कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कोरोना संक्रमण ह्वात्तै बढ्यो

उपचारका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई स्वास्थ्य सेवा विभागको निर्देशन
अतुल मिश्र

काठमाडौँ — असारयता वृद्धि हुँदै आएको कोभिडको दैनिक संक्रमण नरोकिने देखिएपछि अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । असार १ यता शुक्रबारसम्म दैनिक संक्रमण दर १० गुणा र सक्रिय संक्रमितको संख्या १३.२३ गुणाले बढेको हो ।

कोरोना संक्रमण ह्वात्तै बढ्यो

असार १ मा देशभर ९७ जना सक्रिय संक्रमित र दैनिक संक्रमण दर ०.६४ थियो । ३० दिनपछि शुक्रबार कुल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ र दैनिक संक्रमण दर ६.१५ प्रतिशत पुगेको छ । शुक्रबार २ सय २९ जना संक्रमित थपिएका छन् । बिहीबार २ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो ।

‘कोभिडको केस अझ बढ्ने सम्भावना रहेकाले अस्पतालहरूलाई अलर्ट गरिएको छ र उपचार व्यवस्थापन गर्न तम्तयार रहन भनिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘पछिल्लो चार सातामा संक्रमणमा अप्रत्याशित वृद्धि देखियो ।’

विभिन्न नाकाबाट भारतबाट भित्रिनेहरूमा समेत व्यापक संक्रमण देखिएको छ । शुक्रबार विभिन्न नाकाबाट नेपाल प्रवेश गरेकामध्ये २५ जनामा संक्रमण पुष्टि भएको छ ।

‘भारतको पश्चिम बंगालमा कोभिडको केस वृद्धि भइरहेको असर प्रत्यक्ष रूपमा काँकडभिट्टा नाकामा देखिएको छ,’ डा. दासले भने, ‘शुक्रबार काँकडभिट्टा नाकाबाट नेपाल आएकामध्ये ११ जनामा कोभिड देखिएको छ ।’ भारतबाट बेलहिया, कृष्णनगरलगायत नाका हुँदै नेपाल प्रवेश गरेकाहरू काठमाडौंसमेत भित्रिएको उनी बताउँछन् । कुल संक्रमितमध्ये आधाभन्दा संक्रमण काठमाडौंमा देखिएको छ । हाल संक्रमितमध्ये ६१.२१ प्रतिशत अर्थात् ७ सय ८६ जना काठमाडौं जिल्लामा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार वाग्मती प्रदेशमा १३ जना आईसीयूमा, सुदूरपश्चिममा १ जना आईसीयू र १ जना भेन्टिलेटरमा गरी देशभर १५ जना सघन उपचारमा छन् । ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा, डडेलधुरा गरी ९ जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या शून्य छ । हाल संक्रमितमा मुख्य रूपले रुघा, सुक्खा खोकी, मांसपेशीको दुखाइ र ज्वरोसमेत देखिएको छ । ‘पहिले जस्तो धेरै उच्च ज्वरो नदेखिए पनि अधिकांश संक्रमितले सामान्य ज्वरो आएको बताइरहेका छन्,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘पहिलेको दाँजोमा बिरामीमा जटिलता भने धेरै कम देखिएको छ ।’

संक्रमण विस्तारविरुद्ध धेरै प्रभावकारी मानिएको मास्कको नियमित उपयोगमा समेत व्यापक बेवास्ता भइरहेको डा. दास बताउँछन् । ‘आमव्यक्तिले जनस्वास्थ्यको मापदण्ड पालना नगरेकामा दुःख लाग्छ,’ उनले भने, ‘जनस्वास्थ्यका अन्य मापदण्डको त कुरै छोडौं कम्तीमा मास्क अनिवार्य गरेमात्रै सम्भावित भयावह अवस्था आउन पाउँदैन ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार नेपालमा ‘बीए.२’ भेरिएन्ट नै मुख्य रूपमा फैलिइरहेको छ । हालसम्मको जिन सिक्वेन्सिङका ३ नमुनामा ‘बीए.५’ भेरिएन्ट देखिएको हो । गत मंगलबार ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २ वटामा ‘बीए.५’, २८ वटामा ‘बीए.२’ र २ वटामा ‘बीए.१’ सबभेरिएन्ट पुष्टि भएको थियो ।

प्रकाशित : असार ३२, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×