कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

१४ हेलिकप्टरको पार्किङ काठमाडौंबाहिर

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पार्किङ अभावका कारण ११ वटा हेलिकप्टर कम्पनीका ३८ वटामध्ये १४ वटा हेलिकप्टरलाई काठमाडौंबाहिर अनिवार्य रहनुपर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएका १२ मध्ये उडान संचालनमा रहेका ११ वटा निजी कम्पनीका ३८ वटा हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटाको बेस (आधार विमानस्थल) काठमाडौंबाहिर सार्ने तीन साताअघिको अडानबाट पछि हट्दै काठमाडौं विमानस्थलले अहिलेलाई १४ वटा हेलिकप्टरलाई काठमाडौं बाहिर पठाउने निर्णय गरेको छ ।

१४ हेलिकप्टरको पार्किङ काठमाडौंबाहिर

‘वायुसेवा संचालक संघमा आबद्ध व्यवसायीहरुले सुझाएअनुसार, मोफसलमा पूर्वाधार र सुरक्षा भएका कुनै पनि विमानस्थलमा रहन सक्ने गरी १४ वटा हेलिकप्टरको अपरेसन बेस सार्ने निर्णय गरिएको छ,’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कान्तिपुरसँग भने, ‘अहिले पहिले जस्तो कलसाइन नै तोकिएको छैन । कम्पनीहरुलाई कति संख्यामा काठमाडौं रहने, कति बाहिर रहने नम्बरमात्रै तोकिदिएका छौं ।’

नयाँ निर्णयअनुसार एयर डाइनास्टी हेलि सर्भिसका ४ मध्ये १, फिस्टेल एयरका ३ मध्ये १, माउन्टेन हेलिकप्टरका २ मध्ये १, प्रभु हेलिकप्टरका ६ मध्ये ४, श्री एयरलायन्सका ८ मध्ये ५ र सिम्रिक एयरका ५ मध्ये २ गरी १४ वटा हेलिकप्टरले अब काठमाडौं बाहिरै नाइट स्टप (रात्रिबिसान) गर्नुपर्ने छ । एकमात्रै हेलिकप्टर भएको मुस्ताङ हेलिकप्टर, दुइटा हेलिकप्टर भएका अल्टीच्युड एयर, हेलि एभरेष्ट र मनाङ एयर तथा ३ वटा हेलिकप्टर भएको कैलाश हेलिकप्टर गरी ५ वटा कम्पनीलाई प्राधिकरणले काठमाडौं विमानस्थल नै बेस (पार्किङ) दिएको छ ।

यसअघि काठमाडौं बाहिर पोखरामै बेस अनुमति पाएको प्रभु र नेपालगन्जमा बेस अनुमति पाएको सिम्रिकले यस पटकको निर्णयबाट काठमाडौंमा छिर्ने मौका पाएका छन् । यसअघि काठमाडौंमै पार्किङको अनुमति पाएको माउन्टेन हेलिकप्टरको एउटा हेलिकप्टरलाई बाहिर जान काठमाडौं विमानस्थलले पत्राचार गरेको छ । हेलिकप्टर तथा फिक्स्ड–विङ (जहाज) हरुको छाता संगठनको सदस्यता त्यागेको माउन्टेन हेलिकप्टर कम्पनीले छलफलमा नबोलाई पूर्वाग्रह भई आफ्नो बेस बदलीदिएको प्रतिक्रिया जनाएको छ । ‘हामीले बैठक बसेको जानकारी पनि पाएनौं,’ माउन्टेनका महाप्रबन्धक दिलबहादुर ओलीले भने, ‘दुइटा हेलिकप्टर भएका कम्पनीहरुमा ४ कम्पनीमध्ये हामीलाई मात्रै पूर्वाग्रही ढंगले काठमाडौं बाहिर हेलिकप्टर सार्न पत्र पठाइएको छ । काठमाडौं बाहिर भनेको कता हो तोकिएको छैन । अब भक्तपुरतिर घरेडी किनेर एउटा हेलिकप्टर सार्नुपर्ला !’

पार्किङ अभावका कारण उडान सुरक्षामा बाधा पुग्न थालेपछि असार पहिलो साता पर्यटन मन्त्रालयले जहाज र हेलिकप्टरलाई अनुमति लिएका विमानस्थलमा स्थानान्तरण गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि काठमाडौं विमानस्थलको आन्तरिक पार्किङमा १७ वटामात्रै जहाज र हेलिकप्टर पार्किङमा २४ वटामात्रै राख्न सकिने जनाउँदै बाँकी वायुयानलाई काठमाडौं बाहिर सार्ने निर्णय गरेको थियो ।

नेपालको आन्तरिक उडानमा नौ वटा व्यावसायिक उडान गर्ने वायुसेवाका ५२ वटा विमान तथा चार्टर तथा उद्धार सेवामा ११ वटा हेलिकप्टर कम्पनीका ३८ वटा हेलिकप्टर दर्ता छन् ।

प्रकाशित : असार २६, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?