कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ वर्षमा 'फ्लोरा अफ नेपाल' लेखनको प्रगति ५ प्रतिशत मात्र

‘वनस्पतिको अभिलेख नै छैन भने भोलिका दिनमा हामीले कसरी इन्टलेक्चुअल प्रपर्टी राइटको कुरा गर्ने ? कुन कुन प्रजातिहरु छन् भन्ने जानकारी यसले दिन्छ, यो राष्ट्रको सम्पत्ति पनि हो । ’
गोविन्द पोखरेल

काठमाडौँ — १० वर्षमा तयार गरिसक्ने भनिएको ‘फ्लोरा अफ नेपाल’को सबै अंक प्रकाशन हुन अझै दशक लाग्ने देखिएको छ । २० वर्षमा एउटा मात्रै अंक प्रकाशन भएको ‘फ्लोरा अफ नेपाल’ लेखनका लागि नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट), टोकियो विश्वविद्यालय, बेलायतको प्राकृतिक विज्ञान संग्रहालय र रोयल बोटानिकल गार्डेन इडिनबर्गबीच सन् १९९९मा सम्झौता भएको थियो । यसलाई वनस्पतिहरुको ‘इन्साइक्लोपोडिया’ अथावा वनस्पतिहरुको ‘संविधान’को रुपमा पनि व्याख्या गर्ने गरिन्छ । यो वनस्पति सम्पदाको वैज्ञानिक विवरण पनि हो । 

२३ वर्षमा 'फ्लोरा अफ नेपाल' लेखनको प्रगति ५ प्रतिशत मात्र

नेपालका उन्यू, फूल फूल्ने र नफूल्ने वनस्पतिहरुको बृहत् अभिलेख रहने गरी १० वटा अंकमा ‘फ्लोरा अफ नेपाल’ प्रकाशन गर्ने समझदारी भएको २३ बितिसक्दा नेपालको तर्फबाट भने ५ प्रतिशत काम मात्रै भएको पाइएको छ ।

सम्झौता अनुसार टोकियो विश्वविद्यालयले अंक ४, रोयल बाटोनिकल गार्डेनले अंक ३ र ७, नेपालले अंक १० प्रकाशन गर्ने समझदारी भएपनि नेपालका तर्फबाट यतिका वर्षमा ५ प्रतिशत मात्रै काम भएको हो ।

रोयल बोटानिकल गार्डेनले सन् २०११ मा अंक ३ निकालेको थियो । जसमा ६ सय प्रजातिका वनस्पतिहरुको अभिलेख छ । त्यसमा गुलाब फूलका प्रजातिहरु रहेको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावारीका प्रमुख सुवास खत्रीले जानकारी दिए । अन्य अंक कसले प्रकाशन गर्ने सम्बन्धमा ठोस निर्णय भइसकेको छैन ।

नेपालका तर्फबाट २३ वर्षमा अंक १० मा भएका ७०७ प्रजातिमध्ये ३७ प्रजातिको विवरण लेखन सम्पन्न भएको हो । खत्रीले अंक १० का दुई भागमा रहने वनस्पतिहरुको अभिलेख गरिएको जानकारी दिए । अंक १० दुई भागमा बाँडिएको छ । एउटा भागमा मोनोकोट्स (एक दलीय बिउ),र अर्को भागमा सुनाखरी प्रजाति र अन्य वनस्पतिहरु छन् ।

भाग १ मा रहेका ‘इरिडिसिए’ जेनसका ६ प्रजातिको अभिलेख गरिएको खत्रीले जानकारी दिए । यो भागमा ३ सय २६ प्रजाति छन् । तीमध्ये बल्ल ६ प्रजातिको अभिलेख गरिएको हो । यस्तै, भाग २ मा ‘ओरिडिसिए’ परिवारका जेनस ‘हाबेनेरिया’का १८ प्रजाति र जेनस ‘पेरिस्टाइलिस’का १३ प्रजाति वनस्पतिको लेखन कार्य सम्पन्न भएको हो । भाग १ मा ३२६ प्रजाति र भाग २ मा ३८१ वटा प्रजातिहरु छन् । तीमध्ये बल्ल ३७ प्रजातिको विवरण अनलाइन भर्सनमा राखिएको हो । यो भनेको ५.२३ प्रतिशत मात्रै हो ।

नेपालले सन् १९९२ मा भएको अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिमा सन् २०२० भित्र नेपालले जैविक विविधता अन्तर्गत वनस्पतिहरुको विवरण तयार गरिसक्ने प्रतिवद्धता जनाएको थियो । तर उक्त प्रतिवद्धता पूरा हुन पाएन । ‘राष्ट्रिय जैविक विविधता रणनीति एवं कार्ययोजना’ मा पनि नेपालका वनस्पतिहरुको विवरण प्रकाशित गर्ने उल्लेख छ । तर हालसम्म ठोस नतिजा देखिएको छैन ।

फलोरा अफ नेपालको अन्तर्राष्ट्रिय सहजकर्ताको भूमिका नाष्टले निर्वाह गरको छ । नेपालको तर्फबाट फ्लोरा लेखनका त्रिभुवन विश्वविद्यालयले जनशक्ति उपलब्ध गराउने, परीक्षण तथा लेखन कार्य वनस्पति विभागले गर्ने समझदारी भएको छ ।

के हो फ्लोरा अफ नेपाल ?

फ्लोरा अफ नेपाललाई एउटा परियोजनाको हो जसको मुख्य उद्देश्य नेपालमा भएका उन्यू जाति तथा फूल फुल्ने सबै बोटबिरुवाहरु जसमा 'एन्जिओस्पर्म', 'जिम्नोस्पर्म' र 'टेरिडोफाइट्स'हरुको प्रकाशन हुने उललेख छ ।

नेपालमा पाइने वनस्पतिहरु सबै विवरण हुने यसमा वनस्पतिहरुको पहिचान, पाइने स्थानदेखि अन्य टेक्सोनोमिकल जानकारी पाइन्छ । विश्वका हरेक देशहरुले आफ्ना वनस्पतिको संग्रह भएको किताब निकालेका छन् । यसबाट नेपालमा के–कस्ता वनस्पति पाइन्छन्, कहाँ पाइन्छन्, तीनको विशेषता लगायत अन्य सबै विवरणहरु राखिएको हुन्छ । यो एउटा कुनै पनि मुलुकको वनस्पति संग्रह गर्ने किताबको रुपमा लिइन्छ ।

'फ्लोरा अफ नेपाल'लाई १० वटा अंकमा प्रकाशन गर्ने समझादरी भएको थियो । जस अनुसार अंक ७ को जिम्मेवारी जापान, ४ को बेलायत र १० को जिम्मा नेपाललाई दिइएको छ । हालसम्म भोलुम ३ मात्र प्रकाशन भएको छ । बेलायतको रोयल बोटानिकल गार्डेनले अंक ४ को ७५ प्रतिशत काम पूरा गरिसकेको खत्रीले जानकारी दिए । टोकियो विश्वविद्यालयले पनि काम गरिरहेको बताइएको छ तर त्यसबारे विवरण उल्लेख छैन । भोलुम ७ र ४ मा रहने वनस्पतिहरुको केही अभिलेख तथा विवरण भने अनलाइनमा राखिएको छ ।

फ्लोरा अफ नेपालका लागि भनेर राष्ट्रिय 'हर्बेरियम' तथा वनस्पति प्रयोगशलामा लाखभन्दा बढी वनस्पतिको नमुना संकलन भइसकेको छ । हर्बेरियम तथा वनस्पति प्रयोगशालामा भएका नमुनाहरु पहिचानमा कुनै द्वविधा आए बेलायतस्थित राष्ट्रिय वनस्पति उद्यान इडिनबर्ग जानुपर्छ ।

२३ वर्षमा ८ वटा बैठक

बृहत् 'फ्लोर अफ नेपाल' सम्बन्धी सन् २००० को २५ अक्टोबरमा राष्ट्रियस्तरको कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठिले वनस्पति विभागले बृहत् ‘फ्लोरा अफ नेपाल’ तयार गर्न, त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागले मानव संशाधन विकास र तथ्यांक र व्यवस्थापनको जिम्मेवारी दिइएको छ । नास्टले परियोजना कार्यान्वयनमा समन्वय र सहजकर्ताको साथै अन्तर्राष्ट्रिय सहभागिता तथा प्राविधिक एवं आर्थिक सहयोग जुटाउन र परिचालन गर्न प्रमुख भूमिका निर्वाह गर्ने उल्लेख छ ।

सम्पादकहरुको मनोनयन, फ्लोराको तयारी र प्रकाशन सम्बन्धी सम्पूर्ण नीतिगत तथा प्राविधिक विषय परामर्श लिनका लागि फ्लोरा अफ नेपाल राष्ट्रिय कार्यालय नास्टमा हुने उल्लेख छ । यसको तयारीको सन्दर्भमा सबै किसिमका वनस्पतिको सर्वेक्षण, बिरुवा संकलन तथा हर्बेरियम संग्रहको काम भने भइसकेको छ ।

लेखन कार्यको लागि फ्लोरा सम्बन्धी वर्गीकरणमा सघाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रहरुबाट विशेषज्ञहरुलाई आमन्त्रण गरिने उल्लेख छ । यसको तयारीमा नेपाली 'ट्याक्सोनोमिस्ट'हरुको पनि सक्रिय संलग्नता हुने उल्लेख छ ।

फ्लोरा अफ नेपाल लखेनका लागि २३ वर्षमा ८ वटा बैठक बसेका छन् । सातौं र आठौं बैठक नेपालमा भएका छन् । केही बैठक जापान र बेलायतमा भएका छन् । फ्लोरा लेखनमा जापानका २, बेलायतका २ र नेपालका २ गरी ६ जनाको सम्पादक मण्डल छ। नेपालको तर्फबाट सम्पादकमा केशवराज भण्डारी र कृष्णकुमार श्रेष्ठ छन् । यसको अन्तर्राष्ट्रिय सम्पादक रोयल बोटानिकल गार्डेन इडिनबर्ग युकेका मार्क वाटसन छन् । केही महिनाअघि नेपाल आएका वाट्सनले कान्तिपुरसँगको छोटो कुराकानीमा पनि अंक ४को प्रकाशन चाँडै नै सकिने प्रतिक्रिया दिएका थिए ।

यसकारण महत्त्वपूर्ण

नेपालको वनस्पति सम्पदा विश्वको लागि ज्यादै महत्त्वपूर्ण मानिन्छ । नेपालको होचो स्थान केचनादेखि सर्वोच्च शिखर सगरमाथा भएको देश नेपालमा विश्वमा पाइने विविध किसिमका हावापानीमा पाइने वनस्पतिहरु पाइन्छन् । कमदेखि उच्च उचाईमा पाइने वनस्पतिहरु नेपालमा पाइने भएकाले पनि वनस्पतिको वैज्ञानिक विवरण आवश्यकता देखिएको हो । सन् १९९३ मा जापानमा सम्पन्न भएको चौथो वनस्पति विश्व सम्मेलनमा पनि नेपालको फ्लोराबारे विशेष बैठक बसेको विगत छ ।

त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका इमिरेट्स प्रोफेसर पीके झा कुनै पनि राष्ट्रमा भएका वनस्पतिको अवस्था के कस्तो छ भन्ने कुराको जानकारीका लागि पनि फ्लोरा अफ नेपाल महत्त्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्, ‘वनस्पतिको अभिलेख नै छैन भने भोलिका दिनमा हामीले कसरी इन्टलेक्चुअल प्रपर्टी राइटको कुरा गर्ने ? कुन कुन प्रजातिहरु छन् भन्ने जानकारी यसले दिन्छ, यो राष्ट्रको सम्पत्ति पनि हो । ’

वनस्पति सम्पदाको वैज्ञानिक विवरण र वनस्पति पहिचानको विवरण तयार हुँदा वन सम्पदाको संरक्षण, संवर्धन र विकासमा ठूलो सघाउ पुग्ने विज्ञहरुको भनाइ छ । कृषि विकास र पर्यापर्यटनको विकासलाई यसले अगाडि बढाउने बताइन्छ ।

‘फ्लोरा लेखनका लागि वनस्पति विभाग गम्भीर’

यसैबीच वनस्पति विभागले फ्लोरा लेखनका लागि विभाग गम्भीर रहेको जनाएको छ । विभागका महानिर्देशक बुद्धिसागर पौडेलले फ्लोरा अफ नेपाल लेखनका लागि यस वर्षदेखि विभाग द्रुत रुपमा लागि परेको बताए । उनले भने, ‘फ्लारो लेखनका लागि कम चासो रहेको पाएपछि विभागमा म आएदेखि यसलाई गम्भीर रुपमा लिएको छ । त्यही भएर यो वर्ष अंक १० मा ३७ प्रजाति अभिलेख भयो । ’

विभागले हरेक वर्ष कम्तीमा दुई दर्जन प्रजातिहरु अभिलेख गर्ने गरी काम गर्ने दाबी गरेको छ । यसका लागि हरेक वर्ष बजेट समेत विनियोजन गरिएको उनले बताए । ‘फ्लोरा लेखनका लागि हामीले कार्यक्रम नै बनाएर अगाडि बढाएका छौं, ’ उनले भने ।

फ्लोरामा प्रजातिको सम्पूर्ण विवरण हुनुपर्छ । उक्त प्रजाति पाइने स्थान,त्यसको बनावट,पातको अवस्था,सम्पूर्ण नाप,उचाइलगायतका एउटा वनस्पतिको पूर्ण विवरण हुनुपर्ने खत्री बताउँछन् ।यस्तै, अभिलेख गरिएको वनस्पतिको हार्बेरियम पनि सुरक्षितसँग राख्नुपर्छ । यसका लागि ट्याक्सोनोमिस्ट चाहिन्छ । खत्रीका अनुसार एक जनाले ट्याक्सोनोमिस्टले राम्रोसँग काम गर्ने हो भने १० देखि १५ वटा प्रजातिको विवरण राख्न सक्छ ।

किन भयो ढिलो ?

रोयल बोटानिकल गार्डेन इडनिवर्गका विज्ञहरुले वनस्पति पहिचान र अभिलेखमा समय नदिएका कारण ढिलो भएको फ्लोरा अफ नेपालका नेपाल सम्पादक केशवराज राजभण्डारीले बताउँछन् । उनी भन्छन्,‘फ्लोरा प्रकाशनका लागि मेनुस्क्रिप्ट तयार भएपनि इडिनबर्गका विज्ञले समय दिँदैनन् । यो पनि एक कारण हो ।’

प्राध्यापकसमेत रहेका राजभण्डारीले स्रोत साधान पनि पर्याप्त नहुँदा ढिलाइ भएको बताए । वनस्पतिहरुको नमुना पनि ढिलो गरी आउने भएकाले ढिलाइ भएको उनको भनाइ छ । विदेशीबाट सहयोग लिनुपर्ने बाध्यता भएकाले ढिलाइ भएको उनले बताए ।

‘हाम्रो कोसिस जारी छ । पर्याप्त स्रोत साधान पनि छैन । सधैं हुन्छ, हुन्छ भन्छन् तर कहिले हुन्छ भन्नै गाह्रो छ । विदेशी विज्ञहरुले समय नै दिँदैनन्,’ उनले भने ।

प्रकाशित : श्रावण १, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?