कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चिनियाँ नेतासँग दाहालको आग्रह - ‘चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस्’

जगदीश्वर पाण्डे

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चीनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्ने बताएका छन् ।

चिनियाँ नेतासँग दाहालको आग्रह - ‘चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस्’

नेपालको चारदिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओलाई आफ्नै निजी निवास खुमलटारमा स्वागत गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले उक्त कुरा बताएका हुन् ।

‘नेपाललाई बीआरआई अन्तर्गत चीनले अनुदानमा प्रसंशनीय आयोजना देओस् र त्यसले राम्रो सन्देश दिन सकोस्,’ उक्त छलफलमा सहभागी माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले दाहाललाई उदृत गर्दै भने ।

दाहालको निवासमा भएको भेटवार्तामा माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पुन र उर्जामन्त्री पम्फा भुसाल सहभागी थिए ।

यस अवसरमा दाहालले नेपाल र चीनबीचका तातोपानी, रसुवागढी, किमाथान्का र हिल्सालगायत नाकाहरूलाई समान्य अवस्थामा ल्याउनसमेत आग्रह गरेका थिए । ती नाकाहरू कोरोना भाइरसको संक्रमणको कारण सहज रुपमा सुचारु हुन सकेका छैनन् ।

माओवादी विदेश विभागका प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष दाहालले कोभिड–१९ का कारण चीन फर्कन नपाएका नेपाली विद्यार्थीहरुलाई छिटो फर्काउने विषयमा पनि कुरा उठाएका थिए ।

दाहालले उक्त अवसरमा नेपाल, नेपाली दलहरु र नेपाली जनता एक चीन नीतिप्रति प्रतिबद्ध गरेको नेपालमा कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने बताएका थिए ।

जवाफमा लिउले नेपालले एक चीन नीतिप्रति गरेको व्यवहारलाई प्रसंशा गरेका थिए । लिउले बीआरआईलाई अघि बढाउनको लागि नेपालले ठोस् कदम चाल्नु पर्ने र त्यसलाई चीनले ठोस रुपमा सहयोग गर्ने पनि बताएको पुनले जानकारी दिए । लिउले चीन नेपालमा लगानी गर्नको लागि इच्छुक रहेको पनि बताएका थिए ।

प्रकाशित : असार २७, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×