कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पुष्पा भुसाल - दोस्रो प्रयासमा उपसभामुख

काठमाडौँ — संघीय संसद्का गतिविधिमा पछिल्लो समय सक्रिय रहँदै आएकी कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । उपसभामुखको साढे २ वर्षदेखि रिक्त संवैधानिक पदमा सत्तारुढ गठबन्धनबाट निर्वाचित भएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

पुष्पा भुसाल - दोस्रो प्रयासमा उपसभामुख

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ ।

२०७४ सालको उपभामुख निर्वाचनमा ५८ मत पाएर पराजित भएकी भुसालले २४२ मत खसेकोमा १४८ मत प्राप्त गरिन् भने त्यतिबेला २०१ मत आफ्नो उम्मेदवारको पक्षमा पारेको एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मतमात्रै पर्‍यो ।

कांग्रेसको सचेतक रहेर संसदीय गतिविधिमा संलग्न रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका बुबा काशीनाथ गौतम राजनीतिमा सक्रिय थिए । पञ्चायतविरुद्ध कांग्रेसमा रहेर राजनीति गर्ने काशीनाथ सपरिवार १४ वर्ष भारतमा निर्वासित हुँदा पुष्पा पनि साथमै थिइन् । काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री थिए ।

राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।

'महिला अधिकार र समानताको पक्षमा वकालत गर्नुहुने सांसद् भुसालले विश्वविद्यालयको प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउनुभयो । त्रिभुवन विश्वविद्यालयमा उहाँले १७ वर्ष प्राध्यापन गर्नुभयो । वरिष्ठ अधिवक्ता समेत रहनुभएकी उहाँ कानुन व्यवसायमा पनि सक्रिय रहनुभयो,' संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको 'हाम्रा माननीय' पुस्तकमा भुसालबारे उल्लेख छ, 'भुसाल २०६४ को संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित हुनुभयो भने २०५६ र २०७० पराजित हुनुभयो । संविधान निर्माणमा संविधान मस्यौदा समितिमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।'

कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् ।

भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक राज्यद्वारा गिरफ्तारमा परेकी थिइन्। उनले विगतमा नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य रहेर पनि काम गरेकी थिइन् ।

प्रकाशित : असार ३१, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×