नयाँ नागरिकता विधेयक आजै मन्त्रिपरिषद्ले स्वीकृत गर्छ : गृहमन्त्री खाँण
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नयाँ नागरिकता विधेयक पारित गर्नका लागि मन्त्रिपरिद्को शुक्रबारको बैठकले स्वीकृत गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँणले दलहरुसँगको सहमतिमा विधेयक चाँडै पारित गरिने बताए ।
'आजै मन्त्रिपरिषद् बैठक बसेर नागरिकता विधेयक स्वीकृत गर्ने छ,' खाँणले भने, 'संसदमा रहेको विधेयकको प्रवधानमाथि छलफल गर्न सुरु गर्ने हो भने कहीँ पुगिँदैन । विधेयक फिर्ता लिएर राजनीतिक दलहरुसँग सहमति गरेर छिटो कानुन बनाउने हो ।' प्रतिनिधिसभा बैठकमा सांसदहरुले विधेयक फिर्ता लिने विषयमा गरेका प्रस्तावको जवाफ दिँदै खाँणले यस्तो कुरा बताएका हुन् ।
खाँणले सांसदमा रहेको विधेयक गम्भीरतापूर्वक अध्ययन गरेरै फिर्ता लिएको पनि बताए । 'मूल विषयवस्तुमा समेत परिवर्तन भएको हो । संविधानले गरेको कल्पना अनुसार सबै नागरिकलाई नागरिकता प्रदान गर्नु दायित्व हो । कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहोस् भन्ने विषय मूल उद्देश्य हो,' खाँणले भने ।
प्रकाशित : असार २४, २०७९ १७:०६