२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

राष्ट्रपति भण्डारीले चिनियाँ नेता लिउसँग भनिन्- नेपाल मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छ

जगदीश्वर पाण्डे

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन् । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानछाओलाई राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ नेता लिउसँग भनिन्- नेपाल मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छ

राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताएकी थिइन् ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताएकी हुन् । ‘राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको भ्रमणमा अझ मजबुत भएको महसुस गरेका छौं,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै ढकालले भने ।

चिनियाँ नेता लिउले भने आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताएका थिए । ‘मैले नेपालको सबै राजनीतिक दलका नेताहरुसँग भेटेँ । पार्टीहरूबीचको सम्बन्ध विस्तारका लागि म आएको हुँ,’ लिउको भनाइलाई उद्धृत गर्दै ढकालले भने,‘दुई मुलुकबीचको सम्बन्ध विकास र विस्तार गर्न नेपालका राजनीतिक पार्टीहरूले खेलेको भूमिकालाई प्रशंसा गर्छु ।’ लिउले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, पारस्परिक लाभ र द्विपक्षीयहितको आधारमा विकास भइरहेको बताएका थिए ।

बिहान साढे ३० देखि राष्ट्रपति निवास पुगेका लिउ सवा ११ बजेसम्म बाहिरिएका थिए । लिउ बुधबार बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ । उनले आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासहित काग्रेंसका अन्य नेताहरुसँग भेटवार्ता गरेका थिए ।

लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उक्त पार्टीका नेताहरुसँग भेटवार्ता गरे । लिउले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित : असार २९, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?