कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वर्षमा ६ भ्रमण : चिनियाँ उच्च अधिकारीको चासो के ?

जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

४ वर्षमा ६ भ्रमण : चिनियाँ उच्च अधिकारीको चासो के ?

ती भेटवार्तामा नेपाल-चीनबीच द्विपक्षीय सम्बन्ध, पार्टीगत सम्बन्ध, नेपालमा विदेशी चासो‚ चीनलाई पर्न सक्ने प्रभाव र एक चीन नीतिलगायत विषयमा कुराकानी हुने उच्च स्रोतले बतायो । साथै, उनले कम्युनिस्ट पार्टीहरूसँग भने पार्टी एकताको विषयमा जोड दिन सक्ने राजनीतिक वृत्तमा आकलन छ ।

उनी नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने दोस्रो उच्च चिनियाँ अधिकारी हुन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

०००

चीनले नेपालमा दुई देशबीचको द्वीपक्षीय सम्बन्ध र सुरक्षा मामिलालाई मात्र नभई राजनीतिक दलहरूबीचको सम्बन्धलाई समेत जोड दिएको छ । नेपालमा राजतन्त्र रहँदा दरबारसँग नजिक रहेर काम गरेको उत्तरी छिमेक चीनले २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि भने नेपाल सरकारसँग ‘एक चीन नीति र द्विपक्षीय सम्बन्ध’ मा बढी जोड दिएको थियो । राजतन्त्रको अवधिमा नेपालका कम्युनिस्टहरूले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँग सम्बन्ध विस्तार गर्न चाहे पनि चासो देखाएको थिएन ।

बदलिँदो भूराजनीतिक र यसले आफ्ना छिमेकमार्फत् आफ्नै देशमा समेत पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर चीनले २०७४ सालदेखि भने नेपालमा दलहरूसँग सम्बन्ध विस्तार गर्न थाल्यो । त्यसमा चीनको पहिलो प्राथमिकता रह्यो-नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता गराउने ।

एउटै विचारधारा भएको कारण काम गर्न सहज हुने र त्यसले आफ्ना छिमेकमा शक्तिहरूको प्रभावसमेत कम हुने ठहर गरेर चीनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रलाई ५ वर्षअघिको आम निर्वाचनमा सँगै मिलेर जानको लागि ‘सहजीकरण’ गरेको थियो । जसलाई नेपालका कम्युनिस्ट नेताहरूले ‘चीनले नेपालका कम्युनिस्ट पार्टीमाथि सद्भाव राख्नु स्वभाविक’ भन्दै टिप्पणी गरेका थिए । यता कांग्रेसका नेताहरूले ‘काठमाडौंको पार्टीलाई बेइजिङबाट चलाएको’ अरोप लगाएका थिए ।

एमाले र माओवादी निर्वाचनमा मिलेर गए र त्यसपछि पार्टी एकता गरेर नेकपा बन्यो । उक्त पार्टीले नेपालको संसदीय इतिहासमा बलियो बहुमत ल्याएर सरकारको नेतृत्व गर्‍यो ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूहरु एउटा विमानका दुई सहचालक भएको भन्दै टिप्पणी पनि गरे । नेकपाको बलियो सरकारमा रहँदा चीनबाट उच्चस्तरीय भ्रमण पनि बाक्लियो ।

२०७६ को असोज ६–७ मा सी चिनफिङ विचारधारामाथि सीपीसी र तत्कालीन नेकपाबीच काठमाडौंमा छलफल भएको थियो । उक्त छलफल सहभागी हुन सीपीसी विदेश विभागका तत्कालीन प्रमुख सोङ ताओ नेपाल आएका थिए । उक्त अवसरमा तत्कालीन नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ बीच दुई पार्टीबीच भ्रातृ सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसलगत्तै २०७६ असोज २५–२६ मा चीनका राष्ट्रपति सी चिनफिङले दुई दिने राजकीय भ्रमण गरे । उक्त भ्रमण चीनबाट त्यस स्तरमा २३ वर्षपछि भएको नेपाल यात्रा थियो । सीले उक्त अवसरमा नेपाल ‘भूपरिवेष्ठित नभएर भूजडित मुलुक’ भएको घोषणा गरिदिए । साथै, उनले चीन र नेपालबीचको सम्बन्ध ‘रणनीतिक साझेदारी’ भएको समेत बताए ।

यस्तै, २०७७ मंसिर १४ मा चीनका रक्षा मन्त्री वेई फेङहे एक दिने नेपालको औपचारिक भ्रमणमा आएका थिए । त्यस अवसरमा दुई मुलुकबीचमा सैन्य सहकार्यको बारेमा पनि छलफल भएको थियो । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले द्वीपक्षीय सैनिक अभ्यास पनि गर्दै आइरहेका छन् । कोभिड–१९ को कारण रोकिएको उक्त अभ्यास अझै सुचारु हुन सकेको छैन ।

२०७६ को अन्त्यमा कोभिड–१९ को संक्रमण बढेपछि चीनबाट नेपालमा भ्रमण कम हुन थाल्यो । चीनले पनि नेपालका दुई नाकाहरु रसुवागढी र तातोपानी अहिलेसम्म पूर्ण रुपमा कोभिड–१९ संक्रमणलाई नै देखाएर खुलाएको छैन । अहिले रसुवागढीबाट नेपालमा दैनिक करिब १४ ट्रकमात्र भित्रिन्छन् । तर नेपालबाट कुनै पनि वस्तुलाई निर्यात गर्न चीनले दिएको छैन । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख नवराज ढकालका अनुसार नाकालाई पहिलेकै अवस्थामा सुचारु गर्नको लागि चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ । ‘तर कोरोनाको डरले उनीहरुले पूर्ण रुपमा खुलाउन सकेका छैनन्,’ उनले भने ।

नेपालमा कोरोना संक्रमण र तत्कालीन नेकपाको विवाद झन्डै एकै पटक आयो । नेकपा विवादमा रुमल्लिन थालेपछि काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीले बालुवाटार, खुमलटार, कोटेश्वर, डल्लु र शितलनिवासमा भ्रमण पटक–पटक गरेर पार्टी विवादलाई मिलाउनको लागि ‘सहजिकरण’ गर्ने प्रयास गरिन् । होउले ओली र दाहालका साथै वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई पटक-पटक भेटेकी थिइन् । त्यसबेला उनले नेकपा विवादमा सहजीकरण गरिदिएको चर्चा भएको थियो ।

तर‚ २०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित घटनाक्रमसँगै नेकपा छिन्नभिन्न भयो । अहिले ओलीले एमाले, दाहालले माओवादी केन्द्र र नेपालले एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन् । एमाले सत्ताबाहिर छ भने सत्ताको नेतृत्व गरेको कांग्रेसलाई माओवादीको साथ छ ।

तत्कालीन बदलिँदो राजनीतिक परिस्थितिलाई बुझ्नका लागि बेइजिङबाट चार सदस्यीय विशेष टोलीको नेतृत्व गर्दै केहि दिनमै आइपुग्यो । सीपीसी विदेश विभागका तत्कालीन उपप्रमुख कुओ येचौले कम्युनिस्ट नेताहरूलाई भेटे । साथै, त्यस बेला बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग पनि संवाद गरेका थिए । त्यस बेलासँग नेकपासँग मात्र आफ्नो सम्बन्धलाई कायम राखेको चीनले त्यसपछि कांग्रेससहित नेपालका अन्य दलहरूसँगको सम्बन्धलाई जोड दियो ।

अमेरिकाले सन् २०१९ मा 'इन्डो प्यासिफिक रणनीति' ल्याएपछि नेपाललाई चीनले बढी चासोका साथ हेरिरहेको छ । उक्त रणनीतिमा अमेरिकाले चीनलाई खुला रुपमा घेर्ने चुनौती पेस गरेको छ । साथै, पछिल्लो समय चीनले नेपालमा हुने हरेक भूराजनीतिक गतिविधिबारे बेइजिङबाट पटक-पटक टिप्पणी गरिरहेको छ । सुरुआतमा नेपालले एमसीसी अनुमोदन गर्नुअघि र पछि टिप्पणी गरेको चीनले नेपालले अमेरिकासँगको 'स्टेट पार्टनरसिप प्रोग्राम' (एसपीपी) लाई असार ६ मा अघि नबढाउने निर्णय गरेपछि पुनः टिप्पणी गरेको थियो । एमसीसीमाथि चित्त दुःखाएको चीनले एसपीपीलाई लिएर खुसी व्यक्त गरेको थियो ।

नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक मृगेन्द्र कार्की नेपालको पछिल्लो अवस्थाबारे बुझ्नका लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ नेपाल आएको मान्छन् । ‘चीनको नेपालमा पहिलो प्राथमिकता भनेको कम्युनिस्टहरुलाई मिलाएर लाने भन्ने नै हो । तर‚ उनीहरु मिलेनन् भने कांग्रेससँग पनि सुमधुर सम्बन्ध कायमै राख्ने भन्ने हो,’ उनले भने ।

प्रकाशित : असार २६, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?