे परिवारै सखाप पारिदिने भनि पतिले धम्क्याए । ‘तँलाई बलात्कारको मुद्दा फिर्ता गराउन मात्रै परिबन्धमा परेर बिहे गरेको हुँ, तँलाई मेरो परिवारले स्विकार्दैन, मैले मेरो परिवार छोड्न सक्दिनँ, तँ जेसुकै गर भन्थ्यो,’ बिनुले सुनाइन्, ‘परिवारले जति नै दुःख दिए पनि उसको मन पग्लिएला भनेर बसें । उल्टै उसले बेवास्ता गर्ने, धम्क्याउने गर्थ्यो । अरू केटीसँग रमाइलो गरी हिँडेको पोस्ट फेसबुकतिर देखेपछि मलाई झनै असह्य भयो ।’

यसैबीचमा बिनुले विवाह दर्ता गरिदिन माग गरिन् । तर विवाह दर्ता गराउने बेला पति–पत्नीलाई झिकाइएन । बिनुका ससुरा विमल कठायत रामेछाप नगरपालिका १ मा तत्कालीन वडा सदस्य थिए । आफूलाई कागजमा पढ्न नदिई जबर्जस्त हस्ताक्षर गर्न लगाइएको बिनुको भनाइ छ । ०७६ मंसिर २५ मा विवाह गरेको आधारमा प्रदीप र बिनुको विवाह दर्ता ०७७ जेठ ४ मा भयो । बिहे दर्ता गर्दा बिनुलाई झिकाइएन ।

तत्कालीन वडा सचिव सोमनाथ श्रेष्ठलाई बुझ्दा वडा सदस्य विमल कठायतले आफूलाई विश्वासमा पारेर केटाकेटी नझिकाई विवाह दर्ता गराउन लगाएको बताए । उनी भन्छन्, ‘विमल कठायतले छोराबुहारीको बिहे दर्ता गर्नुपर्‍यो, के के चाहिन्छ भन्नुभो, मैले केटाकेटी दुवैलाई उपस्थित गराउनुपर्छ भन्दा बुहारी तराईको हो, यहाँसम्म हिँडेर आउन सक्दिनँ, केही फरक पर्दैन, निश्चिन्त हुनुस् भन्नुभो, स्थानीय बासिन्दा र अरू कर्मचारीसँग पनि सोधें, दिँदा केही समस्या हुन्न भन्ने जवाफ आयो । उनीहरूको घरायसी झमेला थाहा थिएन, विश्वासले विवाह दर्ता गरिदिएँ, यसमा मेरो कुनै स्वार्थ छैन । उहाँ आफैंले अनुसूची लिएर जानुभो, फोटो टाँस्नुभो, बुहारीको हस्ताक्षर गरेर ल्याउनुभो ।’ विमलले अगाडि जेसुकै सम्बन्ध भए पनि हिन्दु परम्पराअनुसार ०७६ मंसिर २५ मा विवाह भएकाले त्यही आधारमा विवाह दर्ता गरिएको बताए । ‘कोरोनाकाल थियो, बुहारीले विवाह दर्ता चाहियो भनेको भन्यै गरेपछि छोराले अनुसूची ल्यायो । बुहारीले राजीखुसी हस्ताक्षर पनि गरेकी हुन्, ढाँटेको केही होइन । ती वडा सचिव रिटायर भएर बसेका छन्, त्यही भएर कुरा मिलाएका हुन् ।’

बिनुकी आमा दीर्घरोगी छिन् । अक्सिजन सिलिन्डिरको सहारा लिइरहेकी छन् । काठमाडौं आएर आमासँग बिनु बसिरहेका बेला प्रदीपले ०७७ असोज ७ मा पत्नीले आफूलाई मानसिक, शारीरिक, हिंसा/कष्ट दिएको भन्दै रामेछाप जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हाले । डेढ वर्षपछि ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेदको मुद्दा फैसला गर्ने भयो । ‘सम्बन्ध विच्छेदका लागि ज्यान माने धम्की आइरहेको थियो । तर मैले मानेकी थिइनँ । मेरो एकमात्रै आशा अदालत थियो । तर जब न्यायाधीशले सम्बन्ध विच्छेदका पक्षमा फैसला सुनाए । मेरो आशा मर्‍यो । म पनि किन बाँच्ने भनेर न्यायाधीशकै साुम विष पिइदिएँ,’ बिनुले सुनाइन् ।

प्रदीप, उनको परिवार, काका ससुरा पवन कठायत, मामा सुरज कार्की, रामेछाप जिल्ला अदालतमा न्यायाधीश बद्रिप्रसाद ओली, एमालेका केन्द्रीय सदस्य, रामेछाप एमालेका जिल्ला इन्चार्ज एवम् वाग्मती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले डर, धम्की देखाई आफूलाई सम्बन्ध विच्छेदका लागि दबाब दिएको बिनुको भनाइ छ । उनका अनुसार प्रदीपको परिवार र कैलाश ढुंगेलबीच राजनीतिक सम्बन्ध छ । सम्बन्ध विच्छेद गर्न नमानिरहेको बेला कैलाश ढुंगेलले ‘तेरो ज्यानको मूल्य पाँच लाख हो, केही गरी मरिस् भने सरकारले दिने त्यति हो, बरु थप २/३ लाख बढी लिएर जा, नत्र एक्सिडेन्टमा पारेर मारिदिन्छु’ भनेर धम्क्याएको बिनुले बताइन् । यस आरोपलाई ढुंगेलले अस्वीकार गरेका छन् । ‘उनको परिवारसँग चिनजान छ, तर ती नानीलाई चिन्दिनँ, मैले उनलाई कहाँ भेट्नु र धम्काउनु ? दसी प्रमाण कहींकतै छ त ?’ उनले भने, ‘बिनाप्रमाण मजस्तो सम्मानित मान्छेलाई आरोप लगाउने काम दिमाग खुस्केकाले गर्छ, मान्छे चिनेको छैन । मैले धम्क्याएको प्रमाण भेटियो, पुष्टि भयो भने मेरो घाँटीमा डोरी सुर्काइदिनू ।’

डीएसपी सुरज कार्कीले निरन्तर पछ्याउने, गाडीले किचेर मारिदिन्छु भन्दै धम्क्याउने, सल्लाह गर्नु छ भन्दै क्याफेमा बोलाएर दबाब दिने, आफ्नो भान्जा (प्रदीप) लाई लुकाएर अपहरणको मुद्दा लगाइदिन्छु भन्ने गरेको बिनुले सुनाइन् । डीएसपी कार्कीले भने भान्जाबुहारीको विवाहको दिनदेखि देखभेट नभएको जिकिर गर्दै आफूमाथिको आरोप आधारहीन रहेको बताए । ‘म बाहिरबाहिरै छु, एक वर्षअघि विदेशमा थिएँ, न मैले उहाँलाई भेटेको छु, उहाँको भाइबहिनी आमा पनि थाहा छैन । उहाँ आफैंले घरपरिवारलाई तनाव दिने गर्नुभएछ, कहिले ससुराले रेप गर्‍यो भनेर जाने, कहिले वैवाहिक बलात्कार गर्‍यो भनेर लाने, त्यस्ता उजुरी लिएर जानुभो अरे । त्यस्तो विषयमा म कहीं पनि बोलिनँ, त्यो मैले भनेर हुने कुरा होइन ।’

काका ससुरा पवन, ससुरा विमल र पति प्रदीपले बिनाआधार मिडियाबाजी गरेको आरोप बिनुमाथि लगाएका छन् । ‘बाबु (प्रदीप) सँग यताउति भएछ भनेर बिहे गराइदियौं, इज्जतसँग राखेका थियौं । उहाँमै मानसिक समस्या रहेछ, रक्सी चुरोट खानुहुँदो रहेछ, बाबुकै अगाडि छोड भने, उपचार गर्न काठमाडौं लगेका छौं । चक्कु, बियरको बोतल देखाउने भएपछि बाबुले अलग हुन्छु भन्यो,’ पवनले भने, ‘इज्जतसाथ बस्न नसक्ने, अहिले हामीलाई पलपल सताइरहने गर्नुभएको छ । हामी सोझो मान्छे, छत्रङछत्रङ गर्दै हिँड्ने अर्काको मानहानि गरेर हिँड्दैनौं ।’

विमलले छोरा र परिवारलाई असाध्यै दुःख दिएपछि सम्बन्ध विच्छेदको मुद्दा लगाउनुपरेको बताए । ‘मैले मेरो भागमा भएको सम्पत्तिबाट छोराको भागमा पर्नेबाट दुई भाग गरी बुहारीलाई दिनुपर्ने फैसला भएको छ । सम्पत्ति लुकाइएको छैन,’ उनले भने । अंश दिनुपर्ने कारण ०७६ जेठ ५ मा प्रदीपका काका ससुराको भागमा बढी पर्ने गरी अंशबन्डा गरिएको बिनुको दाबी छ । प्रदीपले भने मिडियाबाजी गर्दै आफूहरूलाई दोषी देखाएर बिनुले सहानुभूति लिइरहेको आरोप लगाए । ‘यस्तै हर्कतले मैले सम्बन्ध विच्छेदको निर्णय लिएको हुँ, पुनरावेदन गरेकी रहेछ, अदालतबाट टुंगो लाग्ने विषय होला, अहिले मिडिया खोजीखोजी मलाई रेपिस्ट बनाई, अंकललाई दोषेकी छ, डाक्टर, पुलिस, न्यायाधीशलाई दोषेकी छ, बेइज्जती गरिरहेकी छ,’ उनले भने ।

पतिले सम्बन्ध विच्छेदको मुद्दा हालेपछि अदालत धाउन आफूसँग खर्च र राम्रो कानुन व्यवसायी नभएको मौका छोपेर न्यायाधीश ओलीले मुद्दा लथालिंग पारिदिएको बिनुको भनाइ छ । ‘मुद्दामा बहस गर्नुपर्ने न्यायाधीशले तिमी राम्री छौ, अर्को बिहे गर, उमेर छ भन्थे, इजलासका बेला पनि तिमीलाई रुन दस मिनेट भन्दै बाहिर निस्किन्थे,’ उनले सुनाइन् । एकतर्फी कुरा सुनेर अदालतले फैसला गरेको बिनुको गुनासो छ ।

इजलासमै विष पिएपछि बिनुलाई तामाकोसी अस्पतालमा लगेर बान्ता गराइयो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याएर १९ दिन आईसीयूमा राखियो । उनको स्वास्थ्य सुधार हुँदै छ । बिनुले जिल्ला अदालतको फैसलाविरुद्ध गत असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गरेकी छन् । ‘मैले गर्दै नगरेको कार्यको दोषको भागीदार बनाउने विपक्षी र त्यही ममाथि गरिएको षड्यन्त्रको मतियार हुने गरी भएको सुरु अदालतको फैसला पूर्ण गलत छ,’ उनको पुनरावेदनमा उल्लेख छ ।

प्रकाशित : श्रावण २, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रधानमन्त्रीकै अनिच्छाले एसपीपीमा अमेरिकालाई पत्राचार गर्न ढिलाइ’

मन्त्रिपरिषद्ले निर्णय गरेको एक महिनासम्म अमेरिकालाई पत्र नलेखिएकामा सत्ता गठबन्धन दल र आफ्नै पार्टीका पदाधिकारीले प्रश्न उठाउँदासमेत देउवा मौन
कुलचन्द्र न्यौपाने, जगदीश्वर पाण्डे

काठमाडौँ — मन्त्रिपरिषद्ले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने निर्णय गरेको एक महिनासम्म अमेरिकालाई पत्राचार हुन नसक्नुमा प्रधानमन्त्री शेरबहादुर देउवाको ‘अनिच्छा’ प्रमुख कारण देखिएको छ ।



मन्त्रिपरिषद्ले असार ६ मै निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले ‘गृहकार्यमा रहेको’ भन्दै पत्र पठाउन आलटाल गरिरहेको छ । यसअघि तोकिएको समयभन्दा ढिला भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुई देशका परराष्ट्र मन्त्रालयबीच अनौपचारिक तहमा अझै जारी छ । त्यसअघि एसपीपीका सम्बन्धमा कुनै प्रकारको पत्राचार गर्ने मनस्थितिमा प्रधानमन्त्री नरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीकै अनिच्छाले परराष्ट्रले पत्राचार नगरेपछि सत्ता गठबन्धन दल र आफ्नै पार्टीका पदाधिकारीले समेत प्रधानमन्त्री देउवामाथि प्रश्न उठाउन थालेका छन् । सत्ता गठबन्धनको असार ३१ को बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले पत्राचार गर्न किन ढिलाइ भएको भन्ने प्रश्न उठाएका थिए भने कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा महामन्त्री गगनकुमार थापाले तत्कालै पत्राचार गर्न दबाब दिएका थिए । कांग्रेस बैठकमा थापा बोल्नुअघि गृहमन्त्री बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एसपीपीमा संलग्न हुने भनेर प्रक्रिया अघि बढेको र वर्तमान सरकारले नेपाल संलग्न नहुने भनेर निर्णय लिइसकेकाले ‘अब यो च्याप्टर क्लोज भएको’ भन्दै प्रधानमन्त्री देउवाको बचाउ गरेका थिए । गठबन्धन र आफ्नै पार्टी बैठकमा उठेका प्रश्नमाथि देउवाले भने मौनता साध्दै आएका छन् ।

‘यो मौनताले भविष्यमा फेरि सम्झौता त हुँदै छैन भनेर आशंका जन्माएको छ,’ सत्ता सहयात्री माओवादीका एक नेताले भने, ‘अनौपचारिक तहमा सोध्दा प्रधानमन्त्रीले सरकारले निर्णय लिने हो लिइहाल्यो, अरू कूटनीतिक प्रक्रियाबाट अघि बढ्दै जान्छ भन्ने कुरा गर्नुहुन्छ । उहाँको मनसाय बुझ्दा तत्काल अघि नबढाउने जस्तो देखिँदै छ । यसले गम्भीर आशंका बढाएको छ ।’

कांग्रेस महामन्त्री थापाले भविष्यमा यो वा त्यो प्रकारले एसपीपीमा संलग्न हुने बाटोमा जान नसक्ने बताए । ‘चाँडै पत्राचार गर्नुपर्छ, आमनागरिक र दलहरूका बीचमा रहेको अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘ढिलाइ गर्दैमा सरकार फेरि यही बाटोमा हिँड्न सक्दैन । हिँड्न दिइँदैन ।’

बालुवाटार स्रोतका अनुसार एसपीपीमा संलग्न नहुने भनेर सरकारले गरेको निर्णयप्रति अमेरिकी अधिकारीहरूले असन्तुष्टि जनाउँदै आएका छन् । असारभित्रै हुने भनिएको देउवाको अमेरिका भ्रमण यसैका कारण अलमलमा परेको बुझाइ बालुवाटारको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त एसपीपीकै कारण देउवाको भ्रमण नहुने दाबी गरेका छन् । उनले केही दिनअघि पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो दाबी गरेका हुन् । ‘एसपीपी केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याइएको थाहा भयो, त्यस्तो अवस्थामा शेरबहादुर देउवाले हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन ?’

माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसी सरकारले अघि नबढाउने निर्णय गरेर सकारात्मक काम गरे पनि अमेरिकालाई गर्नुपर्ने पत्राचार नहुँदा अन्योल खडा भएको बताए । तत्काल अमेरिकी सरकारलाई पत्र पठाउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘नेपाल कुनै पनि सैन्य गठबन्धन हुनेखालका सम्झौतामा संलग्न हुन हुन्न, सरकारले नेपाल संलग्न नरहने भनेर तत्काल पत्र पठाउनुपर्छ,’ श्रेष्ठले भने ।

एसपीपीमा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबाटै अमेरिकी अधिकारीहरू असन्तुष्ट बनेकाले प्रधानमन्त्री देउवा थप चिढ्याउने गरी तत्काल पत्राचार गर्ने पक्षमा छैनन् । देउवाले एसपीपीमा तत्काल सहभागी नहुने भनेर असार ६ को मन्त्रिपरिषद् बैठकमा निर्णय गराउन प्रस्ताव तयार पार्न लगाएका थिए । ‘तत्काल’ नहुनुको अर्थ भविष्यमा हुन सक्छ भन्ने सन्देश दिने अर्थ लागेपछि सत्ता गठबन्धनका नेता र मन्त्रीहरूले त्यसको विरोध गरेका थिए । त्यसपछि ‘तत्काल’ शब्द हटाएर नेपाल एसपीपीमा संलग्न नहुने निर्णय गरिएको थियो ।

प्रधानमन्त्रीनिकट मन्त्रीहरूका अनुसार भ्रमण रद्द नभई उपयुक्त समयमा हुने गरी दुई देशकै परराष्ट्र मन्त्रालयबीच तयारी आदानप्रदान भइरहेको छ । ‘वामपन्थी ध्रुवीकरणका लागि प्रयास भइरहेका बेला अमेरिका जाँदा गठबन्धन दुर्घटनामा पर्छ कि भन्ने चिन्ता पनि प्रधानमन्त्रीमा छ, ०७४ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उहाँ (देउवा) अमेरिका गएकै मौकामा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो, अहिले पनि त्यस्तै हुन्छ कि भनेर प्रधानमन्त्रीले निकै होसियारी अपनाउनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘अर्कोतर्फ एसपीपीले पनि वातावरण केही धूमिल बनाएको पक्कै हो ।’

चौतर्फी प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीनिकट मन्त्रीहरू सरकारको निर्णयअनुसार अमेरिकी सरकारलाई पत्राचार नभएको विषयमा एक–अर्कालाई देखाएर पन्छिन थालेका छन् । परराष्ट्रका अधिकारीहरूले बालुवाटारतिर देखाउने गरेका छन् भने बालुवाटारले परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट अघि बढाउने बताउने गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले यसबारे केही बताउन चाहेनन् । ‘यस विषयमा पछि नै कुरा गरौंला, अहिले मन्त्रालयबाहिर भएकाले बुझ्न पाएको छैन,’ उनले भने । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले निर्णय गरिसकेकाले त्यसपछिको प्रक्रियाबारे परराष्ट्र मन्त्रालय नै जानकार निकाय रहेको बताए । ‘सरकारले निर्णय गरिसकेकाले यसैलाई लिएर आशंका गनुपर्ने कुनै कारण छैन,’ उनले भने ।

परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा लम्सालले आफूले यसबारेमा अहिले केही नबोल्ने बताइन् । ‘केही दिनपछि भनौंला,’ उनले भनिन् । लम्सालले असार २० मा मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई उपयुक्त समयमा पत्र पठाइने बताएकी थिइन् । एसपीपीका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय प्राप्त भएको र त्यसमा अध्ययन भइरहेको उनको भनाइ थियो । ‘नेपाल सरकारको निर्णयका विषयमा उपयुक्त समयमा कूटनीतिक संयन्त्रमार्फत अमेरिकालाई पत्राचार गर्नेछौं,’ उनले भनेकी थिइन् ।

मन्त्रिपरिषद्को असार ६ को बैठकले ‘एसपीपीलाई अघि नबढाउने’ निर्णय गरेलगत्तै मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई त्यसबारे पत्राचार गरेका थिए । तर, परराष्ट्रले हालसम्म अमेरिकालाई यसबारे कुनै पत्राचार नगरेपछि दल र आमनागरिकमा आशंका उब्जेको छ ।

पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई एसपीपीमा परराष्ट्रले पत्राचार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्ले कस्तो किसिमले निर्णय गरेको छ भन्नेमा भर पर्ने बताउँछन् । उनले मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवबाट सम्बन्धित मन्त्रालयलाई यथाशीघ्र कार्यान्वयन गर्नु होला भनेर पत्राचार आउन सक्ने बताए । भट्टराईले ‘अघि नबढाउने’ भन्नाले नेपाल सरकारले अहिले अघि बढाउने तर त्यसलाई यथास्थितिमा राख्ने भन्ने पनि हुन सक्ने बताए । ‘अमेरिकी सरकारसँग पत्राचार गर्ने भनेको भए क्याटेगोरिकल भयो, त्यो भनेको छैन भने त त्यसको तयारी नगर्ने र अगाडि प्रक्रियामा नजाने भन्नेजस्ता अर्थ लाग्छन्,’ उनले भने ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय एसपीपीलाई अघि नबढाउने निर्णय मन्त्रिपरिषद्ले गरेपछि परराष्ट्रले पत्राचार गर्नु अनिवार्य जस्तै भएको बताउँछन् । ‘पत्राचार गर्नुपर्ने हो, (अमेरिकासँग) चिसोपना बढ्दा भनेर कूटनीतिक हिसाबमा रोकेको होला । पठाउन त पठाउनैपर्छ । यो एउटा प्रक्रिया हो,’ उपाध्यायले भने ।

प्रकाशित : श्रावण २, २०७९ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×