कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

काठमाडौँ — लेखक सरिता तिवारीले अर्का लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ भएर तिवारीले आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन् । 

लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहार आरोप

संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार पहिलो पटक साहित्यपोस्ट अनलाइनले शुक्रबार राति प्रकाशित गरेको थियो । त्यसको प्रतिक्रियामा संगीतले शनिबार समाचारको खण्डन गर्दै कानुनी उपचार खोज्ने बताएका थिए । उनले घटनालाई अस्वीकार गरेपछि तिवारी फेसबुक लाइभमा आएकी थिइन् ।

तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन् । दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ । यो विषयमा केही समयअघि तिवारीले संगीत आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन् । थालनीका कार्यवाहक संयोजक प्रमोद धितालले शनिबार विज्ञप्ति जारी गर्दै गत असार ९ मा संस्थामा त्यस्तो उजुरी प्राप्त भएको पुष्टि गरेका छन् । त्यसअघि नै तिवारीले संस्थाका सदस्यहरूसँग मौखिक उजुरी दिएको पनि उनले उल्लेख गरेका छन् । ‘उजुरीकर्ता आफैंले अग्रसरता लिई उहाँले नै चयन गरेको न्यायिक प्रक्रियाबाट यो आरोपसम्बन्धी मुद्दा टुंगो लागिसकेको उहाँ स्वयंले हामीलाई जानकारी गराउनुभएको छ,’ धितालले विज्ञप्तिमा भनेका छन् । उजुरीकर्ताकै पहलमा दुवै पक्ष र मध्यस्थकर्तासहित बसी मुद्दा टुंगिएको र आफ्नो जाहेरीपत्र अब निष्क्रिय हुने भन्दै असार १९ गते उजुरीकर्ताले आफूहरूलाई धन्यवादसहित चिठी पठाएको उनको भनाइ छ ।

समकालीन वामपन्थी लेखकहरूसँग छलफल गरेपछि लेखक राजेन्द्र महर्जन, अभय श्रेष्ठ र धनकुमारी सुनारको उपस्थितिमा सहमति भएको मध्यस्थकर्ताहरूले पनि बताएका छन् । मध्यस्थता गर्ने तीनै जनाका तर्फबाट श्रेष्ठले शनिबार फेसबुकमै स्टाटस लेख्दै ‘एक पक्षले आरोप लगाइसकेको स्थितिमा घटना सत्य–असत्य जे भए पनि, आफ्नोतर्फबाट कमीकमजोरी भएको भए, त्यस क्रममा पक्षले अनुभूत गरेको दुःख–पीडालाई ध्यानमा राख्दै विपक्षले माफी माग्ने र पक्षले माफी दिने सहमति भएको’ दाबी गरेका छन् । तर यो सहमति गर्दा आफू दबाबमा रहेको र असहमतिबीच पनि शब्दहरू सम्पादन गरिएको तिवारीको भनाइ छ ।

आरोपित संगीतले भने आफूमाथि लागेको आरोप प्रतिशोधपूर्ण भएको दाबी गरेका छन् । २०७२ मा घटना भएको भनिए पनि त्यसपछि पनि आफूहरूले सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा सद्भावपूर्ण ढंगले सहकार्य गरेको, निरन्तर संवादमा रहेको तर मार्क्सको यौन चरित्रबारे तिवारीले लेखेको आलेखको पक्षमा आफू बोल्न नमानेपछि प्रतिशोधपूर्ण ढंगले बदनाम गर्न खोजिएको प्रस्टीकरण दिएका छन् । भारतमा हुन लागेको एउटा सम्मेलनमा सहभागिताका लागि तिवारी जाने तयारी भए पनि मार्क्सबारेको लेखपछि आयोजकले नआउन भनेको प्रतिशोध आफूसँग साँधिएको उनको दाबी छ ।

संगीतकी श्रीमती बन्दना ढकाल पनि आरोपको प्रतिवादमा उत्रिएकी छन् । घटना भएको भए त्यसको पीडित आफू पनि हुने भन्दै उनले यति ठूलो दुर्व्यवहार आफ्नै कोठामा भएको विषयमा पटक पटक भेट हुँदा पनि तिवारीले जानकारी नदिएको तर प्रतिशोध साध्न अहिले आरोप लगाएको दाबी उनले फेसबुकमार्फत गरेकी छन् ।

प्रकाशित : असार २६, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×