राष्ट्रिय सभाबाट यौन हिंसाविरुद्धका ऐन संशोधन गर्नेसहित चार विधेयक पारित- समाचार - कान्तिपुर समाचार

राष्ट्रिय सभाबाट यौन हिंसाविरुद्धका ऐन संशोधन गर्नेसहित चार विधेयक पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाको बिहीबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न ल्याएको सहित चार विधेयक पारित गरेको छ । राष्ट्रिय सभामा गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ती विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेका थिए ।

राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा गृहमन्त्री खाँणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनले दलीय सहमतिमा नै उक्त विधेयक आएकाले सर्वसम्मत रूपमा पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।

सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेकाले कानुन बनाउनुपर्ने हुँदा विधेयक ल्याएको भन्दै पारित गर्न आग्रह गरेका थिए । ‘सामाजिक सुरक्षा राज्यको दायित्व हो । यसलाई व्यवस्थित गराउन र यसको जिम्मेवारी विस्तार गर्नु, यसलाई नियमन गराउन पनि कानुनको मूल आशय हो,' उनले भनेका थिए, 'सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सन्दर्भमा अपांगताका सम्बन्धमा माननीयजीहरुले उठाएका कुराहरुसँग म गम्भीरतापूर्वक यसलाई अझ कसरी व्यवस्थित गर्ने, त्यसमा भएका कमीकमजोरीहरुलाई व्यवस्थापन गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गर्न चाहन्छु ।’ उक्त विधेयक अत्यावश्यक भएर नै अध्यादेशको रुपमा आएको बताउँदै उनले यसको संशोधन प्रस्ताव फिर्ता लिएर पारित गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ गरेको थियो । उक्त विधेयक भने बहुमतले पारित भएको थियो ।

‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ भने राष्ट्रिय सभामा सर्वसम्मतिले पारित भएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कोइरालाले उक्त विधेयक परित गरियोस् भनेर प्रस्ताव राखेका थिए ।

राष्ट्रिय सभाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि पारित गरेको थियो । उक्त विधेयक बहुमतले पारित भएको थियो । राष्ट्रिय सभाले पारित गरेको यौन हिंसासम्बन्धी संकल्प प्रस्तावलाई पनि सरकारले स्वागत गरेको र कार्यान्वयन गर्ने उनको भनाइ थियो ।

प्रकाशित : असार ३०, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

देउवालाई बलबहादुरको जवाफ- ‘बाँचुन्जेल तपाईं नै सभापति बन्नुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति शेरबहादुर देउवालाई बाँचुन्जेल आफैँ सभापति बन्न सुझाव दिएका छन् । बुधबारको बैठकमा सभापति देउवाले नेता सञ्जय गौतमले बोल्दै गर्दा जवाफमा विधान संशोधन गरेर फेरि सभापति बन्ने चुनौती दिएका थिए । नेता केसीले बिहीबारको बैठकमा बाँचुन्जेल आफैँ पार्टी चलाउन सुझाव दिएका छन् ।

‘तपाईं नमरुन्जेल आफैँ सभापति बन्नुस्; मलाई त्यो रहर छैन तर कांग्रेसको सभापति बन्नुस्; सानो गुटको सभापति होइन, विचार र सिद्धान्तको सभापति बन्नुस्,’ बैठकमा केसीको भनाइलाई उद्धृत गर्दै एक नेताले भने ।

नेता केसीले आगामी निर्वाचनमा बहुमत ल्याउने उद्देश्य राख्ने तर पार्टीभित्रैका शक्तिहरूलाई एकताबद्ध गर्न नसक्ने प्रवृत्ति हानिकारक रहेको बताए । ‘यहाँ आगामी निर्वाचनबाट बहुमतको पार्टी बनाउने कुरा उठेको छ । अहिले गठबन्धनले पार्टी पहिलो बन्यो होला तर बहुमतको पार्टी बनाउन त्यस्तै सहज छैन,’ उनले भने, ‘अहिले यहाँ जसरी बैठकमा छलफल भइरहेको छ, यही प्रस्तुतिले पार्टीले बहुमत पाउँछ भन्ने लाग्दैन । मेरो विचारमा आगामी चुनावमा गठबन्धन गरेर होइन, नगरेर पार्टीले बहुमत ल्याउन सक्छ ।’

उनले हिजो गठबन्धन नगरौँ भन्ने सभापति देउवा अहिले गठबन्धन भनेपछि मरिहत्ते गर्ने अवस्थामा पुग्नुको कारण खोजी गरे । ‘यो गठबन्धन जति बेला भयो, त्यो बेला मुलुकको संविधान बचाउनुपर्ने अवस्था थियो । हामी संविधान बचाउन गठबन्धन गरौँ भन्दा तपाईं नै हो, गठबन्धन नगरौँ भन्ने । त्यो बेला प्रचण्ड र माधव नेपालहरूले तपाईंलाई गठबन्धन गरौँ भनेर ल्याएका हुन्,’ केसीले अघि भने, ‘अहिले तपाईं आफैँ गठबन्धन गरौँ भनेर हिँड्नुभएको छ । मलाई त अहिले हामीले गठबन्धन नगर्दा कम्युनिस्टहरूको एकता हुन्छ जस्तो लाग्दैन । हामीले चुनावअघि गठबन्धन गर्‍यौं भने चुनावपछि चाहीँ कम्युनिस्टहरू मिलेर सरकार बनाउँछन्, त्यही भएन भने मलाई भन्नुहोला ।’

उनले गठबन्धनका कारण स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर अवस्थामा पुगेको बताए ।

‘निर्वाचनमा गठबन्धनको नाममा पार्टीका साथीहरूलाई अन्याय भयो । गठबन्धनले हामीले तलदेखि माथिसम्म सत्ता पायौँ होला तर पार्टी कमजोर भएको छ,’ उनले भने, ‘तर हरेक ठाउँबाट विद्रोहको स्वर आएको छ; घात-अन्तरघात भएको छ; यो गठबन्धनको कारणले हो । त्यसकारण गठबन्धन फलदायी छैन ।’

उनले अन्य पार्टीसँग गठबन्धन गर्न चाहने सभापति देउवाले पार्टीभित्रैको गठबन्धन भने नचाहेको बताए ।

‘तपाईंहरूको दाबीअनुसार तपाईंहरू ८० प्रतिशत नै हो; त्यो ठीक छ । तर, बाँकी रहेको २० प्रतिशतलाई बेवास्ता गरेर अघि बढिरहनुभएको छ, त्यसको परिणाम राम्रो हुँदैन । आज पार्टी विचार र सिद्धान्तले चलिरहेको छैन,’ उनले भने, ‘पार्टी पैसाले चलिरहेको छ । त्यो पैसा कसको हो ? कालो धन्दाको हो कि कुन देशबाट के उद्देश्यले आएको हो ? हाम्रो विचार, सिद्धान्त र संगठनको जुन हालत भएको छ, त्यसको चिन्ता कसले लिने ?’

प्रकाशित : असार ३०, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×